कार्तिक २८, २०८३ शनिबार November 14, 2026

थापा विवरण अध्यावधिकमा, देउवा समानान्तर महाधिवेशनमा

महिला सदस्यको संख्या नपुगेका कारण आयोगले अध्यावधिकको काम रोकेको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं : १५औं महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आधिकारिक अभिलेख अध्यावधिकका लागि निर्वाचन आयोगमा कागजात पेस गरेको छ।

तर आयोगले ती विवरण अध्यावधिक भने गरिसकेको छैन।विशेष महाधिवेशन हुँदै १५औं महाधिवेशन गरेको थापा पक्ष पार्टीको आधिकारिक नभएको दाबी गर्दै पूर्वसभापति शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशनको तयारी तीव्र पारेको छ।देउवा पक्षले वडा, निर्वाचन क्षेत्र हुँदै धमाधम जिल्ला अधिवेशन गरिरहेको छ।

थापा नेतृत्वको कांग्रेसले असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा विशेष महाधिवेशन आयोजना गरेको थियो।विशेष महाधिवेशनले पार्टीको विधान संशोधन गर्नुका साथै नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो। संशोधित विधानअनुसार केन्द्रीय समितिको संरचना र पदाधिकारीको संख्या बढाइएको थियो।महाधिवेशनबाट पारित संशोधित विधान र राजनीतिक दस्तावेजका साथै निर्वाचित केन्द्रीय कार्यसमितिको विवरण निर्वाचन आयोगमा बुझाउने प्रक्रिया अघि बढाइएको थियो।

महामन्त्री प्रदीप पौडेल र कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले कात्तिक १६ गते आयोग पुगेर संशोधित विधान, निर्वाचित केन्द्रीय कार्यसमिति, राजनीतिक दस्तावेज, समसामयिक राजनीतिक दस्तावेज तथा महाधिवेशनका निर्णयसम्बन्धी कागजात बुझाएका थिए।राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार दलले आफ्नो विवरणमा भएको परिवर्तन आयोगलाई जानकारी गराउनुपर्ने व्यवस्था छ।आयोगका एक अधिकारीका अनुसार कागजातमा अध्ययन गर्ने काम भइरहेको छ।

आयोगले किन रोकेको छ, अध्यावधिक प्रक्रिया ?

निर्वाचन आयोगले कांग्रेसबाट पेस भएका कागजातमाथि अध्ययन भइरहेको जनाएको छ।आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव मानबहादुर बस्नेतका अनुसार कागजात परीक्षण गर्ने काम भइरहेको छ।‘दसैं तिहार बिदाका कारण पनि प्रक्रिया केही ढिलो भएको हो,’ उनले भने।

सहमहामन्त्री रामहरि खतिवडाले महिला सदस्यको संख्या नपुगेका कारण आयोगले अध्यावधिकको काम रोकेको बताए।उनले भने, ‘महिला सदस्यको संख्या जति पुर्‍याउनुपर्ने त्यो नभएको कारण ढिला भएको हो।सभापतिले मनोनीत गर्न बाँकी रहेकाले त्यो छिट्टै हुन्छ।यो कुनै ठूलो विषय होइन।’

देउवा पक्षको अस्वीकार र समानान्तर संगठन निर्माण

विशेष महाधिवेशनप्रति असन्तुष्ट देउवा पक्षले त्यसलाई तत्कालीन केन्द्रीय समितिको पूर्वसहमति र निर्णयबिना गरिएको प्रक्रिया भन्दै अस्वीकार गर्दै आएको छ।देउवा पक्षको मुख्य आपत्ति विशेष महाधिवेशन आयोजना गर्ने प्रक्रिया र त्यसबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको वैधानिकतामाथि छ।

देउवा पक्षले थापा नेतृत्वको नयाँ कार्यसमिति र विशेष महाधिवेशनबाट पारित निर्णयलाई स्वीकार नगर्ने अडान लिएपछि पार्टीभित्र समानान्तर गतिविधि सुरु भएको हो।यसैक्रममा देउवा पक्षले तल्ला तहका अधिवेशन तथा संगठनात्मक गतिविधिलाई अघि बढाएको छ।छुट्टै महाधिवेशन आयोजना गर्ने तयारीसम्बन्धी सूचना देउवा पक्षले असोज १४ गते निर्वाचन आयोगमा दर्ता गराएको थियो।

आफ्नो पक्षमा लहर आएको देउवा पक्षको दाबी

समानान्तर महाधिवेशनको तयारीमा रहेको देउवा पक्षले आफूतिर नेता, कार्यकर्ताको लहर चलेको दाबी गरेको छ।देउवा निकट नेता रमेश लेखकले वडा र जिल्ला अधिवेशनहरूमा पार्टीप्रति जनलहर देखिएको दाबी गरे।‘वर्षौंदेखि कांग्रेसको दह्रो सिपाही भएर बस्नु भएका साथीहरू हामीतिरै हुनुहुन्छ,’ लेखकले भने,‘ विधानले जे जति पदाधिकारीको व्यवस्था गरेको छ, त्योभन्दा बढी त आकांक्षी साथीहरू हुनुहुन्छ।

एउटै जिल्लामा १२, १५, जना साथीहरू जिल्ला सभापतिमा लड्नु भएको छ।।’ देउवा पक्षमा बुढापाका मात्र छन् भनेर छोडेर गएका नेताहरू पनि आफ्नै समूहमा फर्किएको लेखकले बताए।‘देशभरिका करिब आधा जिल्लामा अधिवेशन सकिँदा काहीँ कतै पनि निरास अवस्था छैन,’ लेखकले भने, ‘साथीहरू आउनु भएन भन्नुपर्ने अवस्था छैन।बरु आएका साथीहरूलाई कहाँ, कसरी व्यवस्थापन गर्ने भन्ने समस्या देखिएको छ।’अन्नपूर्ण पोस्टबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अछाममा भिरबाट लडेर एक जनाको मृत्यु
२०८३ कार्तिक २८, शनिबार
रानीकोट गढीको उत्खनन र संरक्षण गर्न मुख्यमन्त्री थापामगरको ध्यानाकर्षण
२०८३ कार्तिक २८, शनिबार
राप्रपा महाधिवेशन : मंसिर ४ देखि प्रतिनिधि छनोट प्रक्रिया सुरु हुने
२०८३ कार्तिक २८, शनिबार
पर्यटन सर्किटमा जोडेर प्रदेशका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धन गरिनेछ : मुख्यमन्त्री भट्ट
२०८३ कार्तिक २८, शनिबार
नेपालका तीन प्रदेशका २५ लाख हेक्टर वन क्षेत्रमा कार्बन कार्यक्रम सञ्चालन गरिने
२०८३ कार्तिक २८, शनिबार
मध्यपुर अस्पतालको १६औँ साधारण सभा सम्पन्न, २० प्रतिशत शेयर सर्वसाधारणलाई निष्कासन गर्ने तयारी
२०८३ कार्तिक २८, शनिबार
लागूऔषध सहित देशका विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८३ कार्तिक २८, शनिबार