काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच बुधबार बूढानीलकण्ठस्थित लामिछाने निवासमा चार घण्टा लामो भेटवार्ता भएको छ। संवेदनशील सरकारी निर्णय, राजनीतिक नियुक्ति तथा अध्यादेशलगायत विषयमा छलफल गर्न दुई नेताबीच भेट भएको स्रोतले जनाएको छ।
आइतबार मध्यराति भारतबाट काठमाडौं फर्किएका लामिछानेलाई भेट्न प्रधानमन्त्री शाह आफ्ना मुख्य सल्लाहकार कुमार बेनसहित बूढानीलकण्ठ पुगेका थिए।
उच्च सुरक्षा स्रोतका अनुसार बुधबार बिहान सवा १० बजेदेखि दिउँसो सवा २ बजेसम्म दुई नेताबीच छलफल भएको थियो। भेटवार्तामा सरकारका महत्वपूर्ण निर्णय, अध्यादेश जारी गर्ने विषय तथा विभिन्न राजनीतिक नियुक्तिका सम्बन्धमा कुराकानी भएको हुन सक्ने स्रोतको दाबी छ।
सरकारले लिनुपर्ने केही संवेदनशील निर्णयमा साझा धारणा बनाउनुपर्ने भएकाले दुई नेताबीच लामो छलफल भएको स्रोतले जनाएको छ। यद्यपि, भेटवार्तामा भएका छलफल र निर्णयका विषयमा दुवै पक्षबाट औपचारिक विवरण सार्वजनिक भएको छैन।
दुई नेताबीचको भेटवार्ता र केही महत्वपूर्ण विषयमा निर्णय हुन बाँकी रहेकै कारण बुधबारका लागि तय गरिएको मन्त्रिपरिषद् बैठकसमेत बिहीबारका लागि सारिएको स्रोतको दाबी छ।
सरकारी निर्णय, अध्यादेश र राजनीतिक नियुक्तिजस्ता विषयमा छलफल भएको भनिए पनि कुन विषयमा के निर्णय भयो भन्ने स्पष्ट भइसकेको छैन। भेटवार्ताको विस्तृत विवरण सार्वजनिक नभएकाले छलफलका विषय र त्यसबाट निस्किएका निष्कर्षबारे थप जानकारी आउन बाँकी छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया