असार २६, २०८२ बिहिबार July 10, 2025

आइटिएफ वल्र्ड टेनिस: महिला एकलतर्फ सलोनी तामाङलाई उपाधि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ‘आइटिएफ गल्र्स÷ब्वाइज यू–१८ वल्र्ड ¥याङकिङ टेनिस टुर जे–५ सर्किट–२’ अन्तर्गत महिला एकलतर्फ नेपालका सलोनी तामाङले उपाधि जित्नुभएको छ ।

पोखरा रङ्गशालास्थित टेनिस कम्प्लेक्समा आज सम्पन्न फाइनलमा नेपालकै सर्भानी श्रेष्ठलाई टाइब्रेकरमा पराजित गर्दै तामाङले उपाधि हासिल गर्नुभयो । खेलको पहिलो सेट ६–४ अङ्कले आफ्नो पक्षमा पार्नुभएका तामाङले दोस्रो सेट ४–६ अङ्कले गुमाउनुभएकामा अन्तिम तथा फाइनल सेट ६–१ अङ्कले आफ्नो पक्षमा पार्न सफल हुनुभयो ।

तामाङले गत साता सम्पन्न सकिर्ट–१ को उपाधिसमेत जित्नुभएको थियो । पुरुष एकलतर्फको उपाधि हङ्गेरीका लोरान्ट ग्योरीले हासिल गर्नुभयो । स्वीडेनका इमिलियो जियलकोस्कीलाई ६–३ र ७–५ अङ्कले पराजित गर्दै उहाँले उपाधि जित्न सफल हुनुभएको हो । पुरुष ‘डबल्स’को उपाधि भने भारतका कविर र दक्षप्रसादको जोडीले अमेरिकाका सिद्धार्थ लामा र मिथ्रे ब्यारेटको जोडीलाई पराजित गर्दै उपाधि चुम्न सफल हुनुभयो ।

महिला ‘डबल्स’को उपाधि भने भारतका नियती कुक्रेती र हाना नागपालको जोडीले जितेको छ । उहाँहरुको जोडीले आफ्नै देशको रिया दुगर र तनुश्री पाण्डेको जोडीलाई पराजित गरेको थियो ।

विजेता खेलाडीलाई गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङ, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बानियाँ, पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदार, नेपाल टेनिस सङ्घका केन्द्रीय अध्यक्ष ज्योति राणालगायतले मेडल र प्रमाणपत्र पुरस्कार वितरण गर्नुभएको थियो ।

समापन समारोहमा टेनिसको विकासमा महत्वपूर्ण योगदान गर्ने हेमबहादुर लामालाई सम्मान गरिएको कास्की जिल्ला टेनिस सङ्घका अध्यक्ष नवीन श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्ला टेनिस सङ्घको आयोजनामा भएको प्रतियोगितामा नेपालसहित १० देशका ८८ खेलाडीको सहभागिता थियो । अन्तर्राष्ट्रिय टेनिस महासङ्घ (आइटिएफ)सँगको सहकार्यमा प्रतियोगिता गरिएको हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया