मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

आधारभूत तहमा लिखित परीक्षा बन्द गर्न तुलसीपुरको निर्देशन

कक्षा ५ सम्म लिखित परीक्षा नगर्न तुलसीपुरका विद्यालयलाई उपमहानगरको सर्कुलर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

तुलसीपुर, ६ मङ्सिर । तुलसीपुर उपमहानगरपालिकाले आधारभूत तह कक्षा १ देखि ५ सम्म लिखित परीक्षा सञ्चालन नगर्न सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई निर्देशन दिएको छ।

उपमहानगरपालिकाको शिक्षा महाशाखाले मङ्सिर २ गते पत्राचार गर्दै नेपाल सरकारको निर्णयअनुसार कक्षा ५ सम्म लिखित परीक्षा नलिई निरन्तर मूल्याङ्कन प्रणाली लागू गर्न विद्यालयहरूलाई आग्रह गरेको हो।

तुलसीपुरका सामुदायिक तथा संस्थागत विद्यालयले कक्षा १ देखि ५ सम्म पुरानै पद्धतिअनुसार लिखित परीक्षा सञ्चालन गरिरहेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको ‘हेलो सरकार’ मा गुनासो परेको थियो। उक्त गुनासो उपमहानगरपालिकामा प्राप्त भएपछि शिक्षा महाशाखाले विद्यालयहरूलाई सरकारी निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको हो।

सरकारी व्यवस्थाअनुसार कक्षा ५ सम्मका विद्यार्थीलाई निरन्तर मूल्याङ्कन, परियोजना कार्य तथा दैनिक क्रियाकलापका आधारमा मूल्याङ्कन गरी माथिल्लो कक्षामा उत्तीर्ण गराउनुपर्ने पत्रमा उल्लेख छ।

उपमहानगरपालिकाले निर्देशनविपरीत लिखित परीक्षा सञ्चालन नगर्न सचेत गराउँदै सरकारी निर्णय कार्यान्वयन नगरे कानुनबमोजिम हुनेसमेत जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया