काठमाडौंः सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीबीच भेटवार्ता भएको छ । अध्यक्ष दाहाललाई भेट्न राजदूत यान्छी सोमबार बिहान दाहालनिवास खुमलटार पुगेकी जनाइएको छ ।
नेकपाभित्र शक्ति संघर्ष बढिरहेका बेला अध्यक्ष दाहाल र राजदूत यान्छीबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । नेकपा विवादकैबीच यसअघि २ मंसिर साँझ राजदूत यान्छीले नेकपाका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्वार्ता गरेकी थिइन्। उनले नेकपा सचिवालय बैठकको अघिल्लो दिन ओलीलाई बालुवाटार पुगेर भेटेकी थिइन्। ।
आजको भेटमा नेपाल–चीन सम्बन्ध र दुई देशका पार्टीबीचको सहकार्यका विषयमा छलफल भएको दाहालको सचिवालयले बताएको छ । भेटमा यान्छीले दाहाललाई चिनियाँ राष्ट्रपछि सी चीनफिङको किताब उपहार दिएकी जनाइएको छ ।
दाहालको सचिवालयका अनुसार चीनबाट हुन लागेको उच्चस्तरीय राजनीतिक भ्रमणका विषयमा पनि उनीहरूबीच कुराकानी भएको हो । चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल वेइ फेङहे यही १४ मंसिरमा नेपाल भ्रमणमा आउने जनाइएको छ ।
गतवर्ष चीनका राष्ट्रपति सी चिनफिङले भ्रमण गरेयता नेपालमा चिनियाँ उच्च अधिकारीको भ्रमण भएको छैन ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया