असोज २४, २०८३ शनिबार October 10, 2026

सुन तस्करीमा चिनियाँ नयाँ समूह : २१ किलो ७५० ग्राम सुनसहित तीन जना बुढानीलकण्ठबाट पक्राउ

बरामद भएको सुन कहाँबाट ल्याइएको भन्ने नखुलेका कारण नयाँ समूहको पुरानो गिरोहसँग सम्बन्ध छ कि छैन भन्ने खोजबिन हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

२०८० साउन २ गते हङकङबाट ‘ब्रेक सु’मा सुन लुकाएर ल्याउने तस्करहरूमाथिको अनुसन्धानबाट चिनियाँ गिरोहले नेपालमा कुन तहसम्म जरा गाडेको थियो भन्ने खुलासा भएको थियो।

राजनीतिक नेतृत्वसम्म पहुँच पुर्‍याएर काठमाडौंको टोखामा सुन गाल्ने कारखानासमेत स्थापना गर्ने चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसहितको गिरोहको सञ्जाल त्यतिबेला तोडिएको थियो तर तीन वर्ष नबित्दै काठमाडौंमा चिनियाँ गिरोहकै अर्को समूह सुन तस्करीमा सक्रिय रहेको तथ्य खुलेको छ।

बुढानीलकण्ठस्थित चपली हाइटमा रहेको साढे दुई तलाको घर बाहिरबाट हेर्दा शान्त देखिन्थ्यो तर भित्र चिनियाँ समूहबाट सुन पगाल्ने कारखाना नै सञ्चालनमा थियो। एक साताअघि प्राप्त सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सुन तस्करीमा संलग्न चिनियाँ समूहको निगरानी गर्दै आएको थियो। निगरानीमा गरिरहेको प्रहरी टोलीले सुनसहित ती गिरोहहरूलाई पक्राउ गर्ने रणनीति बनाएको थियो।

बिहीबार बिहान ६ बजेतिर एउटा बिओआइडी गाडी उक्त घरबाट बाहिर निस्कियो। सादा पोसाकका प्रहरीहरू मौका हेरेर बसेका थिए। उनीहरूले तत्काल गाडी नियन्त्रणमा लिए। खानतलासीका क्रममा डिक्कीबाट दुई किलो सुन बरामद भयो। त्यसपछि थप अनुसन्धानका लागि प्रहरीहरू घरभित्र पसे। भित्र कतै झ्यालमा त कतै टेबलमा सुन राखिएको थियो। त्यही घरमा तीन चिनियाँ नागरिक भेटिए। उनीहरूलाई नियन्त्रणमा लिइयो। उनीहरूका साथबाट गालेर बिस्कुटजस्तो आकारमा बनाइएको, गाल्न बाँकी लेदो सुन बरामद भयो। ‘गाडीमा दुई किलो मात्रै भेटियो। घरभित्रबाट केही गाल्दै गरेको र केही गालेर पठाउन तयार पारिएको अवस्थामा भेटियो,’ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले भने, ‘गाडीमा बरामद भएको र घरभित्र भेटिएको गरी सुन २१ किलो ७५० ग्राम रहेको पाइयो।’

घरभित्र ती चिनियाँ नागरिकहरू निर्धक्कसँग बसिरहेको अवस्थामा पक्राउ परेको एसएसपी खड्काले जानकारी दिए। उनका अनुसार लेदोका रूपमा ल्याइएको सुन त्यही घरमा बिस्कुट आकारमा बदल्ने गरिएको पाइएको छ। सुन गाल्ने नयाँ उपकरणदेखि त्यसलाई बिस्कुट आकारमा ढाल्ने सामग्रीसमेत उक्त घरभित्र भेटिएका थिए। बरामद सुन  कहाँबाट ल्याइएको भन्ने खुल्न बाँकी रहेको  खड्काको भनाइ छ।

चार महिनाका लागि घर भाडामा

प्रहरीले पक्राउ परेका चिनियाँ नागरिकको यात्रा विवरण विश्लेषण गरेको छ। जसअनुसार उनीहरूले गत साउनमा नेपाल आएर सुन तस्करीको योजना बनाएको देखिन्छ। प्रहरीले छापा मारेको बुढानीलकण्ठस्थित निजी घर साउन ८ गते चिनियाँ नागरिक सु कानले मासिक तीन लाख ३० हजार रुपैयाँ भाडा तिर्ने गरी लिएका थिए। चार महिनाको भाडाबापत १३ लाख २० हजार रुपैयाँ अग्रिम भुक्तानी गरेर सु साउन ३० गते चीन फर्किएको अभिलेखमा देखिन्छ।

नेपालमा भाडामा लिइएको घरको साँचो भने उनले चीनमै रहेका ‘झान जी ली’लाई दिएका थिए। लीले हान फी र जो लोङछिङलाई उक्त साँचो दिएर नेपाल पठाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनीहरू दुवै जना बिहीबार पक्राउ परेका हुन्।

पक्राउ परेका जो लोङछिङ र फी असोज ११ गते घरको साँचो बोकेर चीनबाट नेपाल आएको देखिएको छ। उनीहरूले विमानस्थलबाटै असोज २५ गतेसम्मका लागि बिओआइडी गाडी भाडामा लिएका थिए। पक्राउ परेका अर्का आरोपी वाङजेन भने असोज १५ गते मात्रै काठमाडौं आइपुगेको उनकै राहदानीबाट खुलेको छ।

नेपालमा सुन तस्करीको सम्भावना बुझ्न सुरुमा हान फी आएको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनी गत साउनमै पत्नीसहित काठमाडौं आएका थिए। उनी काठमाडौंको बजार र सुन तस्करी गर्न सकिने सम्भावित आधारबारे जानकारी जुटाएर फर्किएको अनुसन्धानमा संलग्न अधिकारीहरूको भनाइ छ। त्यसपछि उनी अन्य दुई जनालाई लिएर नेपाल आएको खुलेको छ। अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार फीको चीनमा सुन पसल थियो। उक्त व्यवसाय घाटामा गएपछि अर्का साथीसँग मिलेर नेपालबाट सुन तस्करी गर्ने उद्देश्यले उनी काठमाडौं आएको उनको बयानबाट खुलेको छ।

एसएसपी खड्काका अनुसार पक्राउ परेका आरोपीहरूले अनुसन्धानमा असहयोग गरिरहेका छन्। बरामद सुन लिएर नेपाल आउने व्यक्ति उनीहरू नै नभएको प्रहरीको आशंका छ। सुन ल्याउने र विमानस्थलमा बुझ्ने व्यक्ति अर्कै हुन सक्ने देखिएको छ। ‘अहिले पक्राउ परेकाहरू काम गर्न मात्रै पठाइएको देखिन्छ। सुन ल्याउने र विमानस्थलमा बुझ्ने व्यक्ति अर्कै हुन सक्छन्। उनीहरूको खोजी भइरहेको छ,’ अनुसन्धानमा संलग्न एक अधिकृतले भने।

सुन कहाँ लैजाने योजना थियो भन्ने पनि खुलेको छैन। पक्राउ परेकाहरूले ठमेलमा लगेको बताए पनि उनीहरू बसेको भनिएको होटलसमेत यकिन गर्न नसकिएको ती अधिकृतले बताए। पक्राउ परेका तीनै जना चिनियाँ नागरिकको राहदानीका आधारमा नेपालमा मात्र यात्रा गरेको देखिन्छ। नयाँ राहदानी प्रयोग गरेको र यसअघि नेपाल आएको अभिलेख नदेखिएकाले सुन तस्करीमा संलग्न यिनीहरू नयाँ समूह हुन सक्ने एसएसपी खड्काको आकलन छ। ‘यसअघि ब्रेक सुमा सुन ल्याउने चिनियाँहरूसँग उनीहरूको सम्बन्ध छ कि छैन भनेर हेरिरहेका छौं तर अहिले पक्राउ परेकाहरू विगतमा नेपाल आएको देखिँदैन,’ एसएसपी खड्काले भने, ‘त्यसैले सुन तस्करीका लागि नयाँ समूह स्थापित हुन लागेको हाम्रो अनुमान छ।’ बरामद सुन भन्सार कार्यालयमा बुझाइएको उनले जानकारी दिए।

३७ क्विन्टल सुन तस्करीका अभियुक्त अझै भेटिएनन्

काठमाडौंमा बसेर सुन तस्करी गर्ने चिनियाँहरूको नयाँ सञ्जाल स्थापित हुन लागेको तथ्य बिहीबार पक्राउ परेकाहरूको विवरणले देखाएको छ। यसअघि २०८० सालमा ‘ब्रेक सु’ र विद्युतीय चुरोट (भेप) मा लुकाएर चिनियाँ गिरोहले गरेको सुन तस्करीमाथि अनुसन्धान भएको थियो।

नेपाली नागरिकतासमेत लिएर तस्करीमा संलग्न चिनियाँहरूले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनदेखि पूर्वसभामुख कृष्णबहादुर महरासम्म पहुँच स्थापित गरेको अनुसन्धानबाट खुलेको थियो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को पहिलो अनुसन्धानले ३६३ किलो सुन तस्करी भएको तथ्य फेला पारेको थियो। दोस्रो चरणको अनुसन्धानमा भने त्यही समूहले तस्करी गरेको परिमाण ३७ क्विन्टल पुगेको देखिएको थियो।

उक्त घटनामा नौ चिनियाँ नागरिक पक्राउ परेर पुर्पक्षका लागि थुनामा थिए तर ती सबै गत वर्ष भदौ २४ गते कारागारबाट फरार भए। उनीहरू अहिलेसम्म पक्राउ परेका छैनन्। उनीहरूका राहदानी भने कारागार प्रशासनकै नियन्त्रणमा छन्।

यसअघिको घटनामा बरामद सुन हङकङबाट ल्याइएको थियो। अहिले बरामद भएको सुन कहाँबाट ल्याइएको भन्ने नखुलेका कारण नयाँ समूहको पुरानो गिरोहसँग सम्बन्ध छ कि छैन भन्ने पनि स्पष्ट हुन सकेको छैन। सुन तस्करीको नयाँ समूह र त्यसलाई नेपालमा सहयोग गर्ने अन्य व्यक्तिबारे पनि अनुसन्धान भइरहेको एसएसपी खड्काले बताए। नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
२०८३ असोज २४, शनिबार
पूर्व न्यायाधीशलाई नोबेल पुरस्कार दिएको केही घण्टापछि आइसीसीमाथि अमेरिकी प्रतिबन्ध
२०८३ असोज २४, शनिबार
संघीय निजामति विधेयक २०८३ : ३०-५५ को अवकाश प्रावधानले कर्मचारी वृत्तमा त्रास
२०८३ असोज २४, शनिबार
भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता
२०८३ असोज २४, शनिबार
सुर्खेतका तीन स्थानका जंगलबाट १८ नाल भरुवा बन्दुक बरामद
२०८३ असोज २४, शनिबार
चौध लाखभन्दा बढीका सामान र ई-लोडर बरामद
२०८३ असोज २४, शनिबार
सुन तस्करीमा चिनियाँ नयाँ समूह : २१ किलो ७५० ग्राम सुनसहित तीन जना बुढानीलकण्ठबाट पक्राउ
२०८३ असोज २४, शनिबार