मोरङ । नेपाली कांग्रेस नियमित महाधिवेशन पक्षधरको कोशी प्रदेश दोस्रो अधिवेशन आगामी मङ्सिर १७ र १८ गते विराटनगरमा हुने भएको छ। पार्टी नेता कृष्णप्रसाद सिटौलाको उपस्थितिमा सोमबार विराटनगरमा सम्पन्न बैठकले अधिवेशनको मिति र स्थान तय गरेको हो।
बैठकपछि जानकारी दिँदै प्रदेश महामन्त्री भूपेन्द्र राईले अधिवेशनको उद्घाटन पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाले गर्ने तय भएको बताए। यसअघि मङ्सिर ४ गतेका लागि तय गरिएको प्रदेश अधिवेशन विविध कारणवश पछि सार्नु परेको महामन्त्री राईले स्पष्ट पारे।
अधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न बैठकले विभिन्न तयारी समितिसमेत गठन गरेको छ। जसअनुसार महामन्त्री राईको संयोजकत्वमा मूल समारोह समिति, पूर्वमुख्यमन्त्री केदार कार्कीको संयोजकत्वमा व्यवस्थापन समिति र शोभा श्रेष्ठ नेम्वाङको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरिएको छ।
दुई हजार तीन सयभन्दा बढी प्रतिनिधि सहभागी हुने उक्त अधिवेशनका लागि प्रदेशका सबै जिल्ला तहका नेता तथा कार्यकर्तालाई जानकारी गराइसकिएको प्रदेश कार्यसमितिले जनाएको छ। सोमबारको तयारी बैठकमा नेता सिटौलासहित प्रदेश कार्यसमितिका पदाधिकारी र विभिन्न जिल्लाका सभापतिहरूको सहभागिता रहेको थियो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया