वैशाख ३०, २०८१ आइतबार May 12, 2024

परिवारवादको चक्रव्यूहमा नेपाली लोकतन्त्र : श्यामप्रसाद मैनाली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कमरेड प्रचण्डले पटक–पटक गठबन्धन फेर्दै आफ्नो पदको सुरक्षा गरेका छन्। गत २०७९ को निर्वाचनमा नेकाका नेताहरुलाई देश दौडाहामा पठाई हँसिया–हथौडामा मत माग्न लगाएर विशेष गरी आफ्नै पुत्री रेनुलाई भरतपुर नगरपालिकाको प्रमुख बनाउन सफल भए। आफैँलाई नेकाको मतका आधारमा गोरखाबाट निर्वाचित बन्ने अवस्था बनाए र प्रधानमन्त्री बनेका छन्।

आफूले प्रधानमन्त्रीका रुपमा निरन्तरता प्राप्त गर्ने र आफ्ना परिवारका सदस्यहरुलाई जिम्मेवारीमा पुर्‍याउनु नै प्रचण्डजीको समाजवाद बनेको छ। नेकासँग गठबन्धन गरेर प्रधानमन्त्री बनिराखेको अवस्थामा अपर्झट एमालेसँग गठबन्धन गरी प्रधानमन्त्रीको पदमा आफैँ आसीन हुने अवधि थप गरेका छन्। भाइ नारायण दाहाललाई राष्ट्रिय सभाको अध्यक्ष वनाउन कांग्रेससँगको गठबन्धन बाधक बनेको थियो, किनकि यस दलले राष्ट्रिय सभाको अध्यक्षसमेत बनाउने प्रयोजनका लागि कृष्ण सिटौलाजीलाई राष्ट्रिय सभामा पठाएको थियो।

आफ्ना नजरमा सुयोग्य भाइ हुँदै गर्दा अन्यलाई यो अवसर दिनु भनेको प्रचण्डजीको समाजवादरुपी अग्रगामी छलाङमा पूर्णविराम लगाउनु हो। त्यही लक्ष्य प्राप्तिका लागि प्रचण्डजीले गठबन्धन परिवर्तन गर्नुभएको आलोचनासमेत तीव्ररुपमा भइराखेको छ । प्रचण्डमात्र होइन, परिवारवादको चक्रव्यूहमा ठूला–साना सबै दलहरूका शीर्षस्थहरू नराम्ररी फस्दै गएका छन् । उनीहरूको दृष्टिमा राजनीतिमा उच्च स्तरको योगदान दिएका सुयोग्य पात्रहरू आफ्नै परिवारजन र नातागोतामा मात्र हुन्छन् । यो मनोरोगबाट दलका नेताहरू नराम्ररी ग्रसित बनेका छन् । यस आलेखमा यसै विषयमा विश्लेशण गर्ने प्रयास गरिएको छ ।

लोकतन्त्रलाई सबैभन्दा उत्कृष्ट राजनीतिक व्यवस्था मानिएको छ । यही लोकतान्त्रिक शासन प्रणालीबाट नेपाली जनता असन्तुष्ट हुँदै आएका छन्। नेपाली लोकतान्त्रिक राजनीतिमा वंशवाद, धनवाद र कृपावाद हाबी हुँदै आएको छ । यी तीनवटै वादहरूबाट राजनीतिक सबल सञ्जाल खडा भएको छ, जसलाई तोड्न अत्यन्त कठिन बन्दै गएको छ। यसबाट राजनीतिमा अनैतिक अभ्यासले नराम्ररी जरा गाडेको छ । राजनीतिमा वंशवाद हाबी भएको छ। यो सामन्तवाद वा वंशाणुगत राजतन्त्रमा मात्र कल्पना गरिने विषय भए तापनि नेपालको गणतन्त्रमा यसको विकास हुँदै आएको छ।

शाह वंशको वंशाणुगत शासन सन् २००८ मा समाप्त पारेको नेपालमा संघीय सरकारदेखि स्थानीय सरकारसम्म परिवारवाद हाबी भएको छ। रक्तसम्बन्धको आधारमा अवसर प्रदान गर्ने राजनीतिक प्रणाली नै लोकतन्त्रको रुपमा विकास भएको छ। एकै परिवारका धेरै जनालाई सक्रिय राजनीतिमा समाहित गरिएको छ । यो सधैँभरि शक्तिमा रहने सुनियोजित रणनीतिका रुपमा स्थापित भएको छ। राजनीतिक परिवारका धेरै सदस्यहरु जिम्मेवारीमा पुगी केन्द्रीय राजनीतिमै पनि पक्कड जमाएका छन् ।

नेपालको राजनीतिमा परिवारवादको उदाहरण प्रशस्त दिन सकिन्छ । नेपालको राजनीति लामो समयदेखि नै कोइराला परिवारमा केन्द्रित रहेको देखिँदै छ। रानाहरुलाई सत्ताच्यूत गरी राजाको अधिकार फर्काउने क्रममा लोकतन्त्रको बहालीका लागि तत्कालीन राजा त्रिभुवनसँग समझदारी गर्दै अन्तर्राष्ट्रिय सहयोग प्राप्त गर्ने क्रममा यो परिवारले राजनीतिमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको हो । देशको पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला नेपालको सचेत राजनीतिक परिवारका सदस्य थिए । राजनीतिक परिवारमा हुर्किएका कारण उनमा राजनीतिक संस्कार थियो । हालसम्म यस परिवारको नेपाली राजनीतिमा राम्रै प्रभाव छ । एकै परिवारका मात्रिका, बीपी र गिरिजा तीन–तीनजना विभिन्न समयमा देशको प्रधानमन्त्री बनेका हुन् । बीपीकै भतिजा सुशीलले पनि प्रधानमन्त्री बन्ने अवसर पाए । वर्तमान समयमा सोही परिवारबाट शेखर, शशांक, सुजाता नेकाको केन्दीय सदस्यको शक्तिशाली भूमिकामा रहेका छन् । नेकाका महामन्त्री गगन थापा पुराना स्थापित कांग्रेस नेता अर्जुननरसिंह केसीका ज्वाइँ हुन् । नेकाको केन्द्रीय राजनीतिमा उदयमान गगनलाई भावी प्रधानमन्त्रीका रुपमा समेत हेर्न थालिएको छ । पूर्वगृहमन्त्री बालकृष्ण खाँडकी श्रीमती मञ्जु संघीय सांसद बनेकी छिन् । पाँच–पाँचपटक देशको प्रधानमन्त्री बनेका नेकाका केन्द्रीय सभापति शेरबहादुर देउवाकी धर्मपत्नी डा. आरजु राणा देउवाले पटक–पटक संघीय सांसद बन्ने अवसर प्राप्त गरेकी छिन् । नयाँ वंशवादको जन्म हालका प्रधानमन्त्री पुष्पकमल दाहालले गराएका छन् । आफैँ प्रधानमन्त्री र माओवादी केन्द्रका केन्द्रीय सभापति हुन् । छोरी रेणु भरतपुर नगरपालिकामा प्रमुख छिन् । भाइ, ज्वाइँ सबैलाई जिम्मेवारीमा पु¥याउने गरेका छन् । बुहारी बीना सक्रिय राजनीतिमा छिन् । द्वन्द्वकालमा संलग्नता नै नरहेकाहरूसमेतलाई जिम्मेवारी दिइएको छ । पूर्वअर्थमन्त्री वर्षमान पुनकी श्रीमती र बहिनी लालकुमारी पुनलाई समेत राजनीतिक पदहरु समय–समयमा प्रदान गरिएको छ ।

यसै गरी एमालेमा पनि परिवारवाद हाबी छ । ओलीजीका साला ज्ञानेन्द्र, जसको नेपालको राजनीतिमा कुनै उल्लेखनीय योगदान रहेको छैन तर पनि ओलीजीको कृपा प्राप्त भएकै छ । यसबाहेक शंकर पोखरेलकी बहिनी, पूर्वमन्त्री रघुवीर महासेठ र उनकी पत्नी जुलीकुमारी महतो दुवैले अवसर पाएका छन् । जुली महतो नेपालका एक धनाढ्य व्यापारी उपेन्द्रजीको सहोदर बहिनी हुन् । जुलीको योग्यता भनेकै प्रतिष्ठित व्यापारी घरानामा जन्मिनु हो । यसका अतिरिक्त उनको राष्ट्रिय राजनीतिमा कुनै पनि प्रकारको योगदान देखिँदैन । नेपालको राजनीतिमा शक्तिशाली राजनीतिज्ञका श्रीमान्–श्रीमती दुवैले जिम्मेवारी पाउने अभ्यस्तताजस्तै बनेको छ, मानौँ लोकतान्त्रिक संविधानको आशय नै यही हो । राजनीतिक वंशवादको अवस्था यसरी अघि बढ्नुमा केही तर्कहरु दिने गरिएको छ । राजनीतिक परिवारले राजनेताको उत्पादन गर्दछ । राजनीतिमा सधैँ क्रियाशीलता र निरन्तरता आफ्नै परिवारका सदस्यहरुले दिऊन् भन्ने लालसा हुन्छ र सोही अनुसार राजनीतिक संस्कार र प्रशिक्षण प्रदान गरिन्छ । यस्ता संस्कारयुक्त र प्रशिक्षित राजघरनाका सम्भ्रान्त सदस्यहरुले राष्ट्रलाई राम्ररी गति दिन सक्छन् भन्ने दाबी गरिन्छ । यस्ता परिवारका खानदानी सम्बन्ध राजनीतिज्ञहरुसँग रहन्छ । यी सम्भ्रान्त परिवारकाहरुले राजनीतिलाई दुरुपयोग गर्दछन् । परिणामस्वरूप भ्रष्टाचार र शक्तिलिप्सा अत्यन्त ज्यादा हुँदै जान्छ । यी दुवै अवस्थामा वंशवादले राजनीतिलाई नराम्ररी जकडेको छ ।

्नेपालको राजनीतिक सञ्जालका बारेमा अध्ययन गर्दा विशेष गरी औपचारिक राजनीतिमा मात्र यो सीमित भएको पाइँदैन । यी सञ्जालहरुको प्रभावले गर्दा नेपालको राजनीति गैरराजनीतिक तत्वहरुसँग स्वतः घुलमिल हुँदै आएको छ । यस्ता सम्बन्ध र सञ्जाल विस्तार गरेकाहरुले राजनीतिक दलका नेतृत्व तहहरूसँग सहजै पहुँच प्राप्त गरेका हुन्छन् । लामो समयदेखि राजनीतिमा जीवन बिताएकाहरुलाई पछि पार्दै यस्ता व्यक्तिहरू राजनीतिमा उदयमान बन्दछन्, दलका टिकट त्यागी नेता वा कार्यकर्ताभन्दा यिनैलाई प्रदान गर्न नेतृत्व लालायित बन्दछ। दलका शीर्षस्थहरुले यी गैरराजनीतिक व्यक्तित्वहरुलाई राजनीतिक अवसर प्रदान गर्ने आफ्नो हैसियतअनुसारको शेयर प्राप्त गर्दछन्। टिकट दिँदा स्रोत–साधन सम्पन्नहरु र उनीहरुको स्रोतबाट नेतृत्वपंक्तिसमेत निर्वाचनमा प्रतिस्पर्धा गरेर विजयी हुन सक्ने गरी व्यवस्थापन गरिएको हुन्छ । ठूला–ठूला ठेकेदारहरू र व्यापारिक घरानाका व्यक्तिहरुलाई यस प्रकार राजनीतिमा प्रोत्साहन प्रदान गरिन्छ।

यदि नेतृत्वलाई यस्ता होनहार उम्मेदवारहरू निर्वाचनमा विजयी हुन नसक्ने देखिएमा समानुपातिकतर्फ मनोनयन गर्दै केन्द्रीय राजनीतिमा स्थान दिइएको हुन्छ। देशभरका यस्ता प्रतिस्पर्धीहरुलाई सबै दलहरुले आफ्नो दलभित्र आमन्त्रण गरिराखेको अवस्था छ। धेरै प्रकारका व्यापारीहरु, उद्योगीहरु, ठेकेदारहरू मात्र होइन, यी क्षेत्रका माफियाहरुले नेपालको राजनीतिमा ठूलो पक्कड कायम गरेका छन्। यी दल र दलका नेताहरुका लागि दाताहरू हुन्। आफ्नै खर्चमा निर्वाचन लडी विजयी भएर आउने, नेताको आवश्यकतानुसार खर्चको व्यवस्था गर्ने, दल सञ्चालन गर्न आर्थिक स्रोत व्यवस्थापन गर्ने, टिकट दिने आधारहरु स्पष्ट छन्। यही कारणले गर्दा धनाढ्य व्यापारीहरु क्रमशः विभिन्न दलहरूबाट समानुपातिक र बढी मत ल्याउने विजयी हुने गरी पटक–पटक टिकट पाइराखेका छन्।

यस्ता दाताहरुलाई उनीहरुको व्यवसाय प्रभावित हुने गरी नीति निर्माण गर्न सकिने मन्त्रालयको मन्त्रीसमेत सहजै बनाउँदा स्वार्थको संघर्षको अवस्था सिर्जना हुनेमा संवेदनशील देखिएका छैनन् । यी स्रोत–साधन सम्पन्न धनाढ्यहरूमा राजनीतिक सिद्धान्त, आस्था केही रहँदैन । उनीहरुको धर्म भनेकै अत्यधिक रकम आर्जन गर्नु हो । राजनीतिक परिवारको सदस्य हुनु पनि जरुरी छैन, किनकि ती राजनीतिक परिवारका लागि अपरिहार्य बनिसकेका हुन्छन् । उनीहरुले राजनीतिक कृपा पाउने अवस्था स्रोत–साधनबाटै खरिद गरेका हुन्छन् । यही कारणले गर्दा नेपालको राजनीति अत्यन्त खर्चिलो बनेको छ । देशमा भ्रष्टाचार हुनुको मुख्य कारणका रुपमा यसैलाई लिने गरिएको छ ।

दलभित्रको समूहसँगको अबद्धता र घनिष्टताले नेपालको राजनीतिमा पक्कड जमाउने गरिआएको छ। विभिन्न ठूला दलहरु नेतृत्वपंक्तिसँग द्वन्द्व आमन्त्रण गर्ने तर तुलनात्मकरुपमा योग्य पात्रहरुलाई राजनीतिक दृश्यबाटै पलायन बनाउने क्रम जारी छ। ठूला नेताहरूसँग राम्रो सम्बन्ध भएका आपराधिक प्रवृत्तिका व्यक्तिले दलबाट टिकट पाउँछन्। अरुको तुलनामा निर्वाचन जित्नसमेत सहज हुन्छ, किनकि नेतासँगको पहुँचले गर्दा आफ्नो विधान क्षेत्रमा पर्याप्त बजेट विनियोजन गराउन यस्ता प्रिय पात्रहरू सफल हुन्छन्। मतदाताहरूसमेत एक आदर्श, निष्ठावान् व्यक्तिभन्दा आफैँ पनि धनाढ्य भएको र नेतृत्वसँग नजिक भएकालाई मतदान गर्दछन्, यसमा उनीहरुको सामूहिक र व्यक्तिगत स्वार्थ छिपेको हुन्छ। समाजमा घृणाका पात्र बनेकाहरू, चरित्र खराब भएकाहरू, भ्रष्टाचारीहरुले निर्वाचनमा टिकट पाइराखेका छन्।

अपराधीहरुलाई आफू निकट भएकै कारण सबै दलहरुले अवसर दिँदै आएका छन् । वर्तमान संसद्मा रहेका जनप्रतिनिधिको मुखुण्डो ओढेकाहरू अदालतबाट अपराधी प्रमाणित भएका छन्। कोही कैद सजाय तोकिएकालाई टिकट दिई विजय बनाएर ल्याइएको छ, फरार रहेको अवस्था छ । ठूलो रकम घूस मागेको रेकर्ड सार्वजनिक भएकालाई दलका शक्तिशाली नेताको आशिर्वाद प्राप्त छ । पटक–पटक टिकट पाएका छन्, मतदाताहरू उनै भ्रष्टलाई निर्वाचित गरी पठाउन उद्यत् रहन्छन् ।

राष्ट्रिय स्तरमा नाम कमाएका गुन्डाका नाइकेहरुलाई दलमा स्वागत गर्ने प्रतिस्पर्धा दलभित्र छ। जनता तिनै गुन्डालाई सर्वसम्मतरुपमा निर्वाचित गरी पठाउँछन् । यस्ता कुख्यात गुन्डाका नाइकेलाई टिकट दिँदा थोरै मात्र पनि असहज महसुस दलका नेतालाई हुँदैन। सञ्चारमाध्यम र सचेत मतदाताहरुको तीव्र विरोधपश्चात् यस्तो टिकट बाध्य भएर खोसिएको स्थितिसमेत एमाले दलमा पाइएको छ। आफ्नो राजनीतिक यात्रामा कतिपय अवस्थामा यी ग्याङस्टरहरुलाई दलहरुले निर्वाचनको दौरानमा र अन्य समयमा पर्याप्त उपयोग गरेका हुन्छन् । त्यसैले नेतृत्वमा रहनेहरू स्रोत–साधन सम्पन्न, भ्रष्टहरू र गुन्डाका नाइकेहरुसँग नतमस्तक हुन्छन् ।

यी सबै विकृति र विसंगतिको विकास नेपालको राजनीतिमा भइराखेको छ । यसका लागि राजनीतिक दलहरू मात्र जिम्मेवार छैनन्, समग्र समाज, मतदाताहरू, सचेत नागरिकहरु सबै जिम्मेवार देखिन्छन् । नागरिक समाजले आफ्नो क्रियाशीलता इमानदारिताका साथ निर्वाह गर्न नसक्दा यो अवस्था सिर्जना भएको हो । नेपालमा लोकतन्त्रको संस्थागत विकास हुन नसक्नु यसको अर्को कारण हो। लोकतन्त्रको हदैसम्मको दुरुपयोग हुँदै गर्दा त्यसलाई सुधार गर्न कुनै पनि प्रकारको दबाब नेपाली नागरिकका तर्फबाट खासै भएको छैन । जब समाज आफ्ना नेताहरुलाई उनीहरुबाट भएको गलत कार्यका लागि खबरदारी गर्न चाहँदैन, नागरिक समाज दलीय कित्तामा विभाजित हुन पाउँदा गौरव महसुस गर्दछ, त्यस देशले पाउने प्रतिनिधि भनेकै कालाबजारिया, माफिया, भ्रष्टाचारी, मुनाफाखोरलगायतका सबै प्रकारका अपराधीहरू नै हुन्।

नेपालको राजनीति यसतर्फ नराम्ररी फस्दै गएको छ। अपराधीहरुको सौदाबाजी नेपालको शासन प्रणालीमा हाबी भइराखेको छ। राजनीतिक दलहरुलाई स्रोत–साधन संकलन गर्ने उद्देश्यले समेत औपचारिक संस्थाहरू अस्तित्वमा रहेका छन्। देशमा प्रभावकारी संगठनको विकास नहुँदा र लोकतन्त्रको संस्थागत विकास नभएको स्थितिमा दल र नेताहरू यसै गरी गलत मार्गमा लिप्त हुन पुग्दछन्।

परिणामस्वरूप जनताले आफ्नो रगत–पसिना बगाएर, धेरै देशभक्तहरुले आफूलाई बलिवेदीमा चढाएर प्राप्त गरेको लोकतन्त्र धराशायी बन्न पुग्छ । यस अवस्थामा समेत हाम्रा राजनीतिज्ञहरुमा चेतना आउन सकेको छैन। तसर्थ नेपालको लोकतन्त्रलाई सुधार गर्दै समुन्नत नेपालको दिशामा अग्रसर हुने र सुशासन कायम गर्ने सन्दर्भ सिद्धान्तमा मात्र सीमित भएको छ।नेपाल समाचारपत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कोशीका मुख्यन्यायाधिवक्ता कोइराला पदमुक्त (पत्रसहित)
२०८१ वैशाख ३०, आइतबार
लागूऔषध खैरो हिरोइनसहित दुई जना प्रहरी नियन्त्रणमा
२०८१ वैशाख ३०, आइतबार
सौगात र बेनिशाको ‘सिटामोल’ को जापानमा प्रदर्शन अधिकारको सम्झौता
२०८१ वैशाख ३०, आइतबार
सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेलसहित ६ जनाविरुद्ध मुद्धा दायर
२०८१ वैशाख ३०, आइतबार
धनकुटाको पाख्रीबासमा सवारी दुर्घटना
२०८१ वैशाख ३०, आइतबार
सहकारी ठगीविरुद्ध कांग्रेसले सदनसँगै सडक संघर्ष गर्नुपर्छ : नैनसिंह महर
२०८१ वैशाख ३०, आइतबार
कांग्रेसको संसदीय दलको बैठक सोमबार बस्दै
२०८१ वैशाख ३०, आइतबार