काठमाण्डौंः बैतडीको पाटन बजार क्षेत्रलाई दुई दिनका लागि सिल गरिएको छ । पाटनस्थित उदयदेव मन्दिरमा महानवमीका अवसरमा लाग्ने मेलालाई मध्यनजर गरेर बजार क्षेत्र सिल गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिए ।
शुक्रबार बसेको सर्वपक्षीय बैठकले शनिबार बिहान १० बजेदेखि आइतबार दिउँसो ४ बजे सम्मका लागि बजार क्षेत्र सिल गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार बजार क्षेत्र सिल गरिएको साउँदले जानकारी दिए ।
कोरोना भाईरसको जोखिम कायमै रहेकाले मेलाको बेला हुन सक्ने भीडभाडलाई नियन्त्रण गर्नका लागि बजार क्षेत्र सिल गरिएको हो । दुईदिन सम्म बजार पूर्ण रुपमा बन्द रहनेछ भने उदयदेव मन्दिरमा लाग्ने मेलालाई व्यवस्थित बनाइने साउँदले जानकारी दिए । जिल्ला सुरक्षा समितिको निर्णय अनुसार उदयदेव मन्दिरमा दिइने बलिमा समेत रोक लगाइने उनले दाबी गरे ।
जिल्ला सुरक्षा समितिले नित्य पूजा बाहेकका अरु सबै क्रियाकलापमा रोक लगाइएकाले सोही अनुसार मन्दिरमा नित्य पूजा मात्रै हुने र बलि दिन रोक लगाइएको साउँदले जानकारी दिए ।
यस्तै बजार क्षेत्र सिल भएको र कसैले निर्णय उल्लंघन गरेमा ५ हजार जरीवाना सहित कानुनी कारवाही हुने उनले बताए । जिल्लाका विभिन्न धार्मिक स्थलहरुमा बलिसहितको पूजाआजामा रोक लगाइएको भएपनि धेरै ठाउँमा बलि समेत भएको पाइएको छ । स्थानीयहरुले आफ्नो धर्मसंस्कृति नछोड्ने भन्दै विभिन्न शक्तिपीठहरुमा महाष्टमीको अवसरमा बलि दिइएको जानकारी प्राप्त भएको छ । यसअघि स्थानीय प्रशासनले बलिमा रोक लगाउने निर्णय गरेको भएपनि सो निर्णय कार्यान्वयन भने हुन सकेको छैन् ।
बैतडीमा बलि सहित जात्रा मनाउन रोक लगाउने भनिएपनि जात्रा भने भैरहेकाछन् । शनिबार दशरथचन्द नगरपालिका २ दहिमाण्डौँ स्थीत निङ्गलाशैनि भगवति मन्दीरमा करिब ४सय बढि रांगाबोकाको बलि दिई मेला सम्पन्न भएको छ । यसअघि वडा कार्यालय र निङ्गलाशैनि धार्मीक सेवा समितिले मेलामा कसैलाई नआउन सुचना जारी गरेको थियो । जात्रा मनाउन रोक लगाएको भएपनि जात्रा मनाइएको स्थानियबासिले बताएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया