कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

शाकाहारीको दशैं : सागसब्जी ताजा पाउन गाह्रो, बजार महङ्गो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः बडादशैं भन्ने बित्तिकै खानेकुरामा मासु नै विशेष मान्ने गरिन्छ। तर, मासु नखाने शाकाहारीले कसरी दसैँ मनाउँछन् भन्ने आम मानिसको चासोको विषय हुने गरेको छ।

नेपालीको महान् पर्व बडादसैँमा मांसाहारीले मासु खाएजस्तै शाकाहारीले पनि अन्य मीठा परिकार खाने गर्छन्। पनिर, च्याउका विभिन्न प्रजाति, फलफूल, गुँदपाकजस्ता परिकार खाएर शाकाहारीले दसैँ मनाउँछन्। बजारमा भने शाकाहारीका लागि यी सामग्री पाउन नै मुस्किल हुने र पाए पनि ताजा नपाउने गरेको उपभोक्ताको गुनासो छ।

बागबजारस्थित तरकारी बजारमा शाकाहारी दशैंको सामान लिन आउनुभएकी डिल्लीबजारकी रमा सत्याल दशैंका समयमा च्याउ, काउलीजस्ता तरकारी ताजा नपाउने गरेको अनुभव सुनाउनुहुन्छ। खसीबजारसँगैको यो तरकारी बजारमा दुई चार दिनअघि नै ल्याएका तरकारी पाइएको उहाँले सुनाउनुभयो। बजारमा काउली कालो कालोमात्र भेटिएको छ।

विगत १० वर्षदेखि यहाँ तरकारी व्यवसाय गरी आउनुभएका काभ्रेका मङ्गलबहादुर तामाङ अन्य समयको तुलनामा दशैंमा तरकारी किन्न कम मानिस आउने भएकाले पनि ताजा तरकारी ल्याउन नसकिएको स्वीकार गर्नुहुन्छ। यो समयमा कालिमाटी, बल्खुजस्ता थोक तरकारी बिक्रीस्थलमै ताजा तरकारी नपाइने गरेको पनि उहाँले बताउनुभयो।

दशैंमा सबैले मासु खान्छन् तरकारी किन्न आउँदैनन् भनेर ताजा तरकारी नआएको हुनसक्ने असनको तरकारी बजारमा भेटिनुभएका दुर्गादत्त पन्तले बताउनुभयो। मांसाहारीका सङ्ख्या धेरै भए पनि शाकाहारीले तरकारी पनि माग गर्छन् भन्नेमा ध्यान जान नसकेको उहाँले अनुभव सुनाउनुभयो।

बाहिरबाट तरकारी बिक्री गर्नेहरु पनि दसैँ मान्न व्यस्त हुने भएकाले समेत यो बेला ताजा तरकारी नपाइएको उपभोक्ता बताउँछन्। तरकारी व्यवसायी यो बेला कमैले मात्र पसल खोलेका हुन्छन्। धेरै जना भने दसैँ मनाउनमै व्यस्त हुने गरेका छन्। बजारमा खसी, बोकाको अनुगमन भए पनि यो बेला तरकारी बजारको भने अनुगमन नगरिँदा पनि तरकारीको भाउ बढ्ने गरेको छ।

मासुको भाउ खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तोकेको छ। जिउँदो खसीको मूल्य प्रतिकिलो रु सात सय ३० तोकेकाले त्यही हाराहारीमा बजारमा बिक्री भएको छ। तर तरकारीको भने कालिमाटी बजारले पनि दसैँमा बजारलाई आफूखुसी छोडेको हो कि भन्ने उपभोक्ताको गुनासो छ।

बजारमा पनिरको भाउ पनि विगतका दसैँमा भन्दा बढेको उपभोक्ताको भनाइ छ। गत वर्ष दसैँमा रु  सात सय ५० कममै प्रतिकिलोग्राम पनिर पाएका उपभोक्ताले यस वर्ष भने गत वर्ष भन्दा रु एक सय ५० सम्म बढी तिरेको सुनाए। यो वर्ष बजारमा पनिरको भाउ रु आठ सय ५० देखि नौ सयसम्म छ। च्याउको प्रजातिको मूल्य पनि बढेको छ।

मिठाइको भाउ पनि विगत वर्षको भन्दा बढेको छ। बजारमा ताजा मिठाइ पनि दसैँमा पाउन नसकिएको चावहिलका स्थानीयवासी राजेन्द्र नेपाल बताउनुहुन्छ। दसैँमा शाकाहारीले बजारबाट मिठाइ किनेर ल्याउँदा ताजा पाउन नसकिएको उहाँले सुनाउनुभयो। बजार व्यवस्थापन एवं अनुगमनमा स्थानीय सरकारको ध्यान नजाँदा उपभोक्ता यस्तो मर्का सहन बाध्य हुनुपरेको हो। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘विपद्का बेला नेपाली सेनाको बहुआयामिक भूमिका, उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय’
२०८३ कार्तिक ३०, सोमबार
‘कार्बन बजारमा संसदीय निगरानी र समुदायको लाभ सुनिश्चित हुनुपर्छ’ : डा. कार्की
२०८३ कार्तिक ३०, सोमबार
सञ्चारमाध्यमको कोष विवादमा चेक गणतन्त्रमा विशाल प्रदर्शन
२०८३ कार्तिक ३०, सोमबार
राष्ट्रपति पौडेलसमक्ष तीन नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
२०८३ कार्तिक ३०, सोमबार
रास्वपा सांसद अमरेशकुमार सिंहले थाले मेची–महाकाली पदयात्रा
२०८३ कार्तिक ३०, सोमबार
सङ्घीयता सुदृढीकरणका लागि राष्ट्रिय बहस आवश्यकः सभापति लामिछाने
२०८३ कार्तिक ३०, सोमबार
सरकारी खरिद ढिलाइ हुँदा सस्तोमा धान बेच्दै किसान
२०८३ कार्तिक ३०, सोमबार