विगतमा घटस्थापनाभन्दा आधा महिनाअगावै काठमाडौं उपत्यका लगायत देशका विभिन्न सहरमा दसैं किनमेल गर्नेको चहलपहल बढिसक्थ्यो तर यसपालि घटस्थापना नजिकै आइसक्दा समेत बजार सुनसान छ।
काठमाडौंका असन, इन्द्रचोक, न्युरोड, महाबौद्ध, पुतलीसडक, लगनखेल, भक्तपुर क्षेत्रका बजारमा दसैंको किनमेल गर्नेको खासै चहलपहल सुरु भइसकेको देखिन्न। बजारमा उपभोक्ताको चाप त कम छ नै, सामानको अभाव पनि उत्तिकै छ।
इन्द्रचोकका कपडा पसलमा विगतका वर्षहरूमा जस्तो नयाँ डिजाइनका कपडा भेटिन्नन्। दसैंका लागि दुई महिनाअघि बुकिङ गरिएका नयाँ गाडी पनि अटो व्यवसायीले दिन नसक्ने अवस्था बनेको छ। उत्तरतर्फका तीन प्रमुख नाका रसुवागढी, खासा–तातोपानी र कोरला आउजाउ गर्ने सडक अवरूद्ध हुँदा स्थलमार्गबाट हुने व्यापारिक कारोबार दसैंको मुखमा ठप्प छ।
गत भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको बाढीले भन्सार, सडकसहित सबै संरचना ध्वस्त बनाएपछि रसुवागढी नाका ठप्प छ। त्यसपछि पहिरोको जोखिम देखाएर सिन्धुपाल्चोकको तातोपानी खासा नाकाबाट हुने आयात–निर्यात पनि चीनले रोकेको छ।
काठमाडौंबाट दुरीका हिसाबले सबैभन्दा नजिकका यी दुवै नाका बन्द भएपछि व्यापारीले मुस्ताङको कोरला नाका प्रयोग गर्न थाले। यही असोज ९ देखि ११ सम्मको अविरल वर्षाका कारण बेनी–जोमसोम सडकखण्ड अवरुद्ध हुँदा कोरला नाकाबाट सामान ल्याउन सकिएको छैन।
सडकका कारण ढुवानी गर्न नसक्दा चीनबाट ल्याइएका सामान पनि कोरलामै रोकिएका छन्। मालवाहक करिब दुई सय कन्टेनर र सयौं विद्युतीय गाडी मुस्ताङमै रोकिएका छन्।
चीनतर्फका तीन वटै व्यापारिक नाका बन्द हुँदा तीजका लागि मगाइएका सामान समेत काठमाडौं ल्याउन सकिएको छैन। बाढीपहिरोले सडक अवरुद्ध हुँदा अटो व्यवसायीले भदौमा बुकिङ गरेका नयाँ गाडी पनि ल्याउन पाएका छैनन्। दसैं–तिहार र जाडोका लागि मगाइएका सामान पनि मुस्ताङमै अड्किएका छन्।
चीनबाट आयात व्यापारमा संलग्न व्यवसायीको संस्था एकता व्यापार संघ नेपालका अध्यक्ष तेजप्रसाद आचार्यले बजारमा पर्याप्त सामान नहुँदा महँगी बढेको बताए। नियमितभन्दा फरक नाका प्रयोग गर्नुपरेकाले तथा गाडी भाडा र लगानी बढेकाले महँगी बढेको उनको भनाइ छ।
‘सामान्य अवस्थामा सामान ल्याउँदा ७५ हजार रुपैयाँ लाग्ने गाडी भाडा नाका घुमाउँदा घुमाउँदै पाँच लाखसम्म पुगेको अवस्था छ। त्यो खर्च पनि सामानको मूल्यमा जोडिने हो। घाटा खाएर बेच्ने कुरा हुँदैन,’ आचार्यले भने।
जाडोका लागि आवश्यक सामान ल्याउने बेला पनि भइसकेकाले बाटो ठप्प हुँदा समस्या भएको उनले बताए। चीनबाट स्थलमार्ग भएर सामान ल्याउँदा १५ दिन बाटौमै लाग्छ। चाडपर्वका बेला लामो समय व्यापारिक नाका बन्द हुँदा त्यसलाई खुलाउन राज्यले तदारूकता देखाउनुपर्ने उनले औंल्याए। नाका खुलाउन कूटनीतिक पहल गर्नुपर्ने राज्य उदासीन भएको व्यवसायीको गुनासो छ।
चाडपर्वका बेला सामान ल्याउन नपाउँदा व्यवसायीलाई मात्र नभई मुलुकलाई नै घाटा भएकाले जतिसक्दो छिटो अवरूद्ध सडक र नाका खोल्न राज्य सक्रिय हुनुपर्ने माग व्यवसायीहरूको छ। हिमालय सीमापार व्यापार संघका व्यवसायी दीपेन्द्र श्रेष्ठले अघिल्लो वर्षको तुलनामा यस वर्ष उत्तरी नाकाबाट चाडपर्व लक्षित सामान ल्याउन नसकिएको बताए।
व्यापार हुँदै आएका नाका बदल्नुपर्दा ढुवानी खर्चसमेत बढ्दा सामान पनि महँगोमा बेच्नुपरेको व्यवसायीले बताएका छन्। श्रेष्ठले दसैंको मुखमा पनि काठमाडौंका मुख्य बजारमा रौनक नदेखिएको बताए। उनले अघिल्लो वर्षको दसैंमा भन्दा यसपालि सबै सामानको मूल्य ३० देखि ५० प्रतिशतसम्म बढेको जानकारी दिए। नेपालमा तयारी पोसाकको ८० प्रतिशत व्यापार हिस्सा चीनतर्फको आयातले ओगटेको छ।
विद्युतीय सवारीसाधनलगायत अन्य सामान आयातको ठुलो स्रोत चीन नै हो। चीनसँग स्थलमार्गबाट हुने व्यापार ठप्प भएपछि दसैंको बेला अत्यावश्यक सामानका लागि व्यापारीले भारतको भर पर्नुपरेको छ।
पर्वका बेला बजार मूल्य बढेपछि उपभोक्ताको भान्छा महँगिएको छ। एक मुठा रायोको सागलाई ६० रुपैयाँ तिर्नुपरेको छ। दैनिक उपभोग्य वस्तु तथा खाद्यान्नको पनि २५ देखि ५० प्रतिशतसम्म मूल्य बढेको छ। जिरालगायत मसलाको मूल्य पनि बढेर प्रतिकेजी ५७० देखि ६०० रुपैयाँसम्म भएको छ। गत वर्षको दसैंमा जिरा प्रतिकेजी ३८० देखि ४२० रुपैयाँ थियो। दसैं नेपालीको ठुलो चाड हो। दसैं अर्थतन्त्र चलायमान बनाउने अवसर पनि हो। नागरिक
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया