काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने सरकारी कदमविरुद्ध सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालयमा धर्ना दिएको छ ।
आइतबार काठमाडौंस्थित रास्वपाको केन्द्रिय कार्यालय घण्टीघरमा महासंघको आह्वानमा पत्रकारहरूले सांकेतिक धर्ना दिएका हुन् ।
धर्नालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सरकारले सञ्चारमाध्यममाथि हस्तक्षेप गर्ने, सूचनामा अंकुश लगाउने र पत्रकारलाई पक्राउ गर्ने काम गरिरहेको आरोप लगाइन् । उनले प्रेस काउन्सिलसम्बन्धी संशोधन अध्यादेशमार्फत पत्रकारको लेख्ने अधिकारसमेत खोस्न खोजिएको बताइन् ।
संविधानले सुनिश्चित गरेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका अधिकारमाथि प्रहार हुने गरी सरकारले कानुनी व्यवस्था ल्याएको उनको आरोप छ । अध्यक्ष शर्माले सरकार गठन भएको आठ महिना बितिसक्दा पनि सञ्चार क्षेत्रका समस्या सम्बोधन नभएको भन्दै सरकारलाई समर्थन गर्ने दलको ध्यानाकर्षण गराउन सांकेतिक धर्ना दिइएको स्पष्ट पारिन् ।
महासंघले अभिव्यक्ति स्वतन्त्रताको रक्षा र पत्रकारका अधिकार सुनिश्चित गर्न सरकारलाई आग्रह गर्दै माग सम्बोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया