वैशाख २१, २०८१ शुक्रबार May 3, 2024

जनताको इच्छा विपरित म बाट कुनै पनि काम हुँदैन –मानबहादुर लामा ,अध्यक्ष –ककनी गाउँपालिका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मानबहादुर लामा,ककनी गाउँपालिकाका अध्यक्ष तथा नेकपामा नेता हुनुहुन्छ । २०१५ सालमा साविकको ककनी गाविस १ मा जन्मनु भएका लामाको राजनीतिक इतिहास लामो नभएपनि छोटो समयमा नै लोकप्रियता हासिल गर्न सफल हुनुभएको छ । आफ्नो जीवनको अधिकांश समय नेपाली सेना र नेपाल प्रहरीमा विताउनु भएका उहाले सायद जीवनमा जनताका प्रतिनिधि भएर समाजसेवामा लाग्ने सोचाई भने बनाउनु भएको थिएन । समय र परिस्थितिका बाबजुत लामाको जीवनको पछिल्लो समय जागिरे र व्यापारिक जीवनबाट बदलिएको छ । पाँच वर्ष नेपाली सेनामा रहेर सेवा गर्नुभएका उहाले सेनाको जागिरपछि नेपाल प्रहरीमा रहेर २१ वर्ष सेवा गर्नुभएको थियो । नेपाल प्रहरीको सहायक निरीक्षक अर्थात असईमा पेन्सन पकाउनु भएका उहा प्रहरीको जागिर पछि व्यापारमा लाग्नु भयो । व्यापारले पनि उहालाई सफलताको सिढी चढाउन सफल भयो र आर्थिक रुपले सफल पनि हुनुभयो ।

जीवनमा एकपछि अर्को सफलताको सिढी चढ्दै जानु भएका लामा २०६२,०६३ पछि भने मुलुकमा लोकतन्त्रका लागि भैरहेको आन्दोलन मार्फत राजनीतिमा सक्रिय हुनुभयो । आन्दोलनले सफलता पाएसँगै मुलुकमा संघीयता स्थापना भयो र लामा पनि संघीयतासँगै आफ्नो राजनीतिक यात्रा पनि अघि बढाउन सहमत हुनुभयो । उहा माओवादीको मुल धारमा रहेर राजनीतिमा सक्रिय हुनुभयो । लामाको सक्रियता योगदानको मुल्याङकन गर्दै माओवादीले उहालाई स्थानीय तहको निर्वाचनमा अध्यक्षको उम्मेदवार बनायो । अध्यक्षको उम्मेदारीसँगै जनताको घरदैलोमा पुगेर दुःख सुख साट्दै उहाले आफ्नो योजनासँगै मत माग्नुभयो र सफल पनि हुनुभयो । आफ्नो सफलतामा जनताको महत्वपुर्ण हात रहेको भन्दै उहाले आफु जनताको सेवाका लागि राजनीतिमा लागेकाले जनतालाई कहिल्यै पनि धोका दिन नसक्ने दावी गर्नुभयो । नुवाकोट पुकारका लागि शुकदेव दाहालसँग कुराकानी गर्दै अध्यक्ष लामाले ककनी गाउँपालिकालाई पाँच वर्षमा जिल्लाको नै नमुना गाउँपालिका बनाउने अभियानमा आफु लागेको भन्दै यसमा सबैको सहयोग भैरहेको पनि उल्लेख गर्नुभयो । यिनै समयसामायिक विषयमा उहासँग गरिएको कुराकानीका सम्पादित अंशहरुः

१ कस्तो चल्दै छ ककनी गाउँपालिको कार्यक्रमहरु ?
–हामी निर्वाचित भएको एक वर्ष भन्दा केही समय बढि भएको छ । एक वर्षको अवधिमा हामीले विगतमा १० वर्षमा गरिने काम गरिसकेका छौं । आगामी वर्षका लागि पनि हामीले बजेट विनियोजन गरिसकेका छौं । ३६ करोडको बजेट हामीलाई केन्द्रले दिएको छ भने स्थानीय रुपमा र प्रदेशबाट गरि जम्माजम्मी ४५ करोडको बजेट खर्च गर्ने लक्ष्य हामीले लिएका छौं । यसमा मैले आफ्ना कामहरुलाई प्राथमिकताका आधारमा अघि बढाउने योजना बनाएको छु । मेरो पहिलो काम भनेको एकघर एक धारा हुनेछ भने एकघर एक बाटोको अवधारणालाई पनि अघि सारेको छु । यस्तै रानीपौवादेखि चुतुरालेबाट ढाँडेफेदी हुँदै विदुरसम्म पुग्ने बोटरबाटो निर्माणको लागि पनि मैले प्राथमिकतामा राखेर काम गरिरहेको छु । त्यो बाटो हामीले निर्माण गर्न सक्यौं भने विदुरसम्म पुग्नमा लागि धेरै सजिलो हुनेछ । रानीपौवाबाट ढाँडेफेरि जम्मा १३ किलोमिटर रहेको छ भने ढाँठेबाट विदुर ९ किलोमिटर रहेको छ । यो बाटो सम्पन्न भयो भने हामीलाइ सदरमुकाम पुग्न धेरै सहज हुनेछ । तसर्थ समग्रमा भन्नुपर्दा जनसरोकारमा कामहरुलाई प्राथमिकता तोकेर अघि बढाउने काम गरिरहेको छौं ।

२ स्थानीय तहमा निर्वाचनबमे बेला जुन उत्साह थियो तर जनप्रतिनिधिहरुले त्यो अनुसार काम गर्न नसकेको गुनासो पनि छ नि ?
–हो,केही समय त हामी पनि अलमलिएका थियौं । त्यसमा आम जनताले भन्ने कुरा स्वभाविक पनि थियो । सबै कुरा बुझ्न हामीलाई पनि दुई तीन महिना लागेको थियो ,तर त्यसपछि भने अनुभवी कर्मचारी साथीहरुको सहयोग र साथ पाएपछि हामीले जनातका मुख्य सरोकारमा विषयहरुलाई लिएर प्राथमिकताका आधारमा काम अघि बढायौं र मैले अघि पनि भने एक वर्षको अवधिमा १० वर्षमा गर्ने काम गरेर छाड्यौं ।

३ कतिपय गाउँपालिकाहरुमा अध्यक्ष र कार्यकारी प्रमुखबीच नै विवाद भएको समाचारहरु आइरहेका छन् नि ?
–मेरो ककनी गाउँपालिकामा अहिलेसम्म त्यस्तो भएको छैन । म अध्यक्ष निर्वाचित भएपछि नै चार जना कार्यकारी परिवर्तन भैसक्नु भएको छ,तर जो–जो सँग मैले काम गरे उहाहरुबाट अत्यन्त सहयोग प्राप्त गरेको छु । पछिल्लो समय प्रशासकीय प्रमुखको रुपमा उपसचिव शन्तोष कुमार दाहाल आउनु भएको छ । उहाको प्रशासनिक क्षेत्रको लामो अनुभवका कारण यस पटक काम गर्न मलाई झनै सजिलो भएको अनुभव मैलै गरेको छु । कतै त्यस्तो भयो होला,तर मुल कुरा के हो भने सम्मान लिनमा लागि हामीले पनि सम्मान दिन जान्नुपर्दछ ।

४ पछिल्लो समय स्थानीय तहले मनलाग्दी रुपमा कर वृद्धि गरेको भन्दै आन्दोलन भैरहेका छन् नि ? कर वृद्धि गर्नुभएको छैन ।
– कतिपय गाउँपालिका तथा नगरपालिकाहरुले कर वृद्धि गरेका छन् । कसैले हचुवाका भरमा वृद्धि गरेका कारण पनि आन्दोलन भएका छन् । हामीले पनि कर वृद्धिको तयारी गरेका छौं,तर हामीले जनतालाई मार पर्ने खालले वृद्धि गरेका छैनौं । सामान्य मानिसका लागि दुईसयदेखि पाँच करोडसम्मको सम्पत्ति भएकाहरुलाई १० हजार कर लाग्ने व्यवस्था गरेका छौं । यो भनेको सामान्य हो । ५ करोडको सम्पत्ति हुनेले १० हजार तिर्नु भनेको र सामान्य मानिसले दुई सय कर तिर्नु भनेको सामान्य कुरा हो जस्तो लाग्छ ।

५सरकारले स्थानीय तहलाई दिएका अधिकारहरु कटौंटी गर्न लागेको भन्ने गुनासो पनि आएको छ,सत्य हो ?

हो,हिजो गाउँ गाउँमा सिंहदरबार भनेर प्रचार गरिएको थियो । त्यो अनुसार काम पनि सुरु भएको थियो,तर पछिल्लो समय सरकारले हामीलाई दिएका अधिकारहरु क्रमशः कटौती गर्दैलगेको अवस्था छ । जस्तो कि घरेलु , नापी,जस्ता कार्यालयहरु स्थानीय तहलाई दिने भनिएको थियो,तर पछिल्लो समय प्रदेश सरकारले त्यस्ता कार्यालयहरुलाई तत्कालका लागि गाउँपालिकामा नपठाउने भन्दै पत्राचार गरेको छ । यसले केन्द्रीय सरकारप्रति शंका उत्पन्न भएको छ ।

६ यसरी संघीयता बलियो होला त ?
–जनता आफ्नो गाउँघरमा सिंहदरबारमा भएका अधिकार आउने भयो भनेर जसरी हर्षित भएका थिए,तर यो घटनाले फेरि चिन्तित भएका छन् । सरकारले साच्चिकै संघीयता बलियो बनाउने हो भने हिजो जुन अधिकार दिने भनिएको थियो ति अधिकारहरु स्थानीय निकायलाई नै दिनुपर्दछ ।

७ तपाई अध्यक्षमा निर्वाचित भएको एक वर्ष पुरा भएको छ । यो अवधिमा जनताका लागि आफुले गर्छु भनेको काम गर्न नसकेको अनुभव छ ?
मलाई त्यस्तो भएको छैन । मैले जे जति काम गरेको छु ति सबै जनतालाई केन्द्रमा राखेर गरेको छु । मैले कृषिकका लागि पनि सहयोग गर्ने व्यवस्था मिलाएको छु । पशु स्वास्थ्य सेवाको क्षेत्रमा पनि काम गरेको छु । मृगौला फेल भएकाहरुलाई,पाठेघर बिग्रिएका महिलाहरुलाई पनि जनही २५ हजारका दरले सहयोग गर्ने व्यवस्था मिलाएको छु । जनताको सहयोग र समर्थनका कारण आज म यो ठाउँमा पुगेको छु । जनता भगवान हुन,जनताको इच्छा विपरित म बाट कुनै पनि काम हुँदैन ।

८ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस त सरकार विरुद्ध आन्दोलित छ नि ?
– ककनी गाउँ पालिकामा गाउँपालिकाले गरेको कामका विषयमा कांग्रेसहरु पनि सन्तुष्ट भएको मैले पाएको छु । मैले काम गर्दा उहाहरुसँग पनि सल्लाह र सुझाव लिएर काम गर्ने गरेको छु । अहिले हामीलाई चाहिएको भनेको विकास हो । विकास गर्ने कुरामा हामी केन्द्रीत भयौं भने कसैले पनि विरोध गर्ने कुरै आउँदैन ।

९ स्थानीय निकायमा विशेष गरेर सामाजिक सुरक्षा भत्तामा व्यापक अनियमितता भएको गुनासो आएको छ,तपाईको गाउँपालिकामा त्यस्तो भएको छैन ?

–यताकदा यस विषयमा पनि कुरा उठेको छ । बेलकोटगढीको केही वडामा यो घटना भयो भनेर आएको छ र त्यस विषयमा अख्तियारले नै छानविन गरिरहेको अवस्थामा हामीले बोल्नु जायज हुँदैन जस्तो लाग्छ ,तर मुल कुरा के हो भने जनताको काम गर्नेहरुले यसरी भ्रष्टाचार गर्न भने पाईदैन । यदि त्यस्तो कतैबाट हुन्छ भने कारबाही गर्ने कुरामा कसैले पनि कन्जुस्याँई गर्नु हुँदैन भन्ने मेरो धारणा हो ।

१० अन्त्यमाः तपाई नेकपाको नेता पनि हुनहुन्छ,पार्टी एकताको विषयमा तपाईको धारणा ?
–जुन उदेश्य र लक्ष्य लिएर एकता भएको छ । हामी त्यहि भावनामा अड्गि भएर काम गरिरहेका छौं । एकताको विषयमा नुवाकोटमा अत्यन्त शौभाद्रताकासाथ दुई पार्टीबीच एकता भएको छ र एकतापछिको नेतृत्व लिने विषयमा पनि आपसी सहमतिमा नै हुनेछ । झन हाम्रो ककनीमा त त्यस्तो विषयमा विवाद हुने कुरै छैन । हामी आपसी एकताका साथ अघि बढिसकेका छौं । नुवाकोट पुकार साप्ताहिबाट साभार 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया