काठमाण्डौंः राजविराजमा आज भएको देवसुन्दर स्मृति प्रथम राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा सप्तरीका १६ वर्षीया सरिता यादव र कञ्चनपुरका १९ वर्षीय अशोकसिंह भण्डारीले नवप्रतिभाशाली खेलाडीका रुपमा पुरस्कार प्राप्त गरेका छन् ।
राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा महिलातर्फ यादव र पुरुषतर्फ भण्डारीले आफ्नो तौल समूहमा स्वर्ण पदक प्राप्त गर्नुका साथै नव प्रतिभाशाली खेलाडी घोषित भएका हुन् । उनीहरुले स्वर्ण पदक वापत मेडल र प्रमाणपत्र तथा नव प्रतिभाशाली खेलाडी वापत कप र पाँच हजार नगद प्राप्त गरे ।
नव प्रतिभाशाली खेलाडी सरिताले प्रतियोगिताको महिला ५९ केजी तौल समूहमा जुनियरतर्फ स्न्याचमा ५० किलो र क्लिन एण्ड जर्कमा ६० किलो तौल उचालेर कूलमा ११० किलो भार बहन गरिन् । सो समूहमा स्न्याचतर्फ ४० र क्लिन एण्ड जर्कतर्फ ५० गरी कूलमा ९० किलो भार बहन गरी द्वितीय भएकी बर्दियाकी ललिता हेमरान युवातर्फ प्रथम भए ।
नवप्रतिभाशाली पुरुष खेलाडी कञ्चनपुरका भण्डारीले पुरुषको ६७ किलो तौल समूहमा स्न्याचतर्फ ७६ किलो र क्लिन एण्ड जर्कमा १०२ गरी कूलमा १७८ किलो भार बहन गरे । सो समूहमा बाँकेका तुषार बुढामगरले स्न्याचमा ६७ र क्लिन एण्ड जर्कमा ९० किलो गरी कूलमा १५७ किलो भार बहन गरेर रजत पदक प्राप्त गरे। पर्साका नीरजकुमार गुप्ताले स्न्याचमा ७० र क्लिन एण्ड जर्कमा ८० गरी कूलमा १५० किलो उचालेर तृतीय भए । राजविराजमा भएको राष्ट्रिय प्रतियोगितामा विभागीय तीनै टोलीका साथ २० जिल्लाका ४७ महिला र ७३ पुरुष गरी १२० खेलाडी सहभागी छन् ।
यसअघि गएराति नेपाल पुलिस क्लबकी तारादेवी पुन र कञ्चनपुरका सुवास उपाध्याय राजविराजमा भएको देवसुन्दर यादव प्रथम स्मृति राष्ट्रिय भारोत्तोलन प्रतियोगिताको स्ट्रङगेस्ट खेलाडी घोषित भएका छन् । तारा महिला र सुवास पुरुषतर्फ सो विधामा चुनिनु भएको हो । दुवैले कपसहित पाँच हजार रुपैयाँ पुरस्कार पाए ।
राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक विजेता पुनले स्न्याचमा ६७ं किलो र क्लिन एण्ड जर्कमा ९० किलो तौल उचाले । सिनियर महिलातर्फ ८७ किलोग्राम तौल समूहमा कूल १५७ किलो तौल उचालेर प्रथम भएकी पुन प्रतियोगिताको स्ट्रोड्ग वुमेनसमेत घोषित भएकी हुन्। कञ्चनपुरका सुवास उपाध्यायले स्न्याचमा ११४ं किलो र क्लिन एण्ड जर्कमा १३५ किलो गरी कूल २४९ किलो तौल उचाले । पुरुषको सिनियरतर्फ १०९ किलो तौल समूहमा स्वर्ण पदक जितेका सुवास पुरुषतर्फ स्ट्रोड्ग म्यान घोषित भए।
सो तौल समूहमा बारामा आसिफ हुसेनले स्न्याचमा १०७ र क्लीन एण्ड जर्कमा १२० गरी कूल २२७ किलो तौल उचालेर रजत पदक प्राप्त गर्नुभयो । बर्दियाका रोशन विसीले स्न्याचमा ७० र क्लीन एण्ड जर्कमा १०५ गरी कूल १७५ किलो तौल उचालेर कास्य पदक प्राप्त गरे ।
पुरुषको १०२ किलो तौलसमूहमा नेपाल प्रहरीका सागर भण्डारीले कूल २२२ किलो उचालेर प्रथम भए । सशस्त्र प्रहरीका रणबहादुर नगरकोटीले कूल २१६ किलो उचालेर द्वितीय तथा नेपाली सेनाका विकास खड्काले कूल २०५ किलो उचालेर तृतीय भए । पुरुषको सिनियरतर्फ १०९ किलो भन्दामाथिको समूहमा नेपाल प्रहरीकै राजेश महर्जनले स्वर्ण प्राप्त गरे । उन स्न्याचमा १०७ र क्लिन एण्ड जर्कमा ११५ गरी कूल २२२ किलो तौल उचाले । राजविराजमा भएको राष्ट्रिय प्रतियोगितामा विभागीय तीनै टोलीका साथ २० जिल्लाका ४७ महिलासहित १२० खेलाडी सहभागी छन् । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया