काठमाडौं । बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोक राज सिग्देलले बेलायती उच्च सैनिक तथा सरकारी अधिकारीसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
बेलायती सेनाका प्रमुख जनरल सर रोली वाकरको निमन्त्रणामा असोज १९ गतेदेखि बेलायत भ्रमणमा रहेका प्रधान सेनापति सिग्देलले भ्रमणका क्रममा बेलायती उच्च अधिकारीहरूसँग भेटवार्ता तथा विभिन्न सैन्य गतिविधिमा सहभागिता जनाएका हुन्।
असोज २० गते प्रधान सेनापति सिग्देलले सैन्य रणनीति तथा सञ्चालनसम्बन्धी उपप्रमुखसँग शिष्टाचार भेटवार्ता गरेका थिए। त्यसैगरी उनले पूर्वसैनिक तथा जनशक्ति मामिलासम्बन्धी राज्यमन्त्रीका संसदीय उपसचिवसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।
भेटवार्ताका क्रममा नेपाल र बेलायतबीच लामो समयदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्ध, सैनिक सहकार्य तथा आपसी हितका विषयमा छलफल भएको जनाइएको छ। नेपाल र बेलायतबीच विशेषगरी गोर्खा सैनिकमार्फत दशकौँदेखि कायम रहेको सैनिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको बताइएको छ।
भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले गोरखा सैनिक स्मारकमा पुष्पगुच्छा अर्पण गरी वीर गोर्खा सैनिकहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए। उनले गोर्खा सैनिकहरूले बेलायती सेनामा पुर्याएको योगदान तथा बलिदानको सम्मान गरेका थिए।
यसैगरी असोज २१ गते प्रधान सेनापति सिग्देलले बेलायती सेनाको मुख्यालयको भ्रमण गरेका छन्। सो अवसरमा उनले बेलायती सेनाका प्रमुख जनरल सर रोली वाकरसँग भेटवार्ता गरेका थिए।
भेटका क्रममा नेपाल र बेलायतबीचको आपसी हित तथा द्विपक्षीय सैनिक सम्बन्धका विविध पक्षमा छलफल भएको जनाइएको छ। विशेषगरी नेपाली सेना र बेलायती सेनाबीच हुँदै आएको सहकार्य, सैनिक तालिम तथा अनुभव आदानप्रदान र आगामी दिनमा सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको बताइएको छ।
प्रधान सेनापति सिग्देलको बेलायत भ्रमणले नेपाल र बेलायतबीचको परम्परागत सैनिक सम्बन्धलाई थप मजबुत बनाउनुका साथै दुई देशका सेनाबीचको सहकार्य र पारस्परिक समझदारी विस्तारमा योगदान पुग्ने अपेक्षा गरिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया