काठमाण्डौंः बारामा प्रहरी र स्थानीयबीचको झडपमा ३ जना घाइते भएका छन् । जिल्लाको सुवर्णपुर गाउँपालिकाको कवहीगोठमा प्रहरी र स्थानीय बासिन्दाबीच भएको झडपमा तीन प्रहरी र एक बालक घाइते भएका हुन् ।
भारतबाट तस्करीको सामान ल्याउन स्थानीय बासिन्दालाई रोक्दा झडप भएको हो। झडपमा प्रहरीले गोली चलाएको थियो। गोली लागेर स्थानीय १४ वर्षीय रञ्जन यादव घाइते भएका छन्। उनको वीरगन्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
त्यस्तै, सई वीरेन्द्र गिरीसहित तीन जना प्रहरी घाइते भएका छन्। उनीहरुको कलैयामै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी कृष्ण पंगेनीले बताए।
झपडका क्रममा स्थिति नियन्त्रणमा लिन हवाई फायर गरिएको एसपी पंगेनीको भनाइ छ। हवाई फायरका क्रममै बालकलाई गोली लागेको उनले बताए।
गएराति भारतबाट मोटरसाइकलमा प्याज ल्याइरहेका स्थानय बासिन्दालाई प्रहरी टालीले नियन्त्रणमा लिएको थियो। त्यसपछि स्थानीय बासिन्दा पनि आएर प्रहरीमाथि आक्रमण गरेको एसपी पंगेनीले बताए।
स्थानीय बासिन्दाले आक्रमण गर्न थालेपछि प्रहरीले हवाई फायर गरेको थियो। यो क्रममा १२ राउन्ड हवाई फायर भएको प्रहरीले जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया