असोज ९, २०८३ शुक्रबार September 25, 2026

एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक,डिजिटलु र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री

उत्तर छिमेकी चीनसँग नेपालको सहकार्यलाई व्यावहारिक, व्यावसायिक र दीर्घकालीन आधारमा अघि बढाउनुपर्ने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, ९ असोज : परराष्ट्रमन्त्री शिशिर खनालले एसियाको बढ्दो आर्थिक तथा रणनीतिक प्रभावका बीच नेपालको भौगोलिक अवस्थालाई अवसरमा रूपान्तरण गर्दै नेपाललाई एसियाको आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ का रूपमा अघि बढाउनुपर्ने बताउनुभएको छ।

एसिया सोसाइटीद्वारा न्युयोर्कमा आज आयोजित ‘स्टिरिङ नेपाल्स फ्युचर इन एसियाज राइजिङ सेन्चुरी’ अर्थात् ‘एसियाको उदाउँदो शताब्दीमा नेपालको भविष्यको मार्गदर्शन’ विषयक कार्यक्रममा सम्बोधन गर्दै उहाँले नेपालले भौगोलिक चुनौतीलाई राष्ट्रिय आकांक्षाको सीमाका रूपमा लिन नहुने बताउनुभयो।

नेपाललाई परम्परागत रूपमा ‘सानो मुलुक’ का रूपमा हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्नेमा जोड दिँदै उहाँले नेपाल रणनीतिक रूपमा महत्वपूर्ण स्थानमा रहेको बताउनुभएको परराष्ट्रमन्त्रीको निजी सचिवालयले जनाएको छ।

“नेपाल सानो होइन। नेपाल रणनीतिक रूपमा सही स्थानमा छ,”मन्त्री खनालले भन्नुभयो, “हाम्रा छिमेकीको आकार भूगोलको यथार्थ हो, तर त्यो हाम्रो महत्त्वाकांक्षाको सीमा कहिल्यै बन्नु हुँदैन।” उहाँले नेपालको भूगोल र जनसङ्ख्यालाई अन्य मुलुकसँग तुलना गर्दै नेपाललाई सानो मुलुकका रूपमा मात्र बुझ्न नहुने धारणा राख्नुभयो।

हालैको बाढीको प्रसङ्ग उल्लेख गर्दै मन्त्री खनालले त्यसलाई ‘हिमालयन सुनामी’ को संज्ञा दिनुभयो। “नेपालले लामो समयदेखि प्राकृतिक विपत्ति, कठिन भूगोल र संरचनात्मक चुनौती सामना गर्दै आएको छ,’”उहाँले भन्नुभयो।

परराष्ट्रमन्त्री खनालले पछिल्लो विपत्तिले जलवायु परिवर्तनलाई नेपालको परराष्ट्र नीतिको रणनीतिक प्राथमिकताका रूपमा लिनुपर्ने स्पष्ट सन्देश दिएको बताउनुभयो। उहाँले प्रभावकारी पूर्वसूचना प्रणाली, जलसम्बन्धी तथ्याङ्क आदानप्रदान, पूर्वानुमानयोग्य अनुदानमा आधारित जलवायु वित्त तथा छिमेकी र अन्तरराष्ट्रिय समुदायसँग व्यावहारिक सहकार्यलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्नुभयो।

एसियाको उदयलाई नेपालका लागि महत्वपूर्ण अवसरका रूपमा व्याख्या गर्दै उहाँले विश्वको करिब ६० प्रतिशत जनसङ्ख्या एसियामा रहेको र विश्व अर्थतन्त्रमा एसियाको ठूलो योगदान रहेको बताउनुभयो। मन्त्री खनालले काठमाडौंलाई एसियाको आर्थिक तथा सामाजिक रूपान्तरणको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्न सकिने बताउनुभयो। “हाम्रो प्रश्न अब दुई ठूला छिमेकीबीच नेपाल कसरी बाँच्ने भन्ने होइन। हाम्रो प्रश्न हो–नेपालले उनीहरूबीच र उनीहरूभन्दा बाहिर कसरी मूल्य सिर्जना गर्ने?” उहाँले भन्नुभयो।

गौतम बुद्धको जन्मस्थल लुम्बिनी तथा अरनिको र भृकुटीजस्ता राष्ट्रिय विभूतिले नेपाललाई एसियाली सभ्यता र संस्कृतिको महत्वपूर्ण सम्पर्कस्थल बनाएको उहाँको भनाइ थियो। “हाम्रा पुर्खाले एउटा स्पष्ट सत्य बुझेका थिए–सम्पर्कले समृद्धि सिर्जना गर्छ, अलगावले गरिबी बढाउँछ,” मन्त्री खनालले भन्नुभयो।

नेपालको जलविद्युत् उत्पादन क्षमतालाई क्षेत्रीय आर्थिक रूपान्तरणसँग जोड्न सकिने उल्लेख गर्दै उहाँले स्वच्छ विद्युत् भारत हुँदै बङ्गलादेशसम्म निर्यात भइरहेको बताउनुभयो। सीमावर्ती विशेष आर्थिक क्षेत्रमा उत्पादन विस्तार गरी विश्वव्यापी आपूर्ति शृङ्खलालाई नेपालसँग जोड्न सकिने पनि उहाँले बताउनुभयो।

उत्तर छिमेकी चीनसँग नेपालको सहकार्यलाई व्यावहारिक, व्यावसायिक र दीर्घकालीन आधारमा अघि बढाउनुपर्ने बताउँदै मन्त्री खनालले सडक, सुरुङ, सुख्खा बन्दरगाह, हवाई सेवा, डिजिटल सम्पर्क र सीमापार रेलसहितको बहुआयामिक ट्रान्स–हिमालयन कनेक्टिभिटी विकास गर्नुपर्नेमा जोड दिनुभयो।

नेपालको भविष्य नेपाली जनताले निर्धारण गर्नुपर्ने भए पनि त्यसका लागि अन्तरराष्ट्रिय साझेदारीमा जोड दिँदै मन्त्री खनालले अमेरिका, युरोप, आसियान, ल्याटिन अमेरिका तथा अन्य साझेदारलाई नेपालमा लगानी, सहकार्य र साझेदारीका लागि स्वागत गर्नुभयो। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः स्वास्थ्यमन्त्री मेहता
२०८३ असोज ९, शुक्रबार
‘जलवायु न्याय’ संयुक्त राष्ट्रसङ्घको दस्तावेजमा मात्र सीमित हुन हुँदैनः प्रधानमन्त्री (पूर्णपाठ)
२०८३ असोज ९, शुक्रबार
जलवायु न्यायको कुरा वाक्यांशमा मात्र सीमित हुनुहुँदैनः प्रधानमन्त्री
२०८३ असोज ९, शुक्रबार
काठमाडौँ जोड्ने राजमार्ग बन्दः रोकिए सार्वजनिक बस
२०८३ असोज ९, शुक्रबार
एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक,डिजिटलु र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री
२०८३ असोज ९, शुक्रबार
देशभरका सबै स्थानीय तहहरूलाई उच्च सतर्कता अपनाउन मन्त्रालयको आग्रह
२०८३ असोज ९, शुक्रबार
प्रधानमन्त्री शाह र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
२०८३ असोज ९, शुक्रबार