काठमाडौं, असोज ११ । वर्षाका बाबजुद लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालअन्तर्गतका विभिन्न लायन्स क्लबहरूको लायन वर्ष २०२६–२७ का लागि इन्डक्सन तथा संयुक्त पदस्थापन कार्यक्रम निरन्तर सञ्चालन भइरहेका छन्।
यसै क्रममा काठमाडौंको बसुन्धरास्थित गोधुली इभेन्ट एण्ड फुडल्यान्डमा बागमती एरियाको इन्डक्सन तथा संयुक्त पदस्थापन समारोह भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न लायन्स क्लबका नवनियुक्त अध्यक्ष, पदाधिकारी तथा नयाँ सदस्यहरूको इन्डक्सन तथा पदस्थापन गरिएको थियो।
कार्यक्रममा लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ के नेपालका डिस्ट्रिक्ट गभर्नर लायन रमेश अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नर लायन हसन कुमार गोपाली, क्याबिनेट सेक्रेटरी लायन गणेश जीसी, क्याबिनेट ट्रेजरर लायन चुडामणि सिलवाल, डिस्ट्रिक्ट चिफ एडभाइजर लायन मीनराज काफ्ले, पीआरओ इन चिफ लायन सुरेन्द्रबाबु श्रेष्ठ, डिजी थिम चिफ श्रीकृष्ण मानन्धर, मिसन १.५ चिफ लायन महाप्रसाद पाण्डेलगायत डिस्ट्रिक्टका वरिष्ठ लायन नेतृत्वहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि डिस्ट्रिक्ट गभर्नर लायन रमेश अधिकारीले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो। त्यसपछि डिस्ट्रिक्ट गभर्नरको अख्तियारीमा द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नर लायन हसन कुमार गोपालीले लायन्स क्लब अफ काठमाडौं हेरिटेज धरहरा तथा लायन्स क्लब अफ काठमाडौं बिहानीका नयाँ सदस्यहरूको पदस्थापन गराउनुभएको थियो।

कार्यक्रमको अर्को विशेष आकर्षणका रूपमा लायन्स क्लब अफ काठमाडौं हेरिटेज धरहराले लियो क्लब अफ काठमाडौं हेरिटेज धरहराको औपचारिक उद्घाटन गरेको छ।
क्लब स्थापना भएको ११ वर्षपछि हेरिटेज धरहराले युवालाई लायन्ससँग जोड्ने उद्देश्यले लियो क्लब स्थापना गरेको हो । किम्बर्ली श्रेष्ठ चार्टर्ड प्रेसिडेन्ट रहेको नवगठित लियो क्लबमा प्रथम उपाध्यक्षमा अनमोल आचार्य, द्वितीय उपाध्यक्षमा रोज मेरी श्रेष्ठ, सचिवमा अर्चना प्याकुरेल र कोषाध्यक्षमा निशा धमलासहित २१ जना सदस्य रहेका छन्।
लियो क्लबको स्थापनाले युवाको नेतृत्व क्षमता, सिर्जनशीलता र सेवाभावलाई संस्थागत गर्दै आगामी दिनमा सामाजिक सेवाका गतिविधिलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
लियो क्लब उद्घाटनसँगै हेरिटेज धरहराले लायन्सको भावी नेतृत्व निर्माणमा समेत आफूलाई सक्रिय रूपमा अघि बढाएको छ।
कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं हेरिटेज धरहराले लायन वर्ष २०२६/२७ सुरु भएयता क्लबको सदस्यता विस्तार तथा सेवामूलक गतिविधिमा निरन्तरता दिइरहेको जानकारी गराइएको थियो।
क्लबले उक्त अवधिमा एक जना PMJF र एक जना MJF निर्माण गर्न सफल भएको तथा प्रत्येक महिना कम्तीमा एक जना नयाँ सदस्य थप्दै आएको जानकारी दिइएको थियो।
सोही अवसरमा क्लबमा नयाँ सदस्यका रूपमा आबद्ध कमला परियारलाई डिस्ट्रिक्ट गभर्नर लायन रमेश अधिकारीले गभर्नर पिन प्रदान गरी सम्मान गर्नुभएको थियो।
कार्यक्रममा पदस्थापन भएका दुवै क्लबका अध्यक्ष तथा पदाधिकारीहरूलाई मञ्चमा बोल्ने अतिथिहरूले सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। उनीहरूले लायन वर्ष २०२६/२७ मा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा सामाजिक सेवाका कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अघि बढाउन आग्रह गरेका थिए।
कार्यक्रममा बोल्दै पीआरओ इन चिफ लायन सुरेन्द्रबाबु श्रेष्ठ तथा डिस्ट्रिक्ट चिफ एडभाइजर लायन मीनराज काफ्लेलगायतले हेरिटेज धरहरालगायत क्लबहरूको नेतृत्व, सक्रियता र सेवामूलक गतिविधिको खुलेर प्रशंसा गर्नुभएको थियो।
प्रमुख अतिथि एवं डिस्ट्रिक्ट गभर्नर लायन रमेश अधिकारीले हेरिटेज धरहरा र बिहानी क्लबले डिस्ट्रिक्टलाई गर्दै आएको सहयोगलाई कहिल्यै बिर्सन नसकिने बताउनुभयो। उहाँले आगामी दिनमा समेत दुवै क्लबबाट अझ प्रभावकारी र ठूलो सहयोगको अपेक्षा राख्दै क्लबका सम्पूर्ण सदस्यलाई धन्यवाद व्यक्त गर्नुभयो।
बागमती एरियाको इन्डक्सन तथा संयुक्त पदस्थापन कार्यक्रम सफलतापूर्वक सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै क्लस्टर चिफ लायन अमरराज सुवाल, रिजन चेयरपर्सन लायन ध्रुवप्रसाद घिमिरे तथा जोन चेयरपर्सन लायन अनुप मास्केलाई बधाई तथा धन्यवाद ज्ञापन गरिएको थियो।
कार्यक्रममा सहभागी विभिन्न क्लबका अध्यक्ष, पदाधिकारी, लायन्स तथा लियो सदस्यहरूले आगामी दिनमा आपसी सहकार्य र समन्वयमार्फत सेवाका कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
लायन्स इन्टरनेसनलले ‘We Serve’ अर्थात् ‘हामी सेवा गर्छौं’ भन्ने मूल भावनाका साथ विश्वभर शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, विपद् राहत तथा विभिन्न सामाजिक सेवाका कार्यक्रम सञ्चालन गर्दै आएको छ। नेपालमा पनि लायन्स अन्तराष्ट्रिय डिस्ट्रक्ट ३२५ के नेपालले Leading with purpose को नारा सहित २२७ वटा भन्दा बढी लायन्स क्लबहरूले समुदायको आवश्यकता र प्राथमिकताअनुसार सेवामूलक गतिविधि सञ्चालन गर्दै आएका छन्।
बागमती एरियामा सम्पन्न यस संयुक्त इन्डक्सन तथा पदस्थापन कार्यक्रमले नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्नुका साथै युवालाई लायन्स सेवासँग जोड्ने र आगामी दिनमा सेवा अभियानलाई थप सशक्त बनाउने नयाँ सन्देश दिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया