काठमाण्डौंः प्रदेश नम्बर १ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले विगत नौ वर्षदेखि बिरामी परी थला परेका एक वृद्धको शनिबार उद्धार गरी उपचारको व्यवस्थापन गरेकी छन् ।
उनले आर्थिक अवस्था कमजोर रही बिरामी परेका भोजपुरको षडानन्द नगरपालिका–४ का ७० वर्षीय रामबहादुर राईको उद्धार गरी उपचारका लागि विराटनरस्थित मानवसेवा आश्रममा ल्याएकी हुन् ।
वृद्ध राईको एक मात्र सन्तान छोरा मानसिक रोगी भएका कारण उपचार र पालनपोषणमा समस्या भएपछि दुवै जनालाई उद्धार गरी विराटनगर ल्याइएको छ । राज्यमन्त्री गजमेरले राईको स्वास्थ्य उपचार र रेखदेखको काम सरकारले गर्ने बताउँदै सहयोगापेक्षी तथा सडक आश्रित व्यक्तिको उद्धार तथा पुनःस्थापनाको काम प्रदेश सरकार गर्ने बताइन् ।
सामाजिक विकास मन्त्रालयले मानव सेवा आश्रमसँगको सहकार्यमा सहयोगापेक्षी तथा सडक आश्रितको उद्धार गर्दै आएको छ । राईलाई दुई महिनाअघि स्वास्थ्यमा समस्या भएपछि स्थानीय खार्तम्छा स्वास्थ्यचौकीले स्लाइन पानीलगायत प्राथमिक उपचार गरेको थियो । मानव सेवा आश्रमका प्रदेश संयोजक नवराज केसीले राईको स्वास्थ्य परीक्षणपछि रोगबारे थाहा हुने जानकारी दिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया