बैसाख १५, २०८३ मंगलबार April 28, 2026

भ्रष्टाचार हुन दिन्नँ र भ्रष्टाचार गर्दिनँ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको उत्तर के ? -डा. प्रकाशचन्द्र लोहनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ओली सरकारले भ्रष्टाचारप्रति कठोर रहने प्रतिबद्धता बारम्बार दोहोर्‍याउँदै आएको छ । यथार्थ हेर्दा, नीतिगत र संरचनागत भ्रष्टाचार सरकारको प्रमुख चरित्र हुँदै गएको छ भने, संवैधानिक सन्तुलन र नियन्त्रणको अवधारणा अनुरूप खडा गरिएका राज्यका इकाइहरू भ्रष्टाचारका विषयमा निरीह र अप्रासङ्गिक साबित हुँदै गएका छन् । नेपाली राज्य व्यवस्थाले अब दलाल नवसामन्तवादमा अडेको ‘समाजवाद–उन्मुख’ चरित्रलाई आत्मसात् गरेको प्रस्ट भइसकेको छ ।

समाजवादी लुट

भ्रष्टाचार अर्थात् राज्यका नीति र स्रोतसाधन केही भुइँफुट्टा वर्गको हितमा प्रयोग हुने मान्यता र संस्कारमाथि नियन्त्रण गर्न संविधानमा व्यवस्था नभएको होइन । यसका लागि महालेखा परीक्षकदेखि संसदका विभिन्न समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सतर्कता केन्द्र, सम्पत्ति शुद्धीकरण जस्ता इकाइहरू कार्यरत छन् । संविधान लागू भएपछि यस्ता इकाइहरूको सबलता र सक्षमता वृद्धि हुने र कार्यकारीलाई भ्रष्टाचारसँग जुध्न टेवा पुग्ने आशा गरिएको थियो । तर, नतिजा ठीक उल्टो देखिन थालेको छ । पदीय भागबन्डा, दुईतिहाइको तरबार र कार्यकारी शक्तिको गैरकानुनी प्रयोग गर्ने प्रवृत्तिले देशलाई ‘समाजवादी भ्रष्टाचार’ को नयाँ उचाइमा पुर्‍याएको छ । दुःखसाथ भन्नुपर्छ, यसको नेतृत्व ओली सरकारले गरेको छ ।

बढ्दो भ्रष्टाचारविरुद्ध जनस्तरमा आवाज उठिरहेकै छ । सामाजिक सञ्जालमा यसबारे आक्रोश व्याप्त छ । सबैजसो मिडिया समाजवादका नाममा बढ्दो नवसामन्तवाद र यसमा निहित भ्रष्टाचार अनि लुटविरुद्ध मुखर हुँदै आएका छन् । जनताको आवाज उठाउने क्षमतामा कानुनतः रोक लगाउने र पत्रकारिता जगत्मा प्रतिबन्ध लगाउने प्रयास जारी छ । यी सबैको नतिजास्वरूप जनतामा आक्रोश बढ्ने र अन्ततोगत्वा अराजकता व्याप्त भई राज्य-जनता सम्बन्ध टुट्ने स्पष्ट छ ।

तीन तत्त्वको संयोजन

लुट र भ्रष्टाचार व्यापक हुन तीन तत्त्वको आवश्यकता हुन्छ । पहिलो, सत्तामा बस्नेहरूमा आफूहरूले गर्ने भ्रष्टाचारविरुद्ध राज्यको कुनै पनि अङ्गले प्रभावकारी चुनौती दिन सक्दैन भन्ने धारणा बढेर जान्छ । नेपालमा यो यथार्थ जताततै देखा परेको छ । आजको नेपालमा महालेखा परीक्षक कार्यालयले के लेखेको छ, त्यसबारे सत्ताधारीहरूलाई अलिकति पनि डर छैन । संसदीय समितिले भ्रष्टाचार भएको प्रतिवेदन बुझाए पनि त्यसको कुनै असर छैन ।

जहाँसम्म अख्तियारको कुरो छ, दुईतिहाइमा निहित महाभियोगको डरले गर्दा यसले एउटा निश्चित तहभन्दा माथि जाने आँट गर्नै सक्दैन । स्वभावतः कार्यकारीलाई आफ्नो लुटमा कसैले औंलो ठड्याउला भन्ने डर हराएको छ । स्वयम् सत्तापक्षकै नेताहरू नेपालमा भ्रष्टाचार नभएको कहाँ छ भनी बिलौना गर्छन् र दलाल पुँजीवादको चर्को विरोध गर्छन् । तर यससँग जुध्ने साहस राख्दैनन् ।

दोस्रो, शासकहरूमा आफूमाथि कथंकदाचित् भ्रष्टाचारको आरोप लागिहाले पनि त्यसलाई मुद्दाका रूपमा अघि बढ्न नदिने र रोक्न नसकिए तथ्यलाई कमजोर बनाउन सकिने विश्वास बढेर गएको छ । आफ्नै निगाहमा बाँच्नुपर्ने विभिन्न इकाइका पदाधिकारीहरू स्वतन्त्र रूपमा काम गर्ने आँट देखाउन असमर्थ छन् या केवल औपचारिकता मात्र पूरा गर्छन् भन्ने विश्वासले जग हालिसकेको छ ।

तेस्रो, कार्यकारीको माथिल्लो तहबाट हुने नीतिगत र संरचनागत भ्रष्टाचार कथंकदाचित् अदालत पुगे त्यहाँ पनि पहुँच कायम हुन सक्छ भन्ने विश्वास बढ्दो छ ।

माथि उल्लिखित तीनै तत्त्वको संयोजन लुट र भ्रष्टाचारका पक्षमा गरिएको छ । त्यसैले भ्रष्टाचारविरोधी भाषण नेपालको प्रजातन्त्र, समाजवाद–उन्मुख संविधान र आम नेपालीप्रति भद्दा मजाकका रूपमा देखा परेको छ । यसबारे हालसालै राष्ट्रिय छापामा प्रमुखता पाएका दुइटा उदाहरण हेरौं ।

उदाहरण १: वाइड बडी काण्ड

नेपाल वायुसेवा निगमले दुई जहाज किन्दा ५ अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको यथार्थ संसदीय समितिले जनतासमक्ष पेस गर्‍यो । संसदीय समितिले यति ठूलो आरोप लगाएपछि अनुसन्धान गर्न अख्तियारलाई कुनै समस्या थिएन । एउटा बेनामी उजुरीमा अख्तियारले अनुसन्धान गर्न सक्छ भने संसदीय समितिको लिखित प्रतिवेदनभन्दा ठूलो आधार के चाहियो ? तर अनुसन्धान अगाडि बढेको छैन र बढ्दैन पनि । किनभने माथिल्ला तहका नेताहरूको स्वार्थ भएको ‘केस’ मा हाम्रा संवैधानिक अङ्ग निरीह बन्छन् । उल्टो, सरकारले यसबारे छानबिन गर्न समिति घोषणा गरी अध्यक्षको नामसमेत प्रकाशित गर्‍यो । तर समिति अध्यक्षले नियुक्तिपत्र कहिल्यै पाएनन् र तीन महिनामा अनुसन्धान गरेर प्रतिवेदन पेस गर्ने भनिएको समिति अहिले ६ महिनाभन्दा बढी समय गुज्रिँदा पनि गठनसम्म भएको छैन ।

अनुसन्धान समिति बनाउने नाटक त त्यस बखत जनतामा परेको नकारात्मक प्रभावलाई व्यवस्थापन गर्ने षड्यन्त्र मात्र रहेछ, भ्रष्टाचारलाई बचाउने खेल मात्र रहेछ । अब प्रश्न आउँछ, संसदीय समितिले आरोप लगाएको भ्रष्टाचारबाट को लाभान्वित भए ? भ्रष्टाचार हुन दिन्नँ र भ्रष्टाचार गर्दिनँ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको उत्तर के ? भ्रष्टाचार हुन दिन्नँ भन्ने उद्गारको अर्थ अब जनताले के लगाउने ? उत्तर प्रमुख प्रतिपक्षले पनि दिनुपर्ने हो । तर भ्रष्टाचारको मुद्दामा प्रमुख प्रतिपक्षको मौनता आफैमा विडम्बनापूर्ण छ । उसको निरीहता आश्चर्यजनक छ । प्रमुख प्रतिपक्षमा एक–दुई युवाबाहेक अरू देशमा संस्थागत हुँदै गएको समाजवादी लुटबारे एक शब्द उच्चारण गर्न पनि डराउन थालेका छन् ।

उदाहरण २ : गोकर्ण रिसोर्ट काण्ड

कान्तिपुरसहित अन्य राष्ट्रिय छापाले वर्तमान सरकारको समाजवादी लुट कुन उचाइमा पुग्दै छ भनी केही दिनअघि झन् टड्कारो रूपमा देखाइदिए । यो घटनामा कुन कम्पनी संलग्न छ भन्ने बुँदा महत्त्वपूर्ण होइनÙ मूल कुरा सत्तामा बस्ने उच्च तहका नवसामन्तहरूसँग साँठगाँठ भएको यति नामको एउटा व्यापारी संस्थाले राज्यलाई आफ्नो स्वार्थका लागि खेलौना बनाएको छ । यो लुट अभियानमा साथ दिन सरकारले नीतिगत भ्रष्टाचारको निकृष्ट उदाहरण पेस गरेको छ, यसरी :

१. राजा वीरेन्द्रको सम्पत्ति, नेपाल ट्रस्ट, मध्यम नेपालीको स्वास्थ्य, शिक्षा तथा यस्तै आम जनताको हितमा लगाउने उद्देश्यमा परिवर्तन गरी सरकारले निजी नाफामुखी क्षेत्र यति कम्पनीको पक्षमा कानुन संशोधन गर्‍यो । समाजवाद–उन्मुख संविधानको निकृष्ट प्रदर्शन थियो यो ।

२. नेपाल ट्रस्टको सम्पत्ति ट्रस्टको लक्ष्य अनुरूप सञ्चालन गर्न गृहमन्त्रीको अध्यक्षतामा सात सचिव सम्मिलित समिति थियो । यो समितिबाट निजी कम्पनीलाई गोकर्णको झन्डै ३ हजार रोपनी जमिन दिलाउन असफल भएपछि ती सबै सचिव र अध्यक्ष, मन्त्री पनि कानुन संशोधनबाट हटाइए । तिनको ठाउँमा नयाँ सञ्चालक समिति सदस्यका रूपमा ठेक्का पाउने निजी कम्पनीसम्बद्ध कर्मचारीलाई नियुक्त गरियो । जसले भाडामा लिने हो, त्यसबारे निर्णय गर्न भाडामा लिने कम्पनीकै मानिस निर्णयकर्ता हुनेभन्दा ठूलो नीतिगत भ्रष्टाचार के हुन्छ ? यो प्रश्न प्रधानमन्त्रीले आफैलाई कहिले सोध्ने ?

३. यति कम्पनीसँग जोडिएका नयाँ सदस्यको कथा झन् रोचक छ । यति कम्पनीसँग जोडिएको अर्को कम्पनीले पर्यटकलाई बिरामी बनाएर पैसा असुलेकाले यस्ता कम्पनीलाई कारबाही गर्नुपर्ने सरकारी प्रतिवेदन छ । यो लुटको घटनाका कारण नेपालको पर्यटनले ठूलो बदनामी कमाएको छ । यो अमानवीय अपराध गर्ने संस्थाविरुद्ध ओली सरकार मौन छ ।

छानबिनबाट कारबाही गर्नुपर्ने भनी लेखिएको संस्था अनि त्यससँग जोडिएका व्यक्ति र कम्पनीलाई नेपाल ट्रस्टको ३ हजार रोपनी जग्गा दिने निर्णय इमानदारी हो कि ठाडो भ्रष्टाचार ? यो प्रश्नको जवाफ प्रधानमन्त्री या उपप्रधानमन्त्रीमध्ये कसले दिने ? के बहुमतको आडमा देशलाई लुट्न हामीले ‘समाजवाद–उन्मुख’ संविधान बनाएका हौं ? सत्ताधारीको अर्बौं कमाउने आकांक्षा पूरा गर्न गरिब किसान र मजदुरहरूले भ्रष्टाचार र लुटको बोझ कति सहने ?

४. अझ आश्चर्यको कुरो के छ भने, यति कम्पनीले भाडामा लिएको जमिनको म्याद सकिन ६ वर्ष बाँकी छँदै कानुन बदलेर यतिको व्यापार र पर्यटक ठग्ने धन्दासँगजोडिएको व्यक्तिलाई सञ्चालक समितिमा ल्याउने, ट्रस्टको उद्देश्यलाई लात हान्ने र सरकारका सबै सचिवलाई हटाउनुपर्ने औचित्य के ? प्रधानमन्त्रीजी, यो कसको स्वार्थका लागि गरिएको हो ?

५. यी सबै घटनाक्रममा गृहमन्त्री रामबहादुर थापालाई हटाएर ईश्वर पोखरेललाई ल्याउनु अर्को रोचक पक्ष छ । यसको एउटै अर्थ हुन्छ— गृहमन्त्री थापाले यो भ्रष्टाचारमा साथ दिएनन् । उनलाई हटाउन सरकारले कानुन संशोधन गर्‍यो । यो भ्रष्टाचारका अगाडि निमित्त नायक भएर बस्न पोखरेलजी राजी हुनुभएछ । एउटा सम्भावना बोकेको व्यक्तित्वको चीरहरण भएको छ ।

अन्त्यमा, माथि उल्लिखित दुई घटना उदाहरण मात्र हुन् । बहुमतको आडमा राज्यका सबै अंगलाई पङ्गु बनाएर देशको सम्पत्ति सरकारमा बस्नेहरूको, सामन्त युगमा झैं, बिर्तामा रूपान्तरण गर्ने प्रयासले थोरै समयका लागि आजका ठालुहरूलाई सर्वशक्तिमान भएको सन्तोष त देला, तर यो राष्ट्रका लागि महँगो हुनेछ । पानी बाफ हुन केही समय लाग्छ; जनताका नाममा जनता ठग्नेहरूको इतिहास राम्रो छैन । कान्तिपुर दैनिकबाट ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
युरोपेली युनियनको नविन प्रतिवन्दको प्रतिक्रीयामा रूसद्वारा ईयु अधिकारीलाई रूसी क्षेत्र प्रवेश प्रति वन्द जारी
२०८३ बैसाख १५, मंगलबार
संसद् स्थगित गर्दै अध्यादेश सिफारिस गर्ने सरकारी कदमप्रति कांग्रेसको आपत्ति
२०८३ बैसाख १५, मंगलबार
फेसबुक मोनिटाइजेसनमा नेपालीलाई सशक्त बनाउँदै एमडिआर टिम
२०८३ बैसाख १५, मंगलबार
कानुन विपरीतका सवारी साधन फिर्ता लिने प्रक्रिया सुरु
२०८३ बैसाख १५, मंगलबार
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
२०८३ बैसाख १५, मंगलबार
कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस
२०८३ बैसाख १५, मंगलबार
गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल
२०८३ बैसाख १५, मंगलबार