कास्की, २ मङ्सिरः आगामी बुधबारदेखि पोखरामा आयोजना हुने ‘प्रथम किङ्ज कप आमन्त्रित राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ तयारी प्रायः पूरा भएको छ ।
युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा पोखरा रङ्गशालामा हुने प्रतियोगितामा छ टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक थमन गुरुङले राससलाई जानकारी दिनुभयो ।
प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बल (एपीएफ), नेपाल प्रहरी क्लब, गण्डकी प्रदेश, कोशी प्रदेश र रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले प्रतिस्पर्धा गर्ने जानकारी दिँदै उहाँले विजयी टोलीले रु चार लाख नगद पुरस्कार पाउने बताउनुभयो ।
त्यसैगरी, उपविजेतालाई रु दुई लाख ५० हजार, तेस्रो हुनेलाई रु एक लाख र सान्त्वना पुरस्कार रु ५० हजार प्रदान गरिने छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई रु २० हजार तथा उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर, डिफेन्डर, सर्भर र प्रशिक्षकलाई पनि जनही रु १० हजार प्रदान गरिने छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया