असोज ८, २०८३ बिहिबार September 24, 2026

नेकपाको जित र हार- लोकराज बराल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपालका प्रायः काम तदर्थतामा चलेका हुन्छन् । त्यसैले यहाँको संक्रमणकाल पनि स्थायी छ  । राजनीतिमा जितेर पनि हारिन्छ र हारेर पनि जितिन्छ । नेपालमा कम्युनिस्ट पार्टीको प्रचण्ड बहुमत पाएको सरकार छ । मार्क्सवादी–लेनिनवादी र माओवादी समूह समाहित भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेपछि अब माओवादी भन्ने शब्द आधिकारिक रूपमा लोप भएको छ । तर यस ब्रान्डले कतै अर्को चमत्कार गरिहाल्छ कि भन्ने आशमा अन्य माओवादी दल भने क्रियाशील छन् ।

नेकपाको जित र हारको समीक्षा वस्तुगत हुनुपर्छ, जसका लागि ठोस आधार चाहिन्छ । नेकपा एक्लै जन्मेको भए पनि यसको विकासक्रम व्यक्तिपिच्छे भएको र हांँगाबिँंगा पनि देखा परेकाले देशको पुरानो दल नेपाली कांग्रेस (नेका) सित तुलना गर्न नसकिने अवस्था धेरै पछिसम्म रह्यो ।

२०१५ सालको प्रथम आम निर्वाचनमा नेकपालाई प्रतिनिधिसभाका २०५ सिटमध्ये ४ वटा मात्र हात लागेकाले यसको आकार सानो थियो । दोस्रो स्थानमा रहेको नेपाल राष्ट्रवादी गोरखा परिषद् (राणाहरूको दल) प्रमुख प्रतिपक्षी दलका रूपमा देखियो । तर, २०१७ पुस १ मा राजा महेन्द्रले सैनिक बलमा सत्ता लिई दलीय व्यवस्था अन्त्य गरेपछि गोर्खा परिषद् तितरबितर भयो र यसका प्रमुख केही नेता नेकामा प्रवेश गरी उक्त पार्टीको गैरव्यवस्थापकीय (एक्स्ट्रा सिस्टमिक) विरोधी भूमिकामा सरिक भए । तर कम्युनिस्ट भनिएका धेरै समूह परस्पर विरोधीका रूपमा कार्यरत रहे ।

राजाको कदमले कम्युनिस्ट पार्टी कमजोर भयो । प्रत्येक नेताको अति व्यक्तिकेन्द्रित असहिष्णु व्यवहारका कारण यो दल धेरै समूहमा विभाजित भएको थियो । तर मार्क्सवादको अपिल, शाही शासनको देखिँंदो असफलता र अन्तर्राष्ट्रिय प्रभाव आदिले नयाँ पिढीका युवामा नयाँ जोस र उद्देश्यले २०२७ सालतिर झापामा हिंसात्मक राजनीतिको सुरु भयो र पछि यही समूह युवा पिढीबीच आकर्षक भयो ।

तर व्यक्ति हिंसामा लागेकाले अन्य कम्युनिस्ट दलको समर्थन थिएन । त्यसैले यसको गतिविधि अति छोटो समयमा सकियो । तर यसको प्रभाव विद्यार्थी र अन्य पीडित वर्गमा बढ्दै गएकाले बेलाबेला सरकारविरोधी गतिविधि बढ्दै गयो । संसदीय व्यवस्थाको विरोधी भएकाले यो २०३६ सालको जनमतताका सम्म बहुदलविरोधी रह्यो । यसको रूपान्तरण भने २०४६ सालको पञ्चायत व्यवस्थाविरोधी आन्दोलनपछि भयो र यसले नेकासित पहिलोपल्ट सहकार्य गरी सत्तामा साझेदारी गर्‍यो । यो नै यसको शक्ति प्राप्त गर्ने रणनीतिका रूपमा सफल हुँदै गयो ।

नेकाभित्रको झगडाले प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला २०५१ सालमा मध्यावधि चुनावमा जाने निर्णयमा पुगे । नेका दोस्रो दलमा खुम्चिन पुग्यो र बहुमत नभए पनि पहिलो दलका रूपमा आएको नेकपा एमालेको अल्पमतको पहिलो कम्युनिस्ट सरकार मनमोहन अधिकारीको नेतृत्वमा बन्यो । यस घटनाबाट नेपालमा कम्युनिस्ट सरकार बन्न विदेशी शक्तिले दिंँदैनन् भन्ने सोच गलत साबित भयो । नेपालको पहिलो अल्पमतको सरकार चुस्त र गतिशील देखिन्थ्यो ।

नेकाको बढ्दो कचिंगल र धेरै पटक सरकारमा बसेकाले, परिवर्तन खोज्ने जनताको चाहनाले कम्युनिस्टहरू नेकाको विकल्पमा आउन सफल हुँदै गए र धेरै पटक अन्य दलसितको सहकार्यले सरकारको नेतृत्व गर्ने अवसर पाए । आजसम्म ६ जना कम्युनिस्ट प्रधानमन्त्री भएका छन् । माओवादी र एमालेको एकीकरणपछि बनेको नेकपाले दुई वर्षपहिले सम्पन्न चुनावमा झन्डै दुईतिहाइ मत प्राप्त गरी अहिले सरकार चलाइरहेको छ ।

राजनीतिमा शक्ति आर्जन गर्ने बाटा हिंसात्मक र अहिंसात्मक दुवै हुन सक्छन् । लोकतन्त्रमा ब्यालेट (मतपत्र) ले सत्तामा पुग्न सकिने असंख्य उदाहरण छन् । माओवादीले शक्ति हत्याउनका लागि दसवर्षे हिंसात्मक युद्ध लड्यो, तर सकेन । यसको रूपान्तरणले मात्र यो लक्ष्य प्राप्त गर्न सम्भव भयो । २००७ साल र पछिका नेकाका सशस्त्र आन्दोलन एकदलीय व्यवस्था लाद्न नभई लोकतान्त्रिक विकास गरी राजनीतिक स्थायित्व यकिन गर्नलाई थियो । तर साम्यवादका नाममा लडिएका हिंसात्मक संघर्षले उदार लोकतन्त्र होइन, नियन्त्रित शासन व्यवस्थाको जग हाल्नपट्टि प्रेरित गर्छन्, जसरी आज त्यो केही देशमा देखिन्छ ।

त्यसो हो भने के नेपालको हालको शासन कम्युनिस्ट हो त ? पक्कै होइन । नेकपाका नेताको सोच र अभिमुखीकरण र परराष्ट्र नीतिमा देखिने झुकावले एकदलीय अभ्यासतिर लाग्ने हो कि भन्ने आशंका गैरकम्युनिस्ट खेमामा पाइन्छ । नेपालको अवस्था हेर्दा कुनै एक बाह्य शक्तिको कठपुतली नभई यस्तो तानाशाही चल्ला भन्ने आधार अत्यन्त कमजोर छ । यहाँको भूराजनीति र समाज व्यवस्था, उदार धार्मिक र राजनीतिक पृष्ठभूमिले नेपाली जनता सरकार बलियो, भरिलो र प्रभावकारी भई जनमुखी कार्यक्रम लागू गर्ने क्षमताको र स्वच्छ भएको हेर्न चाहन्छन् ।

यहाँ वादभन्दा प्रभावकारी लोककल्याणकारी सरकार चाहन्छन् । त्यसैले मार्क्सवाद, लेनिनवाद या माओवाद पीडित, शोषित र सीमान्तकृत वर्गका साथै युवा पिढीलाई आकर्षित गर्ने लोकप्रिय नारा रहे पनि ती अब पोस्टर र ब्रान्डका रूपमा मात्र देखिएका छन्, न कि समाज रूपान्तरण गर्ने सिद्धान्तका रूपमा । नेकपाको यो विरोधाभासलाई पनि एक सैद्धान्तिक हारका रूपमा लिनुपर्छ ।

नेकपाको दुईवर्षे कार्यकाल जनताले सोचेअनुकूल ठ्याम्मै नभएको, लोकप्रियतावादको नारामा चुनाव जिती शक्ति आर्जन गर्न सफल भए पनि अब यस्तो शक्ति खिइन थालेको र जनताले अर्को विकल्पको चाहना राखेको देखिन्छ । तर जुन जोगी आए पनि कानै चिरेको भन्ने उक्ति सधैं मिल्ने भएकाले नेकपाको असफलताले नेकपाका नेता विशेष गरी प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीका नारा हावादारी रहेको देखाएका छन् । यत्रो शक्ति आर्जन र अति कमजोर प्रतिपक्ष हुँदा पनि आज नेकपा प्रतीकात्मक र यथार्थ दुवै रूपमा हारेको छ । यसको एउटै काम उल्लेखनीय छैन ।

प्रधानमन्त्री ओलीबाहेक अन्य प्रमुख नेता र कार्यकर्ता यसको सफलताको बयान गर्न तत्पर देखिँंदैनन् । आर्थिक रूपमा यसको कुनै नीति देखिएन, प्रान्तीय स्तरका सरकार (एक अपवादबाहेक) आफ्नै भए पनि अति केन्द्रीकरण गर्ने प्रवृत्तिले प्रान्तीय सरकार शक्तिविहीन भएको गुनासो छ । स्थानीय तहदेखि माथिसम्म भ्रष्टाचार व्याप्त भएकाले शासनतन्त्र जर्जर भई प्रभावहीन भएको छ र जनविश्वास घटेको छ । कम्युनिस्ट सरकारको गजबको नमुना भएको छ, नेपाल ।

आन्तरिक नीति र तिनको प्रभावकारी कार्यान्वयन परराष्ट्र नीतिका आधार हुन्छन् । दुईतिहाइ बराबरको सरकार कुनै नीति नभएको र गर्न खोजे पनि नसक्ने देखिन्छ । आन्तरिक शक्ति संघर्ष र खिचातानीले सरकार र पार्टी कमजोर भई कुनै निर्णय लिने क्षमता गुमाएका छन् । यसको ज्वलन्त उदाहरण परराष्ट्र सम्बन्धमा देखिएको छ । न नीति छ, न रणनीति । प्रधानमन्त्रीको बोलीमा वजन देखिँदैन र सजिलै समाधान गरिने कार्यसूची पनि अनावश्यक रूपमा जटिल बनाई सरकार अप्ठ्यारामा पर्दै गएको छ ।

अमेरिकासित भएको एमसीसी सम्झौता प्रधानमन्त्रीकै कारण असमझदारीमा पुग्न लागेको छ । यसलाई सजिलै संसदबाट अनुमोदन गर्ने प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको आश्वासन भए पनि उनैका दलभित्रको विवादले यो तुहिने अवस्थामा पुगेको छ । अमेरिका, भारत, चीन र अन्य पश्चिमा देश कोही पनि ओली सरकारप्रति विश्वसनीय भएको आभास पाइँदैन । चीन एमसीसी पारित नहोस् भन्ने रणनीतिमा हुन सक्छ, तर के हेक्का राख्नुपर्छ भने, शक्तिराष्ट्रको कुनै पनि अनुदान या सहयोग निःस्वार्थ रूपमा आउँदैन । अक्षरमा लेखे पनि नलेखे पनि सबैको ध्येय आफ्नो प्रभावक्षेत्र कायम राख्ने नै हुन्छ, जुन अन्तर्राष्ट्रिय राजनीतिको स्वीकृत वास्तविकता हो ।

आफ्नै अध्यक्षतामा बसेको बैठकको निर्णयमा बनेको तीनसदस्यीय कार्यदलको सिफारिस विपरीत गई प्रधानमन्त्री ओली एमसीसीलाई संसदबाट अनुमोदन गराउन सफल होलान् भन्न नसकिने भएको छ । किनभने पार्टीभित्रको दबाब थेग्न नसकेका उदाहरण दिन–प्रतिदिन थपिँंदै छन् । आफ्नै सहयोगीसितको सम्बन्धमा शंका–उपशंका देखाएर अति आत्मकेन्द्रित भएकाले ओलीको तेजोवध हुँदै गएको छ । कमजोर स्वास्थ्य र खस्कँदै गएको राजनीतिक अवस्थाले ओलीले अब निर्णायक भूमिका खेल्ने सम्भावना कम छ ।

यसको प्रभाव राजनीतिक स्थिरता, सक्षम सरकार, समावेशी विकास, सन्तुलित परराष्ट्र नीतिमा पर्ने नै छ । यस दलको ठूलो हार भनेकै विकृत संसदीय व्यवस्थामा प्रवेश गरी शक्ति आर्जन गरे पनि प्रभावकारी र स्वच्छ छवि भएको सरकार दिन नसक्नु हो । एकातिर राजनीति झन बिटुलिई सरकारको पहुँच हराउँदै गएको छ भने, अर्कातिर शक्तिराष्ट्रहरूसितको सम्बन्ध प्रस्ट नभई झन् शंका–उपशंका बढ्ने वातावरण बन्दै गएको अनुभूति चेतनशील जनतामा हुन थालेको छ । यस्तो विडम्बना गहिरो र दूरगामी सोचको अभावले उब्जेको हो, किनभने नेपालका प्रायः काम तदर्थतामा चलेका हुन्छन् । त्यसैले यहाँको संक्रमणकाल पनि स्थायी छ ।

नेका र प्रतिद्वन्द्वीलाई यस्ता प्रभाव क्षेत्रमा चलखेल गरी वर्चस्व कायम गर्न नदिने, आफ्नै मापदण्ड अनुसार व्याख्या गरी निर्णय प्रभावित पार्ने हो भने आजसम्म भित्रिएका सबै खाले विदेशी सहयोग लिनु गल्ती भएको मान्नुपर्छ । होइन भने, पूर्वाधार विकास र विद्युतीय प्रसारण लाइनका लागि मात्र खर्च गरिने एमसीसी अन्तर्गतको अनुदान लिन किन यत्रो विवाद ?

ओली सरकार अब कुन बाटामा हिंड्छ, भन्न सकिंदैन । तर हालसम्मको भूमिकाले असफलता मात्र देखाएकाले नेकपा ठूलो जित पाएर पनि हारेको अवस्थामा पुगेको छ । कान्तिपुर दैनिकबाट ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट
२०८३ असोज ८, बिहिबार
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
२०८३ असोज ८, बिहिबार
विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार
२०८३ असोज ८, बिहिबार
तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह
२०८३ असोज ८, बिहिबार
कांग्रेस महाधिवेशनः ६६ जिल्लाका ६३० जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न
२०८३ असोज ८, बिहिबार
यी हुन् एमाले केन्द्रीय कमिटी बैठकका २२ निर्णय : विद्या भण्डारी वरिष्ठ नेता, २७ जना मनोनीत
२०८३ असोज ८, बिहिबार
काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि
२०८३ असोज ८, बिहिबार