वैशाख २०, २०८१ बिहिबार May 2, 2024

ओलीको चियाकपमा आँधी- गुणराज लुँइटेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

प्रधानमन्त्री केपी शर्मा ओलीको चियाकपमा आएको आँधी शनिबारबाट मत्थर भएको छ । अब केही समयका निम्ति उनी सबै संकटबाट मुक्त भएका छन् । पछिल्लो कालमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको राजनीति बुझेका मानिसका निम्ति त्यसभित्र आउने विवादलाई चियाकपमा आएको आँधीभन्दा बढी मान्दैनन् । यसको कारण हो– ओली एक्लै हुँदा पनि यसलाई पार लाउन जानेका छन् । त्यस्तो समस्या पार लाउने जुक्ति उनलाई थाहा पनि छ । समस्या जति ठूला देखिन्छन्, ती यथार्थमा त्यस्ता छैनन् पनि ।

नेकपाभित्र समस्याका ठूला पहाड छैनन् । जे-जस्ता समस्या देखिन्छन्, तिनको समाधान पनि कठिन छैन । स्वर सम्राट नारायणगोपालले गाएको गीत नेकपाभित्र ठीक ढंगले लागु हुन्छ- ‘केही मीठा वात गर ।’ बस्, प्रधानमन्त्री ओलीले बेलाबेलामा केही मीठो वात गर्नुप-यो ।

यसपटक नेकपामा विवाद प्रधानमन्त्री ओलीले वैशाख ८ गते दुई अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीबाट लागु गराएपछि सुरु हुन्छ । राष्ट्रपतिबाट जारी अध्यादेश पाँचौँ दिनमा खारेज हुन्छ । विवाद जारी रहन्छ । त्यो विवादको अन्त्य हुन्छ २० वैशाखको अपराह्नदेखि । अध्यादेशले ल्याएको नेकपाभित्र ‘तुफान’ १३ औँ दिनमा अन्त्य हुन्छ । नेकपामा यसपटकको समस्या समाधानका दुई पक्ष छन्- एक, प्रधानमन्त्री ओलीको आत्मालोचना । दुई, नेता बामदेव गौतम ‘उपयुक्त समय’ मा सांसद बन्ने ।

आत्मालोचना भनेको कम्युनिस्ट पार्टीभित्र दाल/भात खाएजस्तो हो । शक्ति पुग्दा लागेको गर्ने र नपुगेका बेलामा आत्मालोचना भनेर उम्किने ।

फेरि एकपटक प्रधानमन्त्री ओलीले व्यवस्थापकीय क्षमता देखाएका छन् । ओली जत्तिका नेताका निम्ति नेकपा सचिवालयमा देखिएको समस्या समाधानमा धेरै गाह्रो पनि छैन । के गर्दा समस्या देखिन्छ र के गर्दा त्यो थन्किन्छ भन्ने उनलाई राम्रो थाहा छ । आत्मालोचना भनेको कम्युनिस्ट पार्टीभित्र दाल÷भात खाएजस्तो हो । शक्ति पुग्दा लागेको गर्ने र नपुगेका बेलामा आत्मालोचना भनेर उम्किने भइरहन्छ ।

नेकपाका नौ जना केन्द्रीय सचिवालय सदस्यलाई व्यवस्थापन गर्न सक्दा अन्य कुनै ठूलो समस्या उनलाई अबका बाँकी २ वर्ष आठ महिनामा आउने छैन । समस्या जब केन्द्रीय सचिवालयभन्दा तल जान्छ, त्यतिबेला मात्र व्यवस्थापनमा अलि बढी समय खर्च गर्नुपर्ने हुन्छ । त्यो स्थितिमा पनि समय बढी लाग्ने हो, त्यसका निम्ति पनि धेरै मेहनत पर्दैन ।

नेताहरूका अभिव्यक्तिका आधारमा नेकपामा अहिले देखिएको समस्या ‘विधि र प्रक्रिया’ को पालना भएन भन्ने हो । यथार्थमा यो होइन । विधि र प्रक्रियालाई लिएर नेकपामा बहस हुन छाडेको वर्षौँ भइसकेको छ । नेकपा मात्र होइन, अन्य कुनै पनि ठूला राजनीतिक दल विधि र प्रक्रियाले चल्दैनन् । त्यसरी चल्नुपर्ने आवश्यकता पनि छैन । जुन नेताले शीर्ष नेताहरूको व्यवस्थापन ग¥यो, त्यसैले अविच्छिन्नरूपमा देश र दलमा दाइँ गर्न सक्छ । यसका निम्ति सत्तारुढ नेकपा मात्र होइन, प्रमुख विपक्षी नेपाली कांग्रेसलाई हेरे पनि पुग्छ ।

नेकपामा अहिले देखिएको समस्याको अवतरण त्यतिबेलै सुरु भयो, जतिबेला प्रधानमन्त्री ओलीले नेता गौतमलाई प्रधानमन्त्री र वरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउन प्रस्ताव गरे । ओली वाणी भुइँमा खस्न नपाउँदै गौतमले आफूलाई प्रधानमन्त्रीको मेचमा देख्न थालिसकेका थिए । त्यसपछि उनले घर फर्केपछि नेताहरूलाई आफू प्रधानमन्त्री बन्ने र सहयोग गर्नुपर्ने याचना पनि गर्न थाले । त्यही बेलादेखि अब सचिवालय बैठकमा देखिएको ओलीको अल्पमत बहुमततिर लागिसकेको अनुमान भएको हो ।

यसपटक अध्यक्ष दाहालले पाएको उपलब्धि उल्लेख्य हुन सकेन् । यत्रो ठूलो अभियान चलाएर उनलाई प्राप्त भएको उपलब्धि प्रधानमन्त्री ओलीसँगै कुर्सी राख्ने अवसर मात्र हो ।

त्यो बैठकमा उपस्थित एक जना नेताले तत्कालै यो पंक्तिकारलाई भनेका थिए, ‘उहाँले तुरुन्तै प्रधानमन्त्री पद पाइसकेको ठान्नुभयो । बस्, तुरुन्तै सबै निर्णय सहमतिमा गर्नुपर्छ भन्न थाल्नुभयो ।’ ओली आफैँले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गम्भीर भएर नल्याएको बताएका थिए । उक्त जानकारी अखबारमा उद्धृत भएको छ, तपाईँहरूले ढुंगा हानेपछि मैले प्रत्युउत्तरमा अश्रुग्यास फालेको हुँ, भाग्ने कि प्रत्युत्तरमा मलाई नै अश्रुग्यास हान्ने तपाईँहरूकै कुरा हो ।

वास्तवमा ओलीले नेकपा नेताहरूको मानसिकता बुझेर त्यही तहको प्रत्याक्रमण गरेको बुझ्न गाह्रो छैन । यो प्रकरणपछि नेता नेपालले अघि सारेको ‘एक व्यक्ति एक पद’ को अवधारणाले फेरि एकपटक पराजय भोग्नुपरेको छ । तत्कालका निम्ति नेपाललाई घाटा परेको देखिए पनि दीर्घकालमा फेरि गौतम पराजित हुने वातावरण तयार भएको छ ।

गौतमलाई राष्ट्रियसभामा लगेर संविधान संशोधनमार्फत् प्रधानमन्त्री बनाउने भन्ने प्रस्तावमा पनि अहिलेका निम्ति विराम लागेको छ । अब गौतमलाई प्रतिनिधिसभामा उम्मेदवार बनाउने र निर्वाचित भएर आएपछि प्रधानमन्त्री बनाउने भनिएको छ । त्यो पनि ‘उपयुक्त समय’ मा । त्यो समय कहिले आउने ? निश्चित छैन । प्रतिनिधिसभाको कुनै रिक्त हुने वा गराइने स्थानमा गौतम उम्मेदवार हुनासाथ निर्वाचित हुन्छन् भन्ने के निश्चित छ ? यसै पनि सत्तारुढ नेकपाको स्थिति धरमर हुँदै गइरहेको छ । झन् त्यसमा पनि कुनै त्यस्तो निर्वाचन हुने भयो भने नेकपालाई देखाइदिन पनि आममतदाताले आफ्नो अधिकार प्रयोग गर्नेछन् । त्यति मात्र होइन, अघिल्लो निर्वाचनमा गौतमलाई पार्टीभित्रैबाट घात गरिएको भन्ने छ । त्यही स्थिति फेरि नदोहोरिने सुनिश्चितता गौतमसँग होला ?

प्रधानमन्त्री ओलीका निम्ति यसपटकको खेल साह्रै सजिलो भएको छ । गत साता यो पंक्तिकारले लेखेकै थियो। शीर्षहरूको शीर्षासन । ओलीका अगाडि शीर्ष नेताहरूको केही लाग्दैन भन्ने जानकारी गराउनु त्यो लेखको उद्देश्य थियो । अहिलेको समस्या समाधान भइसकेपछि यसलाई पुनः सम्झनुको उद्देश्य खेल कति सजिलै टुंगियो भन्ने हो । अहिलेको खेलमा एक मात्र विजेता ओली भएका छन् । बाँकी नेताले फेरि पनि शीर्षासन गर्नैपर्ने भएको छ ।

प्रिय पाठकहरू, अब लेखेर राख्नुहोला। गौतम प्रधानमन्त्री हुने छैनन् । किन ? नेकपाभित्र अहिलेको विवादमा नेता नेपालले ‘उधारो’ हुँदैन भनेका छन् । त्यही भएर उनी अहिले प्रधानमन्त्री ओली र अध्यक्ष दाहालको अहिलेको खेलमा बीचैमा रहे । उनलाई झण्डैको प्रधानमन्त्री बनाउने काम दाहाल पक्षबाट भए पनि यो सम्भव छैन भन्नेमा उनी अडिरहे ।  ओलीले दिने आश्वासनमा पनि उनले खासै चासो देखाएनन् । तेस्रो अध्यक्ष बन्ने आश्वासनलाई उनले सुरुदेखि नै अस्वीकार गरेका थिए । रह्यो अन्य पद बाँडफाँटको, त्यसमा पनि उनी यसपटक सावधान देखिए । अहिले संख्याको खेलामा उनी कमजोर देखिएलान् तर भोलि विधि र प्रक्रियाअनुसार चल्ने स्थिति आएको खण्डमा उनको भूमिका हुने नै छ ।

वरिष्ठ नेता झलनाथ खनालले पनि यसपटक विधिकै कुरा गरेका छन् । पार्टी प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले त सैद्धान्तिक प्रश्न अघि सारेर यसअघिको बैठकमा पनि नेताहरूलाई र्याखर्याखी पारेकै हुन् । वास्तवमा यसपटक अध्यक्ष दाहालले पाएको उपलब्धि उल्लेख्य हुन सकेन् । यत्रो ठूलो अभियान चलाएर उनलाई प्राप्त भएको उपलब्धि प्रधानमन्त्री ओलीसँगै कुर्सी राख्ने अवसर मात्र हो । यसअघि उनलाई ओलीले आफ्नै पंक्तिमा नराखी चौकाबाट तल राखेका थिए । अहिले पनि उनलाई एक तह माथि राखेको मात्र हो ।

यसपटकको खेलमा दाहालले फेरि विश्वास गुमाएका छन् । उनलाई फेरि आउने दिनमा ओलीले चौकाबाट लघार्ने स्थिति आउँदा अरूले विश्वास गरिहाल्ने छैनन् । गौतमलाई प्रधानमन्त्री दिने आश्वासनकै भरमा अल्पमतमा परेको पार्टी केन्द्रीय सचिवालयलाई बहुमतमा पुर्याउन सफल भएपछि ओलीका निम्ति स्थायी कमिटीको अल्पमतलाई उल्ट्याउन पनि ठूलो कसरत पर्दैन । यसका निम्ति उनले आश्वासन दिए पुग्छ ।

ओलीविरुद्ध अहिले नेकपामा देखिएको वातावरण सैद्धान्तिक होइन । कतिपय उनका द्वारपालले बाटो छेकेका कारण रिसाएका छन् । कतिपय उनले सत्तामा पुगेपछि बेवास्तामा परेको ठानेर टाढिएका छन् । ओलीले यसो बोलाएर हिजोका ‘केही मीठा कुरा’ गरे पुग्छ । यति सहजै व्यवस्थापन हुने नेकपाबाट ओलीको पार्टी सत्ता अकण्टक छ ।

नेकपाभित्र कुनै ठूलो राजनीतिक घटनाक्रम तत्काल हुन्छ भन्ने विश्वास अब गुमेको छ । भविष्यमा प्रधानमन्त्री बनाइनेछ भन्ने आश्वासनकै भरमा समस्या समाधान हुने पार्टीका निम्ति सबै कुरा गौण हुन सक्छन् । कोरोना भाइरस विरुद्धको यत्रो महामारीमा नेकपा नेताहरूबाट प्रदर्शित विदूषकको भूमिकाले प्रस्ट पारेको छ ।

भविष्यमा ओलीविरुद्ध आउने अन्य कुनै पनि समस्या केवल उनको कपमा देखिएको तुफानभन्दा ठूलो होइन । यसले ओलीको कद जति अग्लो बनाएको छ नेताहरूको भूमिकाले सत्तारुढ दलको गरिमा भने घटाएको छ । यसमा उठ्ने भविष्यका विवादलाई गम्भीरपूर्वक लिनेको संख्या अरु ओरालो लाग्नेछ । नागरिक दैनिकबाट ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री
२०८१ वैशाख २०, बिहिबार
टाढाका विद्यार्थीलाई आवासीय सुविधा
२०८१ वैशाख २०, बिहिबार
मन्त्रीपरिषद् बैठक बस्दै, बजेट अधिवेशन बोलाउने तयारी
२०८१ वैशाख २०, बिहिबार
श्रीलंकाको राष्ट्रपति निर्वाचनमा विक्रमासिङ्घे र राजापाक्षे भिड्ने सम्भावना
२०८१ वैशाख २०, बिहिबार
आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु
२०८१ वैशाख २०, बिहिबार
विद्यार्थीहरुलाई पुरा जानकारी लिएर मात्र क्यानडा आउन दुताबासको चेतावनी
२०८१ वैशाख २०, बिहिबार
आर्थिक समृद्धिको नवीन आधार सूचना प्रविधिको विस्तार
२०८१ वैशाख २०, बिहिबार