कार्तिक ७, २०८३ शनिबार October 24, 2026

नेपाली कम्युनिष्ट पार्टीको ‘राष्ट्रिय जागरण अभियान’ कात्तिक ७ देखि मङ्सिर २५ सम्म

पार्टीले आफ्नो सङ्गठनलाई सुदृढ बनाउने, विगतका कमजोरीको समीक्षा गर्ने र जनताप्रति थप उत्तरदायी बन्ने प्रतिबद्धता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीले कात्तिक ७ देखि मङ्सिर २५ गतेसम्म सञ्चालन गर्ने राष्ट्रिय जागरण अभियानमा सक्रिय सहभागी हुन आम नागरिकलाई अपिल गरेको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी गरेको अपिलमा महँगी, बेरोजगारी, भ्रष्टाचार र युवा पलायन बढ्दै गएको भन्दै जनजीविकाका समस्या समाधान गर्न अभियान सञ्चालन गर्न लागिएको उल्लेख छ।

पार्टीले वर्तमान राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै लोकतन्त्र, नागरिक स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता र संविधानको रक्षा गर्नुपर्नेमा जोड दिएको छ। अभियानमार्फत किसान, मजदुर, युवा, विद्यार्थी, महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारूलगायत विभिन्न समुदायसँग प्रत्यक्ष संवाद गरी उनीहरूका समस्या, गुनासा र सुझाव सङ्कलन गरिने पार्टीले जनाएको छ।

अभियानका क्रममा महँगी, बेरोजगारी, कालोबजारी, भ्रष्टाचार, आर्थिक असुरक्षा, सार्वजनिक सेवामा हुने ढिलासुस्ती तथा वैदेशिक रोजगारीका समस्याबारे जानकारी सङ्कलन गरी सम्बन्धित सरकारी निकायसमक्ष समाधानका लागि पहल गरिने अपिलमा उल्लेख छ। साथै, पार्टीले आफ्नो सङ्गठनलाई सुदृढ बनाउने, विगतका कमजोरीको समीक्षा गर्ने र जनताप्रति थप उत्तरदायी बन्ने प्रतिबद्धता जनाएको छ।

पार्टीले रसुवाको भोटेकोशी बाढीलगायत प्राकृतिक विपद्बाट प्रभावित नागरिकको खोज, उद्धार, राहत र पुनःस्थापनालाई प्राथमिकता दिन सरकारसँग माग गरेको छ। बेपत्ता नागरिकको खोजीमा ढिलाइ नगर्न, आवश्यक स्रोतसाधन र प्रविधि परिचालन गर्न तथा क्षतिग्रस्त सडक, पुल, खानेपानी, सञ्चार र विद्युत् संरचनाको शीघ्र पुनर्निर्माण गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको छ।

नेपाली कम्युनिष्ट पार्टीले राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय, समानता, उत्पादन वृद्धि, रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्रलाई अभियानको प्रमुख उद्देश्य बनाएको छ। संविधान र लोकतन्त्रको रक्षा, भ्रष्टाचार तथा दण्डहीनताको अन्त्य र समाजवाद निर्माणको आधार तयार पार्न राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी, निजी क्षेत्र तथा देश–विदेशमा रहेका नेपालीलाई अभियानमा सहभागी हुन प्रचण्डले आह्वान गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया