काठमाडौँ । प्रतिनिधिसभाको बर्षे अधिवेशनको प्रारम्भको अवसरमा आज विभिन्न राजनीति दलका नेताहरुले विश्वमा महामारीको रुपमा फैलिएको कोरोनाको नियन्त्रणका लागि सबैले एकताबद्ध भएर लाग्नु पर्नेमा जोड दिएका छन ।
बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको महामारीबाट जोगिनको लागि अहिलेसम्म गरिएका कार्यको समिक्षा गरी विशेष राणनीतिक योजनाबाट नियन्त्रण गर्न सफल हुनु पर्ने बताएका छन ।
सभापति देउवाले प्रमुख प्रतिपक्षी दलले कोरोना विरुद्धमा जिम्मेवारीपुर्वक काम गरेर सरकारकारलाई सघाइरहेको बताउदै अप्ठ्यारो परिस्थितिमा हुन सक्ने भ्रष्टाचार र अनियमितताका विरुद्धमा भने निरन्तर खबरदारी गरिरहेको बताएका छन ।
उनले बास्तविक पीडितले अझै राहत पाउन नसकेको बताउँदै श्रमिक, बेरोजगार, डेरामा बस्ने विद्यार्थी, पत्रकार, उद्योगी व्यवसायीलाई विशेष राहत प्याकेज प्रदान गर्न आग्रह समेत गरेका छन ।
देशमा कोरोना देखिएको लामो समय बितिसक्दा पनि अत्याधिक परिक्षण गर्न नसकेको बताउँदै परीक्षणको प्रभावकारी व्यवस्था गर्न माग गरेका छन।
उनले विदेशमा अप्ठेरामा परेको नेपालीको उद्धार गर्नु सरकारको् कर्तव्य भएकाले आवश्यक क्यारेन्टाइनमा राख्ने व्यवस्था गरी तत्काल गर्न उद्धार गर्न आग्रह समेत गरेका छन ।
सभापति देउवाले महामारीका बेला सरकारले विपक्षी दलका नेताको भूमिका मुक्त गर्ने गरी अध्यादेश ल्याउनु, सांसदको अपहरण हुनु जस्ता घटनाप्रति दुःख व्यक्त गर्दै सरकारले प्रभावकारी कार्य गर्न नसकेको आरोप समेत लगाएका छन ।
सत्तापक्षीय दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको दलका उपनेता सुभावचन्द्र नेम्वाङले देशले कोरोना चुनौतीलाई सामना गरिरहेको अवस्थामा कोरोना विरुद्धको लडाईमा सिंगो देश एकजुट हुनु आवश्यक रहेको बताएका छन ।
उपनेता नेम्वाङले बन्दाबन्दी आवश्यकता र बाध्यता हो भन्दै यसको विकल्प नरहेको र सरकारले सरकारले प्रभावकारी कदम चाले कै कारण देशमा कोरोनाको संक्रमणले भयावह रुप लिन नपाएको बताएका छन
।
उनले कोरोनाविरुद्धको लडाईमा संसद बैठकले आधार तय गर्ने अपेक्षा व्यक्त गर्दै प्रि बजेट छलफल नीति कार्यक्रम, बजेट कानुन निर्माण लगायत विषयमा छलफल हुने भएपनि अहिले प्राथमिकता कोरोना नै भएको बताएका छन ।
उपनेता नेम्वाङ्ले प्रतिपक्षी दलका नेताले भने जस्तो समाजवादी पार्टीका सांसद अपहरणको घटनाको यथार्थ हो भने त्यस विषयमा संसदले थाहा पाउनु पर्ने बताएका छन ।
राजपा नेपालका नेता राजेन्द्र महतोले कोरोना नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न र नेपाली जनताको जीवन रक्षाको माग गरेका छन ।
उनले सरकारले कोरोनाको परीक्षण प्रभावकारी रुपमा हुन नसकेको भन्दै परीक्षण व्यापक बनाउन माग गरेका छन।
उनले सरकारले किसानलाई कृषि काम गर्न अवरोध गर्नु हुदैन, श्रमिक बेरोजगारलाई राहत दिने र जनता जोगाउने तिर नै अबको बजेट समेत केन्द्रित हुनु पर्ने बताएका छन ।
पूर्व प्रधानमन्त्री एवं सांसद डा.बाबुराम भट्टराईले कोरोना संक्रमित थोरै भेटिएको भनेर सरकार ढुक्क भएर बस्न नुहुने भन्दै नगन्य रुपमा भइरहेको परीक्षणको दायरा बढाउन सरकारसँग माग गरेका छन ।
उनले बन्दाबन्दी, नाकाबन्द गरेको बिषय बाहेक कोरोना विरुद्धको अन्य कार्य सन्तोषजनक हुन नसकेको भन्दै विभिन्न देशमा अलपत्र परेका नेपाली नागरिकलाई विशेष व्यवस्थापन गर्नु पर्नेमा जोड दिएका छन ।
नेता डा.भट्टराईले विश्वमा अबको अर्थतन्त्र दोस्रो विश्वयुद्धपछिको सबैभन्दा मन्दी आउन लागेको आकलन भइरहेको भन्दै नेपालको अर्थतन्त्रमा दुई देखि पाँच खर्वको नेक्सान हुने अनुमान गरिएकाले रोजगारी, कृषि, शिक्षा र स्वास्थ्य केन्द्रित भएर बजेट ल्याउनु पर्नेमा समेत जोड दिएका छन ।
उहाँले कोरोनाको संक्रमण कहिलेसम्म रहन्छ भन्ने निश्चित नभएकाले उत्पादन, संकलन र वितरणको प्रभावकारी प्रबन्ध गर्नु पर्ने, ६४ लाख भन्दा बढी विद्यार्थी बन्दाबन्दीमा रहेकाले उनीहरुको बारेमा विशेष व्यवस्था गर्नु पर्ने बताएका छन।
उनले महामारीकोबीचमा पार्टी फुटाउने गरी सरकारले विधेयक ल्याउनु, सांसदको अपहरण गर्ने जस्ता विधिको शासन विरुद्धको कार्य भएकाले यसले लोकतन्त्रलाई बलियो बनाउन नसक्ने बताएका छन ।
राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले भारतमा रहेका बेखर्ची नेपालीलाई नेपाल ल्याएर उपाचार र व्यवस्थापन गर्न सरकारसँग माग गर्दै विश्वका कुनै पनि देशमा अलपत्र परेका नेपालीहरुलाई ल्याएर क्वारेन्टाइनमा राख्ने उपचार गर्ने र श्रमसँग जोड्ने तर्फ अब सरकारले काम गर्नु पर्ने बताएका छन।
उनले स्वास्थ्य उपकरण र राहत सामग्रीमा भ्रष्टाचार भइरहेको भन्दै त्यस्ता भ्रष्टाचारीलाई कडाभन्दा कडा कारवाही हुनु पर्ने र कोरोना विरुद्धको लडाइमा सबै एकताबद्ध भएर लाग्नु पर्ने बताएका छन ।
नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले राहत वितरणमा विभेद भएको, एकद्वार प्रणाली लागु हुन नसकेको स्वस्थ्य कर्मीलाई पर्याप्त सुरक्षा सामग्री उपलब्ध हुन नसकेको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन।
प्रतिनिधिसभाको अर्को बैठक बैशाख २८ गते आइतबार विहान ११ः००बजे बस्ने छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया