मुगु। रारा क्षेत्रको जैविक विविधता, वन्यजन्तु तथा प्राकृतिक सम्पदाको संरक्षणमा लामो समयदेखि क्रियाशील मुगुको छायाँनाथ रारा नगरपालिका–९, मुर्माका बिर्खबहादुर रोकाया त्रिभुवन विश्वविद्यालय (त्रिवि) प्राणीशास्त्र केन्द्रीय विभागबाट सम्मानित भएका छन्।
रारा राष्ट्रिय निकुञ्जको संरक्षण, स्थानीय समुदायको जीविकोपार्जन, जनचेतना अभिवृद्धि तथा ग्रामीण विकासमा पुर्याएको योगदानको कदर गर्दै विभागले उनलाई कदरपत्र र दोसल्लासहित सम्मान गरेको हो ।
आज आयोजित विभागको ६१औँ वार्षिकोत्सवमा त्रिविका शिक्षाध्यक्ष प्रा.डा. अञ्जनासिंह र विभागीय प्रमुख प्रा.डा. कुमार सापकोटाले रोकायालाई सम्मान गरेका हुन्।
रोकायालाई प्रदान गरिएको कदरपत्रमा रारा क्षेत्रको प्राकृतिक सौन्दर्य, जैविक विविधता संरक्षणमा उनले देखाएको सक्रियता, लगनशीलता र दीर्घकालीन प्रतिबद्धताको प्रशंसा गरिएको छ । स्थानीयस्तरमा जैविक विविधता संरक्षण र प्रवर्द्धनमा उनले पुर्याएको योगदान अनुकरणीय रहेको उल्लेख छ।
शिक्षाध्यक्ष सिंहले जैविक विविधता संरक्षणमा स्थानीयस्तरबाट योगदान दिने व्यक्तिको भूमिका महत्वपूर्ण हुने बताए। विभागीय प्रमुख सापकोटाले संरक्षणमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिलाई विभागले वार्षिकोत्सवका अवसरमा सम्मान गर्दै आएको जानकारी दिए।
रोकायाले समुदायमा आधारित संरक्षण अभियानलाई निरन्तर रुपमा अगाडि बढाएका छन्। २०६८ देखि २०७३ सम्म रारा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र विकास समितिको अध्यक्ष रहेका उनले वन्यजन्तु तथा वनजङ्गल संरक्षणसँगै स्थानीय बासिन्दाको आयआर्जन वृद्धि, जनचेतना अभिवृद्धि र क्षमता विकासका कार्यक्रम सञ्चालनमा भूमिका निर्वाह गरेका थिए।
प्राकृतिक सम्पदाको संरक्षण स्थानीय समुदायको सक्रिय सहभागिताबिना सम्भव नहुने मान्यता राख्ने रोकायाले संरक्षणका कार्यक्रमसँगै स्थानीयको आर्थिक तथा सामाजिक अवस्था सुधारका लागि पहल गर्दै आएका छन्।
उनको पछिल्लो पहलमध्ये रारा राष्ट्रिय निकुञ्जमा ‘क्यामेरा ट्रयाप’ जडान महत्वपूर्ण उपलब्धिका रूपमा छ । विसं २०८२ मा त्रिवि प्राणीशास्त्र केन्द्रीय विभागसँगको समन्वयमा उनले निकुञ्ज क्षेत्रमा ४२ वटा क्यामेरा ट्रयाप जडान कार्यको अगुवाइ गरेका थिए।
वन्यजन्तुको गतिविधि निगरानी, उपस्थिति पहिचान र संरक्षण रणनीति निर्माणमा सहयोग पुर्याउने उद्देश्यले जडान गरिएका क्यामेरा ट्रयापमा निकुञ्ज क्षेत्रमा पहिलोपटक कालो चितुवा देखिएको थियो । यसले रारा क्षेत्रको जैविक विविधता अध्ययन तथा वन्यजन्तु संरक्षणका थप सम्भावना उजागर गरेको छ ।
रोकायाको योगदान संरक्षणमा मात्र सीमित छैन । मुगुको मुर्मा गाउँ तथा रारा आसपासका बस्तीमा शिक्षा, स्वास्थ्य, खानेपानी र भौतिक पूर्वाधार विकासका क्षेत्रमा उनले काम गर्दै आएका छन्।
मुर्मा सामुदायिक विकास केन्द्रमार्फत गरिबी निवारण कोषसँगको साझेदारीमा रारा तथा खत्याड क्षेत्रका बस्तीमा आयआर्जन र भौतिक पूर्वाधार विकासका कार्यक्रम सञ्चालन गरेका थिए।
स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न हेल्प नेपालसँगको समन्वयमा मुर्मा माझघट्टमा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । उक्त केन्द्रबाट स्थानीय बासिन्दाका साथै रारा भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकले प्राथमिक स्वास्थ्य सेवा प्राप्त गर्दै आएका छन्।
रारा ताल आसपासका ऐतिहासिक तथा पुरातात्विक महत्वको महादेव मन्दिरको संरक्षण र प्रवर्द्धनमा पनि उनी सक्रिय छन्। धार्मिक तथा सांस्कृतिक गतिविधिमार्फत रारा क्षेत्रको पहिचान उजागर गर्ने उद्देश्यले उहाँकै पहलमा २०७६ सालमा रारा धार्मिक सप्ताह कार्यक्रम आयोजना गरिएको थियो।
मुर्माको विकास र स्थानीय नागरिकका समस्या समाधानका लागि रोकायाले पहल गर्दै आएका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया