लस एन्जलस, असोज १० गते । अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि स्पेसएक्सको क्रु-१४ अभियानमा सहभागी हुने चार सदस्यीय टोलीको घोषणा गरेको छ । नासाका अनुसार अमेरिका, जापान र रुसका अन्तरिक्ष यात्री सहभागी हुने उक्त अभियान सन् २०२७ को वसन्तयाम अघि प्रक्षेपण नहुने र लामो अवधिको वैज्ञानिक अनुसन्धानमा केन्द्रित हुने छ ।
अमेरिकी अन्तरिक्ष यात्री कायला बारोनले यानको कमान्डर तथा क्रिस बर्चले चालकको जिम्मेवारी सम्हाल्ने छन् । जापानको अन्तरिक्ष अनुसन्धान संस्था जाक्साका अन्तरिक्ष यात्री माकोटो सुवा र रुसी अन्तरिक्ष संस्था रोस्कोस्मोसका अन्तरिक्ष यात्री अरुत्युन किभिर्यानले अभियानका अनुसन्धान विशेषज्ञका रूपमा जिम्मेवारी सम्हाल्ने नासाले जनाएको छ ।
यो अभियान नासाको पृथ्वीको तल्लो कक्ष सम्बन्धी कार्यक्रमअन्तर्गत स्पेसएक्ससँगको १४औँ व्यावसायिक अन्तरिक्ष यात्री आदानप्रदान अभियान हुने छ । अभियानका क्रममा टोलीले वैज्ञानिक अनुसन्धान तथा प्रविधि परीक्षण गर्ने छ । यी अनुसन्धानले भविष्यमा चन्द्रमा र मंगल ग्रहमा मानव अन्वेषणका लागि आवश्यक प्रविधि तथा ज्ञान विकास गर्न सहयोग पुर्याउनुका साथै पृथ्वीमा रहेका मानिसलाई लाभ पुग्ने अनुसन्धानमा समेत योगदान गर्ने नासाले जनाएको छ । रासस/सिन्ह्वा
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया