काठमाडौं: अन्तर्राष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘के वान सुपर वेल्टरवेट सुपर फाइट’ प्रतियोगितामा भिड्ने भएका छन् । आगामी साउन १७ गते शनिवार जापानको फुकुओका शहरमा आयोजना हुने सो प्रतियोगितामा उनी जापानका व्यवसायिक किक बक्सर हिरोमी वाजिमासँग रिङ्मा उत्रदैछन् । वाजिमा पनि के वान के बक्सिङ् प्रतिष्पर्धामा भिडन्त गरिसकेका अनुभवी खेलाडी छन् ।
आज सामाजिक सञ्चालमा के वान क्लवले ‘के वान सुपर वेल्टरवेट सुपर फाइट’ प्रतियोगितामा बक्सरद्वय घिमिरे र वाजिमा बीचमा भिडन्त हुने जनाएको छ । ‘हिमालयन चितुवा उपाधि’ले विश्व प्रसिद्ध घिमिरेले गत चैतमा जापानको टोकियो शहरमा सम्पन्न ‘के वान फेस्टिवल २०२१ ’ प्रतियोगिताको उपाधि चुम्ने कम उमेरका पहिलो नेपाली बक्सर बन्ने सौभाग्य प्राप्त गरेका थिए । उनले जापानी व्यवसायिक बक्सर खोतेचुलाई पहिलो राउण्डमा नै ढालेर नयाँ इतिहास कायम गरेका थिए । यसैगरी घिमिरेले गत वर्ष नै ‘प्रोफेसनल किक बक्सिङ हिट ४८’ मा जापानी खेलाडी योसिदा यइजी माथि सहज जित हात पारेका थिए ।
अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी एवं प्रशिक्षक देवकुमार घिमिरेका सुपुत्र अविरलले कोरोना कहरमा बीचमा सो प्रतियागिताका लागि पिताकै विशेष प्रशिक्षणमा तयारी थालेको जनाइएको छ । उनले आज सामाजिक सञ्जाल मार्फत् प्रतियोगिताको आवश्यक तयारी शुरुआत भएको जनाएका छन् । प्रशिक्षक देवले पनि सामाजिक सञ्जालमा भनेका छन् “ युवा बक्सर अविरलले पछिल्लो समय बक्सिङ्मा नयाँ उचाइ हासिल गरेका छन् । के वान सुपर वेल्टरवेट सुपर फाइट’ चुम्नेमा म विश्वस्त छु । यो प्रतियोगितमा छनौट हुुनु आफैमा प्रतिष्ठाको विषय हो । ” के वान बक्सिङ प्रतियोगितामा विश्वका चर्चित बक्सरलाई मात्र रिङभित्र उतारिने गरिन्छ । रोमाञ्जकारी भिडन्त हेर्ने अग्रीम टिकट लिनुपर्छ ।
सानो उमेरमा उँचो सफलता
सानो उमेरमा बक्सिङमा ऐतिहासिक सफलता हात पार्दै आएका अविरलले प्रतिष्ठित ‘के वन किक बक्सिङ अन्तर्राष्ट्रिय प्रतियोगिता २०२०’ मा दोस्रो स्थान प्राप्त गर्न सफल भएका थिए। नेपालकोतर्फबाट कम उमेरमा सो प्रतियोगितामा भाग लिने पहिलो ‘बक्सर’ समेत भएका थिए । एक्काइस वर्षीय उनले बाज्रिलियन खेलाडी फिलिपसँग सो प्रतियोगितामा प्राविधिक कारणले मात्र पराजित हुनुपरेको थियो । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा निवासी उनीहरु विगत पाँच वर्षदेखि जापानको नागोया शहरमा बस्दै आएका छन् ।
प्छिल्लो समय उनले कम उमेरमा अन्तर्राष्ट्रिय किक बक्सिङ प्रतियोगितामा खेल्ने पहिलो नेपाली युवा बन्ने सौभाग्यसमेत पाएका छन् । केवानका बक्सिङ् प्रतियोगितालाई जापानसहित अन्तर्राष्ट्रिय खेल क्षेत्रले उच्च महत्वका साथ हेर्ने बताइएको छ ।
वेष्टर्न युनाइटेड क्लबका अध्यक्ष रामनारायण घिमिरेले दिएको जानकारीअनुसार अविरलले खेलेका अधिकांश व्यावसायिक किक बक्सिङमा भिडन्तमा सर्वप्रथम भई विश्व कीर्तिमान कायम गर्न सफल भएका छन् । उनले गत वर्ष नै टोकियोको नागोयामा सम्पन्न हिट ४६ किक बक्सिङको टाइटल जित्न सफल भएका थिए । रोमाञ्जकारी सो भिडन्तमा उनले जापानी च्याम्पियन मुकेवासलाई पहिलो राउण्डमै मुक्का प्रहार गरी मैदानमा ढालेर टाइटल उपाधि जित्ने कान्छा बक्सर बनेका थिए ।
उनले हालसम्म हिट –२४ किक बक्सिङ खेलको मिडिल वेटको दुई पटक च्याम्पियन तथा हालसम्म विभिन्न खेलमा अपराजित यात्रा गर्ने क्रममा नौ खेलमा नकआउट गर्दै विजय हासिल गरिसकेका र तीमध्ये नौ अन्तर्राष्ट्रिय खेलका आठ खेलमा सर्वप्रथम भई विश्वकीर्तिमान कायम गर्न सफल भएका गुर्जुराधास्थित अन्तर्राष्ट्रियस्तरको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरका अध्यक्ष राजेश घिमिरे जानकारी दिए ।अविरलले नियमितरुपमा सिमुरा डोजोमा प्रशिक्षण लिँदै आएको उनले जानकारी दिए । “अविरलसँग अद्भूत, अदम्य साहस, जोश र लगनशीलता छ । उ राष्ट्रिय प्रतिभा हो । सम्मान गरौँ । ” उनले भने । -रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया