काठमाडौं । बाढीपहिरोका कारण विभिन्न जलविद्युत्् आयोजना तथा प्रसारण संरचनामा क्षति पुग्दा चार सय ८३ मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएको छ । नेपाल विद्युत् प्राधिकरणले उत्पादन, प्रसारण र वितरण संरचनामा पुगेको क्षतिको मर्मत तथा पुनःस्थापनाको काम भइरहेको जनाएको छ । प्राधिकरणका अनुसार बाढीका कारण कुस्मा-दाना प्रसारण लाइनमा क्षति पुगेपछि करिब एक सय ९० मेगावाटका सातवटा जलविद्युत् केन्द्रको विद्युत्् प्रसारण हुन सकेको छैन । बाढीका कारण राहुघाट जलविद्युत् आयोजनाको टेलरेस गेट र डक्टमा क्षति पुगेकाले आयोजना सञ्चालनमा ल्याउन करिब १० दिन लाग्ने प्राधिकरणको प्रारम्भिक अनुमान छ ।
अघिल्लो वर्षको सुक्खायामको उच्चतम राष्ट्रिय विद्युत् माग २२ सय ९२ मेगावाट थियो । यस वर्ष सुक्खायाममा आन्तरिक उत्पादनबाट उपलब्ध हुने अनुमानित कुल विद्युत् क्षमता १२ सय १८ मेगावाट रहेको छ ।
त्यस्तै राहुघाट जलविद्युत् केन्द्रबाट ८० मेगावाटबाहेक एक सय २७ मेगावाट उत्पादन सञ्चालनमा ल्याउन सकिने अवस्था छ । प्रणालीबाट बाहिर रहेका छवटा विद्युत् आयोजनाको कुल क्षमता दुर्ई सय ३० मेगावाट रहेको छ । सेती-मादी करिडोरमा बाढीका कारण अवरुद्ध जलविद्युत् केन्द्रहरूको कुल क्षमता दुई सय ६२ मेगावाट रहेको छ भने मर्स्याङ्दी करिडोरमा एक सय ९० मेगावाटका आयोजना प्रभावित भएका छन् ।
एक सय ४४ मेगावाटको कालीगण्डकी जलविद्युत्् केन्द्रसमेत प्रभावित भएको छ । बाढीका कारण केही दिनदेखि विद्युत् अवरुद्ध भएका क्षेत्रहरूमा म्याग्दी, बागलुङ र तनहुँको झापाटार सबस्टेसन तथा रुकुमपूर्वमा विद्युत् सञ्चार भइसकेको प्राधिकरणले जनाएको छ । त्यस्तै मुस्ताङ, प्युठान र रोल्पामा विद्युत् आपूर्ति सञ्चालन गर्ने तथा मनाङमा मंगलबारसम्म आपूर्ति सुचारु भइसक्ने बताइएको छ । प्राधिकरणले बाढीका कारण आन्तरिक उत्पादन प्रभावित भए पनि विद्युत्् माग व्यवस्थापन गर्न भारतबाट विद्युत् आयात गर्ने योजना बनाएको छ ।
माग-आपूर्ति सन्तुलनका लागि ढल्केवर-मुजफ्फरपुर छ सय मेगावाट, टनकपुर-महेन्द्रनगर ५४ मेगावाट, बिहारका विभिन्न बिन्दुबाट तीन सय ५० मेगावाट, आरटिसी माध्यमबाट एक सय ५० मेगावाट गरी कुल ११ सय ५४ मेगावाट विभिन्न प्रक्रियाबाट आयात गर्ने योजना रहेको प्राधिकरणले जनाएको छ । जसअनुसार कुल विद्युत् उपलब्धता २३ सय ७२ मेगावाट हुने अनुमान गरिएको छ । अघिल्लो वर्षको सुक्खायामको उच्चतम राष्ट्रिय विद्युत् माग २२ सय ९२ रहेको थियो । सुक्खायाममा आन्तरिक उत्पादनबाट उपलब्ध हुने अनुमानित कुल विद्युत् क्षमता १२ सय १८ मेगावाट रहेको छ ।
प्राधिकरणका अनुसार यसअघि भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले माथिल्लो त्रिशूली थ्री बी २२० केभी हबलगायतका क्षेत्रमा क्षति पुर्याउँदा चार सय ३० मेगावाट विद्युत्् प्रणालीबाट बाहिरिएको थियो । उक्त बाढीबाट प्राधिकरण र सहायक कम्पनीहरूको करिब चार अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । हाल प्रभावित क्षेत्रका टनेल र पावरहाउसमा पसेको लेदो र फोहोर सफा गर्ने काम भइरहेको छ । सरसफाइपछि मात्र क्षतिको वास्तविक मूल्यांकन गरी पुनर्निर्माण र बजेट व्यवस्थापनको प्रक्रिया अगाडि बढाइने प्राधिकरणले जनाएको छ ।हिमालय टाइम्स
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया