काठमाण्डौंः उच्च अदालत पोखराले अभिनेता पल शाहलाई थुनामै राख्ने जिल्ला अदालत तनहुँ र नवलपारसी (पूर्व)को आदेशलाई सदर गरेको छ।
बिहीबार न्यायाधीशद्वय उज्जवल शुक्ल र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले नाबालगिक बलात्कार अभियोगमा शाहलाई थुनामै राख्न आदेश दिएको हो।
नाबालिगले जबरजस्तीकरणीमा तनहुँ प्रहरीमा जाहेरी दिएपछि अभियुक्त शाहले फागुन १५ गते प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए। मुद्दाको थुनछेक बहसमा जिल्ला अदालत तनुहुँले १० चैतमा र जिल्ला अदालत नवलपरासी (पूर्व)ले २३ चैतमा पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको थियो।
विवाहको प्रलोभन देखाएर जबरजस्ती करणी गरेको, मध्यरातमा पीडितको कोठामा गएको स्वीकार गरेको र गर्भवती भएमात्र स्वीकार्छु भन्ने पीडकको अडियोलाई आधार मानेर अदालतले अभियोग पुष्टि हुने थुप्रै आधार देखिएको भन्दै शाहलाई थुनामै राखेर अनुसन्धान अगाडि बढाउन आदेश गरेको थियो। त्यसविरुद्ध शाहका वकिलले उच्च अदालत पोखरामा निवेदन दिएका थिए।
यसबीचमा पीडितले बयान फेरेकी थिइन्। उनले पीडकले जबरजस्तीकरणी नगरेको र आवेशमा आएर जाहेरी दिएको बयान दिएकी थिइन्। उनका संरक्षक बुबाले पनि बयान फेर्दै अरुको उक्साहटमा जाहेरी दिएको बयान दिएका थिए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया