काठमाडौंः सरकारले राजस्व छलीविरुद्ध आक्रामक रूपमा अघि बढेको दाबी गरिरहे पनि भन्सार प्रतिनिधिको मिलिमतोमा १ करोड १३ लाख रुपैयाँभन्दा बढी राजस्वमा ठगी गरेको फेला परेको छ ।
राजस्व अनुसन्धान विभागले गरेको एउटा मुद्दाको अध्ययनमा यतिधेरै राजस्व छलेर ठगी गर्नेमा भन्सार प्रतिनिधिकै मिलेमतो देखिएको हो । निकै गहन एवं सूक्ष्म अनुसन्धानपछि काठमाडौंको जयपशुपति इम्पेक्सका प्रोप्राइटर रेखादेवी दाससमेत पाँच जनाले भन्सार प्रतिनिधि सुरेन्द्रबहादुर श्रेष्ठको मिलेमतोमा १ करोड १३ लाख ५ हजार ५ सय १४ रुपैयाँ राजस्व छली गरेको पत्ता लगाइएको राजस्व अनुसन्धान विभागले जनाएको छ । अहिले उनीहरूविरुद्ध भन्सार छली राजस्व चुहावट गरेको अभियोगमा उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।
राजस्व अनुसन्धान विभागका अनुसार धनुषाको देवपुरा रुपैठा स्थायी घर भई हाल काठमाडौंको बांगेमुढा बस्ने जयपशुपति इम्पेक्सका प्रोप्राइटर दाससहित विभिन्न पाँच जनाविरुद्ध १ करोड १३ लाख ५ हजार ५ सय १४ रुपैयाँ बिगो, जरिमाना र कैद सजाय माग दाबीसहित मुद्दा दायर गरिएको छ । यस फर्मका प्रोप्राइटर दास र भन्सार प्रतिनिधि श्रेष्ठको मिलिमतोमा भारतीय ट्रकमा सिसाको खाली बोतलमा पोते लोड गरी ल्याउने गरेको अनुसन्धानबाट खुल्न आएको विभागले जनाएको छ । राजधानी दैनिक
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया