काठमाण्डौं । पाकिस्तानसँगको तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलङ्का ८ विकेटले विजयी भएको छ । कुशल मेन्डिसको उत्कृष्ट ब्याटिङको मद्दतमा श्रीलङ्काले पाकिस्तानलाई ८ विकेटको हराउदै सान्त्वना जित निकालेको हो ।
हिजो रावलपिण्डीमा भएको खेलमा पाकिस्तानले दिएको १६९ रनको लक्ष्य श्रीलङ्काले १७ दशमलव १ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको थियो । श्रीलङ्काका लागि कुशलले ४८ बलमा सात चौका र चार छक्कासहित अविजित ८७ रन बनाए ।
त्यस्तै, कामिन्दु मेन्डिसले २७ बलमा अविजित ४० र सिनेत जयवर्धनेले २६ बलमा ३८ रन जोडेका थिए । त्यसअघि पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १६८ रन बनाएको थियो ।
पाकिस्तानका साहिबजादा फरहानले सर्वाधिक ७६ रन बनाए । उनले ४७ बलमा सात चौका र तीन छक्का प्रहार गरे । श्रीलङ्काका दासुन शनाकाले तीन विकेट लिए । यस जितसँगै श्रीलङ्काले तीन खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको अन्तिम खेल जित्दै सान्त्वना जित प्राप्त गरेको छ ।
पाकिस्तानले यसअघि नै २ खेल जितेर शृङ्खला आफ्नो पक्षमा पारेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया