कर्णाली, १० मङ्सिरः कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका सचिव रोशनीकुमारी श्रेष्ठले प्रदेश सरकार अपाङ्गता नीति निर्माणको पहलमा रहेको बताउनुभएको छ ।
राष्ट्रिय अपाङ्ग महासङ्घ कर्णाली प्रदेशद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली प्रदेशका सरकारी पदाधिकारी तथा स्थानीय अपाङ्गता समन्वयत समितिका सदस्यहरुका लागि अपाङ्गता समावेशी विकास (डिड) सम्बन्धी अभिमुखीकरण कार्यक्रम’मा बोल्दै सचिव श्रेष्ठले अपाङ्गता नीति निर्माण गर्न सरकारले लामो समयदेखि पहल गर्दै आएको र त्यसले अब छिट्टै सार्थकता पाउने बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपाल संयुक्त राष्ट्रसङ्घको पक्ष राष्ट्र हो र यो आफ्नो प्रतिवेदनसहित महासङ्घको सभा र समितिमा सहभागी हुँदै आएको छ । अपाङ्गतासम्बन्धी राष्ट्रिय नीति बनिसकेको यद्यपि कर्णाली प्रदेश सरकार सो नीति निर्माणको पहलमा छ ।” अपाङ्गता भएका व्यक्तिहरुको संवेदनशीलता, समस्या र आवश्यकतालाई प्राथमिकता राखेर काम गर्दै आएको उहाँले बताउनुभयो ।
सचिव श्रेष्ठका अनुसार अपाङ्गता भएका व्यक्तिको सेवामा सहजता ल्याउन प्रदेश सरकारले कर्णाली प्रदेश अस्पताल सुर्खेतमा दोभाषे व्यवस्थाको प्रक्रिया अगाडि बढाएको छ । दुर्घटना र विपद्का कारण अपाङ्गताको दर बढ्दै गएको जनाउँदे उहाँले नीति निर्माणका सवालमा अपाङ्गता भएकाभन्दा नभएकाले बुझ्न र त्यहीअनुसार नीति तर्जुमा गर्न जरुरी रहेको औँल्याउनुभयो ।
वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालले अपाङ्गता भएका व्यक्तिको क्षेत्रमा हिजोभन्दा आज केही भएको तर जति गर्नुपर्ने त्यति नभएको बताउनुभयो । अपाङ्गता क्षेत्रमा अपेक्षित बजेट विनियोजन हुन नसकेको धारणा राख्दै उहाँले सडकलगायतका भौतिक पूर्वाधारमा सबैले पहुँच राख्ने भएकोले त्यसमा सहज हुन सकेमा धेरै समस्याहरु विस्तारै कम हुँदै जाने दाबी गर्नुभयो । राष्ट्रिय अपाङ्ग महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष नन्दराज धितालले बोल्न नसक्नेहरुको हकमा राज्य बोल्नुपर्ने धारणा राख्नुभयो । “नीतिले व्यवस्था गरेका कुरा कार्यान्वयनमा ल्याइदिए मात्र अपाङ्गता भएका व्यक्तिको सवालमा धेरै ठूलो काम हुन्छ,” उहाँले भन्नुभयो, “यसका लागि सबै सरकोरवालाहरु सकारात्मक र जिम्मेवार हुनैपर्छ ।”
मन्त्रालयका शिक्षा तथा सामाजिक विकास महाशाखाका प्रमुख सुवर्णकुमार खड्काले समावेशी विकासमा मन्त्रालयले हालसम्म गरेका कामका बारेमा प्रस्तुति राख्दै अपाङ्गता भएका व्यक्तिहरुका लागि समावेशी शिक्षा आवश्यक भएको बताउनुभयो । नयाँ बनेका संरचना पहुँचयोग्य बने पनि कर्णालीमा सबै भौतिक संरचनाहरु अपाङ्गमैत्री र पहुँचयोग्य हुन नसकेकोले अब बन्ने नीतिले सम्बोधन गर्ने धारणा राख्नुभयो ।
राष्ट्रिय अपाङ्ग महासङ्घ कर्णाली प्रदेशका प्रदेश व्यवस्थापक आनन्द विष्टले महासङ्घले नीति क्षेत्रमा गरेको पैरवी, बजेट निर्माण, कार्यान्वयन र भएका अभ्यास तथा प्रयासका साथै आगामी दिनमा गर्नुपर्ने कामका बारेमा प्रस्तुति राख्नुभयो । भेरी बहिरा सङ्घ सुर्खेतका अध्यक्ष नम्रता भारतीले दोभाषे नभएका कारण कर्णाली प्रदेश अस्पताल सुुर्खेतबाट स्वास्थ्य सेवा लिन बहिरा व्यक्तिहरुलाई सकस भएको बताउनुभयो । उहाँका अनुसार अस्पतालमा जाने धेरै बहिरा व्यक्ति सेवा लिन नपाएर फर्कने गरेका छन् । यो गुनासो सुुनुवाइ साथै अस्पतालले तथ्याङ्क राख्नुपर्दछ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया