काठमाण्डौंः विद्यमान प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशका लागि निर्वाचनको मिति तोकिएसँगै मुलुकमा राजनीतिक धुव्रीकरण र मुठभेडको अवस्था सिर्जना भएको छ ।
सरकारले संसद् विघटन गरी चुनाव घोषणा गरेलगत्तै सत्तारुढ नेकपाको बहुमत पक्ष, प्रमुख प्रतिपक्ष दल कांग्रेस र संसद्मा तेस्रो शक्ति जनता समाजवादी पार्टीले सरकारको कदमविरुद्ध संयुक्त प्रतिवादको निर्णय लिएका छन् । अदालतमार्फत कानुनी प्रक्रिया र सडकमार्फत राजनीतिक दबाब दिने विपक्षी दलहरूको तयारी छ ।
तीन दलको बैठकले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र जनताको पछिल्लो जनादेशको उल्लंघन भएको निष्कर्ष निकालेको छ । संसद् विघटनप्रति संयुक्त रूपमा विरोध गर्ने निर्णय गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । ‘संसद् विघटन गर्ने सिफारिस र राष्ट्रपतिले सदर गर्ने दुवै निर्णय गैरसंवैधानिक, असंवैधानिक र अलोकतान्त्रिक हुन् । त्यसको विरोध गर्ने र विरोधमा एकताबद्ध भएर जाने सहमति भएको छ । सबै उपायद्वारा विरोध गर्ने निर्णय छ,’ बैठकपछि प्रवक्ता श्रेष्ठले भने ।
सरकारको असंवैधानिक कदमविरुद्ध सबै दलबीच सहकार्य गर्दै अघि बढ्ने निष्कर्ष निकालिएको कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए । ‘सरकारले संसद् विघटन गरेर राम्रो नगरेको विषयमा सबै एकमत देखिएका छौँ, यसबारे थप गृहकार्यसहित सोमबारको बैठकमा छलफल गर्ने तयारी भएको छ,’ प्रमुख सचेतक खाणले नयाँ पत्रिकासँग भने । जसपाका नेताहरूले शनिबार पनि कांग्रेस सभापति देउवालाई भेटेर छलफल गरेका थिए ।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको छलफलमा नेकपाका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता श्रेष्ठ, देव गुरुङ र जनार्दन शर्मा सहभागी थिए । यसैगरी कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रमुख सचेतक बालकृष्ण खाण, नेता मीनेन्द्र रिजाल र रमेश लेखक सहभागी थिए । यस्तै, जसपा नेता बाबुराम भट्टराई र राजेन्द्र महतो बैठकमा सहभागी थिए ।
यसैबीच, संसद्मा प्रतिनिधित्व गर्ने सबै दलबीच छलफल गर्न र साझा धारणा बनाउने सहमतिपछि कांग्रेस सभापति देउवाले सोमबार अपराह्न ४ बजेका लागि सानेपास्थित पार्टी कार्यालयमा सर्वदलीय बैठक बोलाएका छन् । नयाँपत्रिका दैनिक
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया