काठमाडौँ, कात्तिक २९ गते । तराई मधेशको नदी र तलाउबाट सुरु भएको छठपर्व अहिले पहाडका नदी र हिमालका तालसम्म फैलिँदै छ । छठले राज्यस्तरमा समेत सम्मान र मान्यता पाउन थालेपछि यसको सामाजिक तथा सांस्कृतिक विस्तार थप व्यापक बनेको छ । यो चाड नेपालको सांस्कृतिक तथा भौगोलिक विविधतालाई एकतामा बाँध्ने चाडका रूपमा विकसित हुँदै छ ।
त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागका प्रमुख डा. पासाङ शेर्पा छठलाई धार्मिक परम्पराका रूपमा मात्रै नहेरी पहिचान स्थापित गर्ने तथा ज्ञानलाई पुस्तान्तरण गर्ने सामाजिक र सांस्कृतिक संस्थाका रूपमा लिनुपर्ने बताउनुहुन्छ ।
छठपर्वमा न लिङ्गभेद देखिन्छ, न धर्मभेद, न भाषाभेद, न जातीय विभेद । त्यसैले केही दशकअघिसम्म मिथिला क्षेत्रका हिन्दु समुदायले मात्र मनाउने छठ हाल मुस्लिम समुदायका सदस्यले समेत मनाउन थालेका छन् । महोत्तरीको औरही–३ की सोमनी खातुनले गत वर्ष निधन हुनुअघिसम्म लगातार तीन दशक छठमा अर्घ दिनुभयो । उहाँका कान्छा छोरा हदिश खुद्दारले भन्नुभयो, “जेठो छोरा बितेपछि आमाले सन्तान प्राप्तिका लागि अर्घ दिने भाकल गर्नुभयो । भाकल पूरा भएपछि पनि उहाँले गत वर्ष निधन हुनुअघिको छठसम्म अर्घ दिनुभयो ।”
छठ अहिले मिथिलासहित तराई मधेशका विभिन्न धर्म वा सम्प्रदायसम्म सीमित नरहेर पहाड र हिमालसम्म पुगेको छ । छठ विस्तार हुनुका केही पक्षहरूबारे उल्लेख गर्दै त्रिभुवन विश्वविद्यालय अन्तर्गत राराब क्याम्पस जनकपुरधामबाट सेवा निवृत्त भएका समाजशास्त्री सुशील यादव भन्नुहुन्छ, “पहिलो, तराई मधेशबाट बसाइँसरेर पहाडका सहरसम्म पुगेकाले छठ त्यहीँ मनाउन थाले । दोस्रो, पहाडमा छठ मनाउन सुरु हुँदा त्यहाँका स्थानीयले समेत अँगालेको देखिन्छ ।”
छठको महत्व
सूर्य पुराणमा उल्लेख भएबमोजिम छठ पर्व कात्र्तिक शुक्ल षष्ठीका दिन मनाइने गरिन्छ । वेद, पुराण तथा ग्रन्थहरूमा विभिन्न प्रकारले छठको महत्वबारे उल्लेख गरिएको छ । त्रेतायुगमा अत्री ऋषिकी पत्नी सती अनसुइयाले सर्वप्रथम छठपर्वको अनुष्ठान गर्नुभयो । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गर्नुभयो ।
महाभारत कालमा वनवासका क्रममा द्रौपदीले राज्य फित्र्ता पाएपछि छठ व्रत बस्ने सङ्कल्प गरिन् । राज्य फित्र्ता पाएपछि उनी छठ मनाउन थालिन् । विभिन्न कालखण्डमा विभिन्न तवरले छठको प्रसङ्ग आए पनि अत्री ऋषिकी पत्नी अनसुइयाले सूर्यको आराधना गरी छठपर्वको सुरुवात गरेको विश्वास गरिन्छ । यो व्रत गरे सन्तानको प्राप्ति हुने, दुःखदरिद्र तथा चर्म रोग आदि सबै पीडाबाट मुक्ति पाइने विश्वास छ । मधेशको राजधानी जनकपुरधाम र प्रदेशको अर्को ठुलो सहर वीरगन्जसहित सप्तरीको राजविराज र कोशी प्रदेशको विराटनगरसहितका सहरमा भने छठ विशेष साजसज्जासहित मनाइन्छ ।
सन्ध्या अर्घ दिइने दिन मध्याह्नबाट नै छठ मनाउने सर्वसधारणको घुइँचो पोखरी, तलाउ, नदीकिनारमा देख्न सकिन्छ । सपरिवार पोखरीको डिलमा उपस्थित भई अस्ताउँदो सूर्यलाई अर्घसहित भाकल गरिन्छ र भाकल पूरा भएकाले दिनकरलाई नमन गर्दै रातिको मनोरञ्जनमा सरिक हुने गर्छन् ।
राज्यद्वारा सम्मान
केही दशकअघिसम्म छठले विशेष पहिचान र सम्मान पाउन सकेन तर हाल नेपाल सरकारबाट यस वर्ष छठमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । गृह मन्त्रालयले षष्ठीको अस्ताउँदो सूर्यलाई अर्घ दिने दिन आइतबार र सप्तमीको उदाउँदो सूर्यलाई अर्घ दिने सोमबार बिदा हुने जनाएको छ । त्रिविका विभाग प्रमुख डा. शेर्पा भन्नुहुन्छ, “छठको अवसरमा दुई दिन सार्वजनिक बिदा दिएर राज्यले यस पर्वको महत्व र गरिमालाई सम्मान गरेको छ । यो केवल बिदाको घोषणा मात्रै नभई छठसँग जोडिएको संस्कृति, आस्था र परम्पराप्रति राज्यको सम्मान पनि हो ।”
लोक सेवा आयोगमा कार्यरत इन्जिनियर शम्भुकुमार झाले बिदाले सरकारी मात्रै नभई निजीक्षेत्रमा कार्यरत कर्मचारी तथा श्रमिकलाई समेत ठुलो राहत हुने बताउनुभयो । उहाँ भन्नुहुन्छ, “सप्तमीको बिहान अर्घ दिएलगत्तै कार्यालय जाने हतार हुन्थ्यो । कतिपय अवस्थामा कार्यालय जान पाइन्नथ्यो । अब तनावविहीन भएर उल्लास गर्न पाइने भयो ।”
छठ मनाउने समुदायको दुई दिन बिदा दिनुपर्ने बर्सौंदेखिको माग थियो । इन्जिनियर झासहितका करिब दस घरपरिवारले बल्खु तरकारी बजारनजिक भएर बग्ने बागमती नदीमा छठपर्व मनाउनुहुन्छ । काठमाडौँ–१४ स्थित सो क्षेत्रमा छठ मनाउन वडा कार्यालयले समेत सरसफाइका लागि आवश्यक स्रोत साधन उपलब्ध गराएको छ ।
त्रिवि केन्द्रीय विभाग प्रमुख डा. शेर्पाले भने यससँगै अन्य चाडपर्वलाई समेत सम्मान गर्नुपर्ने तथा सम्बन्धित पर्वबारे अध्ययन, अनुसन्धान तथा सोही भाषामा प्रकाशनको काम हुनुपर्ने सुझाव दिनुहुन्छ ।
छठको विधि
छठपर्व विशेष गरी कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमी तिथिसम्म मनाइन्छ । ‘नहाय–धोय’ सँगै चतुर्थी तिथिमा अरबा–अर्बाइन मनाइन्छ । व्रतालु महिलाले चोखो आहार मात्रै खाने गर्छन् । पञ्चमी तिथिमा ‘खरना’ मनाइन्छ । पञ्चमी तिथिको राति हुने विशेष पूजनको प्रसाद ग्रहण गरेपछि व्रतालु महिला निराहार बस्छिन् । खरनापछि सुरु हुने निराहार व्रत सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि मात्र पूरा हुन्छ । त्यसैले यस पर्वलाई कठोर पर्वको रूपमा लिइने गरिएको छ ।
षष्ठीको बिहानैदेखि छठको प्रसादका लागि ठकवा, भुसवा तयार गरिन्छ । साथै मुला, भान्टा जस्ता तरकारी जन्य वस्तुसमेत प्रसादका रूपमा राखने चलन छ । प्रसादलाई बाँसले तयार गरिएको परम्परागत ढाकी र नाङ्गलोमा राखिन्छ । यस प्रकारको ढाकी र नाङ्लो डुम समुदायले तयार गर्छ । पूजन सामग्रीलाई अर्घ दिइने तलाउ र नदी सरसज्जा र लिपपोत गरेर पवित्र पारिएको घाटमा राखिन्छ ।
षष्ठीको साँझ घरनजिकको पोखरी, तलाउ, नदीमा गएर अस्ताउँदो सूर्यको अर्घ दिएपछि तेस्रो दिनको अनुष्ठान पूरा हुन्छ । समाजका सबै वर्ण र जात एउटै घाटमा सँगै पर्व मनाउने परम्पराले समेत छठलाई एकता र सद्भावको पर्वका रूपमा व्याख्या गरिएको छ ।
सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठको समापन हुन्छ । सप्तमीको दिनलाई पारणसमेत भनिन्छ । सप्तमीको बिहान सूर्यलाई अर्घ दिए पनि छठ पर्वबारेको कथा व्रतालु महिलाले परिवारजन तथा डिलमा भेला भएका सर्वसधारणलाई सुनाउने परम्परा छ ।
सूर्यलाई जीवनशक्तिको स्रोतको रूपमा मानिन्छ । मिथिलाको छठ व्रत पनि यसै जीवनशक्तिको स्रोत, सूर्यको उपासना गर्ने एउटा मोहक आध्यात्मिक पद्धति हो । छठ आर्यहरूको सूर्योपासना परम्पराको एउटा अङ्ग हो ।गोरखापत्र दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया