कार्तिक २८, २०८३ शनिबार November 14, 2026

मलेसियामा कार्यरत नेपालीहरूको श्रममन्त्रीसँग ७ बुँदे माग

नयाँ रोजगारी खुलाउने विषयलाई मात्रै प्राथमिकतामा राख्दा पुराना श्रमिकमाथिको शोषण यथावत् रहेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

क्वालालम्पुर, मलेसिया : नेपाल र मलेसियाबीचको आगामी द्विपक्षीय वार्ता नयाँ श्रमिक पठाउने विषयमा मात्र सीमित नरही मलेसियामा कार्यरत श्रमिकले वर्षौंदेखि सामना गरिरहेका समस्या समाधानमा पनि केन्द्रित हुनुपर्नेमा त्यहाँ कार्यरत नेपालीहरूले जोड दिएका छन् ।

मलेसियाको फरेन वर्कर सेन्ट्रल म्यानेजमेन्ट सिस्टम (एफडब्लुसिएमएस)मा २७५ नेपाली म्यानपावर कम्पनी दर्ता भएपछि मलेसियाको नयाँ रोजगारी प्रभावित भएको छ । नयाँ रोजगारी सहज बनाउन यहि नोभेम्बर १८ र १९ वा डिसेम्बर २ र ३ मा वार्ता गर्न नेपालले प्रस्ताव गरेको छ । तर, मलेसियाबाट जवाफ आएको छैन ।

मलेसियामा कार्यरत नेपाली श्रमिकहरूको तलब, काम गर्ने समय तथा श्रम अधिकार सुनिश्चित गर्न माग गर्दै नेपाली श्रमिकहरूले युवा, श्रम तथा रोजगार मन्त्रालयलाई सातबुँदे ध्यानाकर्षण पत्र पठाएको बताएका छन् । उनीहरूले नयाँ रोजगारी खुलाउने विषयलाई मात्रै प्राथमिकतामा राख्दा पुराना श्रमिकमाथिको शोषण यथावत् रहने बताएका छन् ।

विशेषगरी सेक्युरिटी क्षेत्रमा कार्यरत नेपाली श्रमिकहरूले महिनाको ३० दिनसम्म निरन्तर काम गर्नुपर्ने अवस्था रहेको उनीहरूको भनाइ छ । प्रत्येक दिन १२ घण्टा र महिनाको ३० दिन नै काम गर्दा पनि कतिपय श्रमिकले मासिक २३ सय रिंगेट मात्र तलब पाउने समस्या रहेको उनीहरूले उल्लेख गरेका छन् । पर्याप्त साप्ताहिक बिदा, ओभरटाइमको उचित भुक्तानी तथा श्रम अधिकारका विषयमा समस्या भोग्नुपरेको भन्दै उनीहरूले नेपाल र मलेसियाबीच हुन गइरहेको द्विपक्षीय श्रम वार्तामा मलेसियामा कार्यरत नेपाली श्रमिकलाई हप्तामा कम्तीमा एक दिन अनिवार्य बिदा सुनिश्चित गर्न माग गरेका छन् ।

त्यसैगरी, अतिरिक्त काम गरेको समयको ओभरटाइम रकम कानुनअनुसार छुट्टै उपलब्ध गराउनुपर्ने, महिनाको ३० दिन काम गराउने प्रथालाई नियन्त्रण गर्नुपर्ने तथा सेक्युरिटी क्षेत्रमा कार्यरत श्रमिकको न्यूनतम तलब र सेवा सुविधाको पुनरावलोकन गरी नेपाली र मलेसियन श्रमिकबीच समान कामको समान पारिश्रमिकको व्यवस्था सुनिश्चित गर्नुपर्ने उनीहरूको माग छ ।

श्रमिकको राहदानी, बिदा, स्वास्थ्य सुविधा तथा सामाजिक सुरक्षाको अधिकार सुनिश्चित गर्न र मलेसियामा पहिलेदेखि कार्यरत नेपाली श्रमिकका समस्या समाधान गर्न नेपाल र मलेसिया सरकारबीच स्थायी श्रमिक गुनासो समाधान संयन्त्र स्थापना गर्न पनि उनीहरूले माग गरेका छन् ।

मलेसियामा कार्यरत नेपाली श्रमिकहरूको तर्फबाट मन्त्रालयमा पठाइएको पत्रमा नयाँ श्रमिकलाई मात्र मलेसिया पठाउने विषय नभई पहिलेदेखि पसिना बगाइरहेका नेपाली श्रमिकको जीवन र अधिकारलाई पनि सरकारले प्राथमिकतामा राख्नुपर्ने उल्लेख छ । मध्यान्ह दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया