काठमाडौँ । जन्मँदा स्वस्थ देखिने सबै शिशु रोगमुक्त हुन्छन् भन्ने हुँदैन । कतिपय नवजात शिशुमा जन्मजात तथा वंशाणुगत रोगका लक्षण जन्मेको केही दिनपछि मात्र देखिन थाल्छन् । त्यतिबेलासम्म रोगले गम्भीर रूप लिइसकेको हुन सक्छ । समयमै रोग पहिचान हुन नसक्दा उपचार जटिल बन्नुका साथै शिशुको ज्यानै जाने जोखिम हुन्छ ।
यस्तो जोखिम न्यूनीकरण गर्न जन्मेको केही दिनभित्रै गरिने नवजात शिशु स्क्रिनिङ महत्वपूर्ण मानिन्छ । यस परीक्षणबाट बाहिरबाट स्वस्थ देखिने शिशुमा समेत लुकेर रहेका जन्मजात तथा मेटाबोलिक रोगको जोखिम पहिचान गर्न सकिन्छ ।
प्रारम्भिक स्क्रिनिङमा कुनै रोगको जोखिम देखिएमा त्यसको पुष्टि गर्न थप परीक्षण गरिन्छ । स्क्रिनिङले रोगको सम्भावना मात्र देखाउने भएकाले त्यसैका आधारमा शिशुलाई रोग लागेको निष्कर्ष निकाल्न मिल्दैन । थप परीक्षणबाट रोग पुष्टि भएपछि आवश्यक उपचार सुरु गरिन्छ ।
अहिले अस्पतालमा यो सेवा निःशुल्क उपलब्ध छ । तर अभिभावकमा पर्याप्त जनचेतना नहुँदा अपेक्षाअनुसार सबै नवजात शिशु परीक्षणको दायरामा आउन नसकेको डा. कर्माचार्यले बताए ।
“हामी अझै सफलताको चरणमा पुगिसकेका छैनौँ, सुरुवाती चरणमै छौँ । यसबारे पर्याप्त रूपमा सचेतना फैलाउन सकिएको छैन । अब स्क्रिनिङको दायरा अझै बढाउनुपर्ने छ,” उनले भने ।
परीक्षणको दायरामा सबै शिशुलाई समेट्न चुनौती
अस्पतालले २०८१ साउनदेखि परीक्षणका रूपमा यो सेवा सञ्चालन गरेको थियो । सुरुमा एक हजार ४० नवजात शिशुको निःशुल्क स्क्रिनिङ गरी कार्यक्रम अघि बढाइएको थियो । पहिलो वर्षमै ५० प्रतिशत नवजात शिशुलाई सेवाको दायरामा ल्याउने लक्ष्य राखिए पनि अपेक्षाअनुसार परीक्षण हुन सकेको छैन ।
अस्पतालमा वार्षिक करिब २४ हजार शिशुको जन्म हुने गरेको छ । तर जन्मेको केही समयमै शिशुलाई डिस्चार्ज गरेर लैजाने र अभिभावकमा परीक्षणबारे पर्याप्त जानकारी नहुँदा सबैलाई सेवामा समेट्न कठिन भएको अस्पतालको भनाइ छ ।
अस्पतालकी प्याथोलोजी विभाग प्रमुख डा. करिश्मा मल्ल वैद्यका अनुसार सेवा सुरु भएदेखि कात्तिकसम्म १५ हजारवटा परीक्षण गरिएको छ । तीमध्ये १६५ वटाको नतिजा शंकास्पद पोजिटिभ आएको छ भने ५० भन्दा बढीमा थप परीक्षणबाट रोगको पुष्टि भएको छ । शंकास्पद नतिजा आएका कतिपय शिशुका अभिभावक थप परीक्षणका लागि नआउने गरेकाले रोग पुष्टि भएका शिशुको सङ्ख्या कम देखिएको उनले बताइन् ।
“हाल हामीले सातवटा प्यारामिटरमा परीक्षण गरिरहेका छौँ । भविष्यमा बजेट थपिएमा परीक्षणको दायरा पनि बढाउँदै लैजाने सोच छ । अस्पतालमा बिरामीको चाप धेरै छ । सबै शिशुको परीक्षण गर्ने प्रयास गरे पनि धेरैलाई समेट्न सकेका छैनौँ । अभिभावकलाई परामर्श दिने गरेका छौँ, तर अझै सबै शिशु परीक्षणको दायरामा आएका छैनन्,” उनले भनिन् ।
शिशु जन्मेको २४ घण्टापछि रगतको नमुना सङ्कलन गरेर परीक्षण गरिन्छ । सियोले कुर्कुच्चामा घोची थोरै रगत निकालेर विशेष विधिबाट परीक्षण गर्ने गरिएको छ । परीक्षणमा रोगको जोखिम देखिएमा थप परीक्षण आवश्यक हुन्छ ।
डा. वैद्यका अनुसार सरकारी स्तरमा नवजात शिशुको यस्तो स्क्रिनिङ सेवा उपलब्ध गराउने अस्पताल हाल प्रसूति अस्पताल मात्र हो । अहिले अस्पतालमा जन्मिएका शिशुको मात्र परीक्षण भइरहेको छ । आगामी दिनमा अन्य अस्पतालमा जन्मिएका शिशुको समेत निश्चित शुल्क लिएर परीक्षण गर्ने योजना रहेको उनले बताइन् ।
सात प्रकारका रोगको परीक्षण
नवजात शिशु स्क्रिनिङ जन्मेको केही समयभित्र गरिने परीक्षण प्रक्रिया हो । यसबाट बच्चा बाहिरबाट स्वस्थ देखिए पनि शरीरभित्र लुकेर रहेका केही जन्मजात, मेटाबोलिक तथा वंशाणुगत रोगको जोखिम पहिचान गरिन्छ । सामान्यतया जन्मेको २४ देखि ७२ घण्टाभित्र रगतको नमुना लिएर गरिने यस परीक्षणलाई ‘ब्लड स्पट टेस्ट’ पनि भनिन्छ ।
प्रसूति अस्पतालमा हाल सात प्रकारका रोग तथा अवस्थाको स्क्रिनिङ भइरहेको छ । तीमध्ये जन्मजात थाइराइड हर्मोनको कमी, जी–६–पीडीको कमी, फेनाइलकेटोनुरिया, सिस्टिक फाइब्रोसिस, ग्यालेक्टोसेमिया, जन्मजात एड्रिनल हाइपरप्लासिया र बायोटिनिडेजको कमी रहेका छन् ।
यी रोगले शिशुको शारीरिक तथा मानसिक विकासमा असर पार्न सक्छन् । जन्मजात थाइराइड हर्मोनको कमी हुँदा समयमै उपचार नभए मस्तिष्कको विकास प्रभावित हुन सक्छ । जी–६–पीडीको कमी भएका शिशुमा केही औषधि, संक्रमण वा अन्य कारणले रातो रक्तकोषिका फुट्ने जोखिम हुन्छ ।
त्यस्तै, फेनाइलकेटोनुरिया भएका व्यक्तिको शरीरले फेनाइलएलानाइन नामक एमिनो एसिड प्रशोधन गर्न सक्दैन भने ग्यालेक्टोसेमियामा दूधमा पाइने ग्यालेक्टोज प्रशोधन गर्न समस्या हुन्छ । सिस्टिक फाइब्रोसिसले फोक्सो र पाचन प्रणालीमा असर गर्छ । बायोटिनिडेजको कमी हुँदा शरीरले बायोटिन भिटामिन प्रभावकारी रूपमा प्रयोग गर्न सक्दैन । जन्मजात एड्रिनल हाइपरप्लासियामा एड्रिनल ग्रन्थिबाट हर्मोन उत्पादनमा समस्या हुन्छ ।
यीमध्ये कतिपय रोग भएका शिशु जन्मँदा सामान्य देखिए पनि केही दिनपछि लक्षण देखिन थाल्छन् । समयमै पहिचान र उपचार हुन नसके गम्भीर स्वास्थ्य समस्या, मानसिक विकासमा अवरोध, अपाङ्गता तथा मृत्युको जोखिम हुन सक्छ । त्यसैले लक्षण देखिनुअघि नै परीक्षण गरेर जोखिम पहिचान गर्नुलाई महत्वपूर्ण मानिन्छ ।
नवजात शिशुको मृत्युका प्रमुख कारणमा संक्रमण, जन्मने क्रममा निस्सासिनु, समय नपुगी जन्मनु र कम तौल हुनु रहेका छन् । तर कतिपय अवस्थामा मृत्युको वास्तविक कारण पहिचान गर्न कठिन हुने गरेको छ। केही अवस्थामा मेटाबोलिक रोग पनि मृत्युको कारण हुन सक्ने भएकाले यस्ता रोग पहिचान गर्न विशेष परीक्षण आवश्यक रहेको बताइन्छ ।
विकसित देशमा व्यापक, नेपालमा सीमित
विश्वका विकसित मुलुकमा नवजात शिशु जन्मिएपछि विभिन्न जन्मजात, वंशाणुगत तथा मेटाबोलिक रोगको स्क्रिनिङ गर्ने व्यवस्था छ । देशअनुसार परीक्षण गरिने रोगको सङ्ख्या फरक भए पनि धेरै मुलुकमा रगत परीक्षणसँगै श्रवण र मुटुसम्बन्धी स्क्रिनिङलाई नवजात शिशु स्वास्थ्य सेवाको हिस्सा बनाइएको छ ।
उदाहरणका लागि अमेरिकामा सिफारिस गरिएको मुख्य परीक्षण सूचीमा ३५ प्रकारका रोग तथा अवस्था समावेश छन् । बेलायतमा १० र जर्मनीमा १९ प्रकारका रोगको स्क्रिनिङ गरिन्छ । अन्य मुलुकमा पनि स्वास्थ्य नीति र उपलब्ध प्रविधिअनुसार परीक्षणको दायरा निर्धारण गरिएको छ ।
यस्ता कार्यक्रमले जन्मजात रोग समयमै पहिचान गरी उपचार सुरु गर्न सहयोग पुर्याउँछन् । यसबाट रोगका कारण हुन सक्ने दीर्घकालीन स्वास्थ्य समस्या, अपाङ्गता तथा केही अवस्थामा मृत्युको जोखिम कम गर्न सकिन्छ ।
दिगो विकास लक्ष्य हासिल गर्न पनि स्क्रिनिङ आवश्यक
दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्म नेपालले नवजात शिशु मृत्युदर प्रति एक हजार जीवित जन्ममा १२ मा झार्ने लक्ष्य राखेको छ । हालको मृत्युदर १७ रहेकाले लक्ष्य हासिल गर्न थप प्रयास आवश्यक देखिन्छ ।
नेपालमा नवजात शिशु मृत्युदर घटाउन गर्भावस्थादेखि नै गुणस्तरीय मातृ तथा नवजात स्वास्थ्य सेवा, दक्ष स्वास्थ्यकर्मी, समयमै उपचार र स्वास्थ्य प्रविधिमा पहुँच विस्तार गर्नुपर्ने हुन्छ । त्यससँगै जन्मजात तथा वंशाणुगत रोग पहिचान गर्ने परीक्षणलाई पनि स्वास्थ्य सेवाको नियमित हिस्सा बनाउनुपर्ने विज्ञहरूको जोड छ ।
नवजात शिशु स्क्रिनिङ सामान्य र तुलनात्मक रूपमा छिटो हुने परीक्षण प्रक्रिया भए पनि यसले भविष्यमा देखिन सक्ने गम्भीर स्वास्थ्य समस्याको जोखिम पहिचान गर्न मद्दत गर्छ । परीक्षणबाट जोखिम देखिएका शिशुलाई थप परीक्षण र उपचारको पहुँचमा पुर्याउन सके शारीरिक तथा मानसिक विकासमा हुन सक्ने क्षति न्यूनीकरण गर्न सकिन्छ ।
बालरोग विभागका वरिष्ठ कन्सल्टेन्ट डा. कर्माचार्यका अनुसार सबै नवजात शिशुलाई स्क्रिनिङको पहुँचमा ल्याउन सके जन्मजात विकारका कारण हुने रोकथामयोग्य मृत्यु घटाउन सहयोग पुग्नेछ । त्यसका लागि सेवा अस्पतालमा मात्र सीमित नराखी विस्तार गर्न, पर्याप्त बजेट व्यवस्था गर्न, नमुना सङ्कलन प्रणाली प्रभावकारी बनाउन र अभिभावकमा जनचेतना अभिवृद्धि गर्न आवश्यक छ ।
जन्मेको केही दिनमै गरिने सामान्य परीक्षणले शिशुको जीवनभरको स्वास्थ्यमा महत्वपूर्ण प्रभाव पार्न सक्छ । त्यसैले नवजात शिशु स्क्रिनिङलाई वैकल्पिक परीक्षणका रूपमा मात्र नभई नवजात स्वास्थ्य सुरक्षाको महत्वपूर्ण आधारका रूपमा विकास गर्नु आवश्यक रहेको उनको भनाइ छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया