काठमाडौं । त्रिवि शिक्षाशास्त्र संकायअन्तर्गत शैक्षिक सत्र २०८३/०८४ का लागि स्नातकोत्तर तहको प्रथम सेमेस्टरमा भर्ना आवेदन खुला गरिएको छ। शिक्षाशास्त्र डीनको कार्यालय तथा शिक्षाशास्त्र केन्द्रीय विभागले एम.एड. (M.Ed.), एम.एस.एस.एड. (MSSEd) र एम.एड. ओडीएल (M.Ed. ODL–Science Education) कार्यक्रमका लागि भर्ना तथा कक्षा सञ्चालनको कार्यतालिका सार्वजनिक गरेको हो।
सम्बन्धित विषयमा बी.एड. उत्तीर्ण गरेका वा सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरी एकवर्षे बी.एड. तथा पीजीईडी (PGED) उत्तीर्ण गरेका विद्यार्थीले आवेदन दिन सक्नेछन्। इच्छुक विद्यार्थीले शिक्षाशास्त्र संकायको आधिकारिक वेबसाइटमा रहेको ‘Online Form’ अन्तर्गत ‘Entrance Registration’ मार्फत अनलाइन आवेदन दिनुपर्नेछ।
सार्वजनिक कार्यतालिकाअनुसार नियमित शुल्कमा आवेदन दिने अन्तिम मिति २०८३ मङ्सिर २९ गते तोकिएको छ। दोब्बर दस्तुरसहित भने पुस १ गतेदेखि पुस ८ गतेसम्म आवेदन दिन सकिनेछ।
प्रवेश परीक्षा २०८३ पुस १४ गते मंगलबार दिउँसो १ बजे सञ्चालन हुनेछ। प्रवेश परीक्षाको नतिजा पुस २१ गते प्रकाशन गरिनेछ भने विद्यार्थी भर्ना पुस २२ देखि ३० गतेसम्म हुनेछ। नयाँ शैक्षिक सत्रको कक्षा २०८३ माघ २ गतेदेखि सञ्चालन हुने तालिकामा उल्लेख छ।
डीनको कार्यालयले केही क्याम्पस, कलेज तथा विभागमा अनलाइन वा ब्लेन्डेड मोडबाट पठनपाठनको व्यवस्था भए पनि परीक्षा दिने व्यवस्था भने प्रत्यक्ष नै रहने स्पष्ट पारेको छ। अनलाइन माध्यमबाट अध्ययन गर्ने विद्यार्थीले समेत सम्बन्धित क्याम्पस, विभाग वा तोकिएको परीक्षा केन्द्रमा उपस्थित भएर परीक्षा दिनुपर्नेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया