काठमाण्डौंः भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा कोभिड-१९ महामारीका कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरू सञ्चालनको विषयमा सामुदायिक र संस्थागत विद्यालयहरूका सरोकारवालाहरूसँग छलफल सम्पन्न भएको छ।
सरकारले सुरक्षा मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन गर्न ‘विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७’ सार्वजनिक गरिसकेको अवस्थामा स्थानीय तहले अवस्था हेरेर विद्यालय सञ्चालन गर्न सकिने हुँदा भक्तपुर नगरपालिकाले सरोकारवालाहरूसँग विभिन्न चरणको छलफल अघि बढाएको हो।
जोखिम बढिरहेको वर्तमान अवस्थामा संक्रमणको जोखिमलाई मूल्याङ्कन गरी विद्यालयमा विद्यार्थीहरूको उपस्थितिमा कक्षा सञ्चालन गर्नु थप जोखिम मोल्नुपर्ने आशंका नगर प्रमुख प्रजापतिले व्यक्त गरेका छन्। उनले यसर्थ अनलाइन कक्षालाई नै परिष्कृत ढंगले अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्।
सहभागी शिक्षक संगठनको प्रतिनिधिहरूले कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी विद्यार्थीहरूको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्न हतार नगर्न सुझाव दिएका छन्।
छलफलमा सामुदायिक तथा संस्थागत विद्यालयका प्रतिनिधिहरूले लामो समयदेखि बन्द रहेको विद्यालयहरू सञ्चालन गर्नुपूर्व कक्षाकोठाहरू निर्मलीकरण गर्नुपर्ने, जनस्वास्थ्य सुरक्षाका मापदण्डको पूर्णतः पालना गर्नुपर्ने, वैकल्पिक शिक्षण पद्धतिलाई जोड दिंदै लानुपर्ने, कक्षा अवधिको समय छोट्याउने वा हप्तामा केही दिन वा केही घण्टा गरी कक्षा सञ्चालन गर्ने, अनलाइन कक्षामा सहभागी नभएका विद्यार्थीहरू सामाजिक दूरी कायम गरी विद्यालयमा कक्षा लिन सकिनेलगायतका विकल्पहरू रहेको बताएका छन्।
उनीहरूले विद्यार्थी सङ्ख्यालाई आधार मानेर चरणबद्ध विद्यालय सञ्चालन गर्नेतर्फ ध्यान दिनुपर्ने, शिक्षकहरूलाई प्रविधियुक्त बनाउन आइसीटी तालिमलाई निरन्तरता दिनुपर्ने र विद्यालय सञ्चालन गर्ने विषयमा अभिभावकबीच अन्तरसंवाद गर्नुपर्ने औँल्याएका छन्।
छलफलमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, वडाध्यक्ष प्रेमगोपाल कर्माचार्य, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ, नगर शिक्षा शाखा प्रमुख हरिप्रसाद निरौला, विद्यालयस्तरीय परीक्षा समितिका प्रतिनिधिहरू, संस्थागत विद्यालय संघ (इसान), प्याब्सन र एन.प्याब्सनका प्रतिनिधिहरुको उपस्थिति थियो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया