असार २३, २०८२ सोमबार July 7, 2025

७५३ वटै स्थानीय तहबाट कांग्रेसको विरोध : प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेस नेताका आपत्ति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः संसद् विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै विरोधमा उत्रिएका कांग्रेस नेताहरूले प्रधानमन्त्री केपी ओलीको अभिव्यक्ति र कार्यशैलीप्रति गम्भीर आपत्ति जनाएका छन् । शनिबार देशभर भएका कार्यक्रममा कांग्रेस नेताहरूले प्रधानमन्त्री ओलीले न्यायालयलाई प्रभावित पार्ने गरी अभिव्यक्ति दिएकोमा आपत्ति जनाए ।

चितवनको भरतपुर महानगरपालिकामा कांग्रेसले गरेको विरोधसभामा बोल्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले अदालतलाई खुलमखुल्ला दबाब दिइरहेको भन्दै आपत्ति जनाए । ‘अहिले ओलीले यो मेरो राजनीतिक निर्णय हो । संविधानमा अक्षर पढ्न नघोरिनुस्, खारेज गरिदिनुस् भनेर न्यायालयलाई धम्क्याइरहेका छन्,’ पौडेलले प्रश्न गरे, ‘प्रधानमन्त्रीले न्यायालयलाई धम्की दिने ? अनि हामीले संविधान भत्किएको छ, सुधारियोस् भन्दा अदालतलाई धम्की दिएको हुन्छ ?’

सभापति देउवाले अदालतलाई दबाब दिन नहुने भनिरहेकाप्रति कटाक्ष गर्दै पौडेलले भने, ‘आफूअनुकूल फैसला नआउँदा न्यायाधीशलाई महाअभियोग लगाउन तम्सिनेहरू अदालतलाई दबाब दिन हुँदैन भनिरहेका छन् । म त्यस्तो दोहोरो चरित्रको कुरा गर्दिनँ, म त्यस्तो मान्छे होइन । अदालतले सरकारको निर्णय सदर ग¥यो भने प्रश्न गर्छु– न्याय छ कि छैन ?’

पौडेलले ओलीले प्रतिनिधिसभाको विघटन सांसदहरूलाई सडकमा ल्याउन मात्र नगरेको बताए । ‘यो विघटनले सांसदको पद मात्रै सकिएको छैन, नेपालको इतिहासको, संविधानको, लोकतन्त्रको र जनताको अपमान गरेको छ । यो लोकतन्त्रविरोधी मात्रै होइन, राष्ट्रवादको समेत खिलापमा छ,’ उनले भने, ‘यो सामान्य कुरा होइन, एउटा प्रतिनिधिसभा गयो, अब अर्को आउँछ भनेर चित्त बुझाउने कुरा होइन, यो त सिंगो राष्ट्रको विरुद्धको घटना हो ।’

पौडेलले प्रतिनिधिसभा पुनस्र्थापना भए पनि कांग्रेसलाई नै फाइदा हुने बताए । ‘संसद् पुनस्र्थापना हुँदा पनि हामीलाई नै फाइदा हुन्छ, हामी निर्णायक भूमिकामै छौँ,’ देउवा चुनावतिर लचिलो भएकाप्रति लक्षित गर्दै पौडेलले भने, ‘तालुमा आलु फले तपाईं फेरि प्रधानमन्त्री हुन सक्नुहुन्छ, किन चुनाव, चुनाव भनिरहनुभएको छ ?’

उनले सत्ताका लागि मात्रै कांग्रेसले राजनीति नगरेको भन्दै लोभलालचमा मात्रै फस्न नहुने बताए । ‘चुनाव आइहाल्यो भनेर कांग्रेस दौडिएर जाने कुरा होइन, लोकतन्त्रको जिम्मेवारी काँधमा बोकेको पार्टी हो, हामीले पहिले लोकतन्त्र जोगाउँछौँ,’ उनले भने, ‘पञ्चायतमा पनि चुनाव भएकै हो । यो संविधान जोगाएर संविधानमा टेकेर मात्रै चुनावको कुरा गर्नुपर्छ ।’

काठमाडौंको कागेश्वरी नगरपालिका र ललितपुर महानगरपालिकामा भएको सभामा बोल्दै सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकार कामचलाउ भइसकेको बताए । ‘यो सरकार कामचलाउ भइसक्यो, अब यो सरकारले जथाभावी नियुक्ति र बजेट बाँड्न पाउँदैन, यसले कामचलाउकै हैसियतमा काम गर्नुपर्छ,’ महतले भने । डा. महतले सर्वोच्च अदालतको निर्णयपछि कांग्रेसले सबै ध्यान चुनावमा लगाउने बताए । ‘अहिले संसद् पुनस्र्थापना नभए, चुनाव पनि हुँदैन कि भन्ने शंका छ । वैशाखमा निर्वाचन हुनैपर्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन हुनैपर्छ । यदि वैशाखमा चुनाव भएन भने देशभरि आन्दोलनको आँधीबेहेरी आउँछ,’ उनले भने, ‘त्यसपछि यो सरकार ढल्छ ।’ सहमहामन्त्री डा. महतले ओलीले देशलाई अराजकताको बाटोमा लान खोजेमा वा निर्वाचन सुनिश्चित नहुने अवस्था भएमा कांग्रेसले आन्दोलनको नेतृत्व गर्ने बताए ।  नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया