जेठ ५, २०८१ शनिबार May 18, 2024

समाजवादी मोर्चाको अनुहार – प्रा. कृष्ण पोखरेल

मोर्चा गठनमै निषेधको राजनीति गर्नेहरूको आगामी यात्रा कति निरापद होला ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

लामो रस्साकस्सी र कब्जियतपछि बल्ल हिजो नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र नेत्रविक्रम चन्द विप्लवको पार्टी नेकपा मिलेर समाजवादी मोर्चा बन्यो । यसले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादको विशेषता पहिचान गरी समाजवादको नेपाली बाटो तय गर्ने मुख्य उद्देश्य राखेको छ । आफ्नो उद्देश्यमा यो मोर्चा कति सफल होला, त्यो त्यसमा आबद्ध राजनीतिक दलका नेताको आपसी विश्वास, इमानदारी, तिनको सुझबुझ र कार्यसञ्चालनका मार्गमा आउने चुनौती सामना गर्ने तिनको क्षमतामा भर पर्ला ।

त्यसैले, अहिले नै यो सफल भइहाल्छ वा असफल नै हुन्छ भन्ने निष्कर्ष निकाल्नु हतारो हुन्छ, किनकि यो भनेको लामो यात्राको पहिलो बिसौनी हो र यसको परिणाम समयक्रममा देखिने विषय हो । पंक्तिकारले यस आलेखमा मोर्चाको दस्ताबेजको अन्तरकुन्तर चियाउने वा त्यसको सकारात्मक र नकारात्मक पक्षबारे पनि विवेचना गरिरहेको छैन ।

पंक्तिकारको नजर मूलतः मोर्चा निर्माणको समय, मोर्चामा सामेल राजनीतिक पार्टीको प्रकृति, समाजवादी मोर्चा निर्माणका लागि लामो समयदेखि दौडधुप गरिरहेका नेताको अनुपस्थिति, प्रमुख प्रतिपक्षी दल एमालेका नेताको प्रतिक्रिया र सत्तारुढ गठबन्धनकै सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको मौनता, कार्यकर्तामा देखिएको उत्साह र आमजनतामा देखिएको अन्यमनष्क भावतर्फ केन्द्रित रहनेछ ।

मोर्चा निर्माणको समय :  सबैभन्दा पहिले मोर्चा निर्माणको समयलाई हेरौँ । विगतको अनुभवलाई हेर्ने हो भने नेपालमा कि त मोर्चा आन्दोलनका लागि बन्ने गरेका छन् कि त निर्वाचनका लागि । तर, यतिवेला न त आन्दोलनको मौसम छ, न त निर्वाचन नै सन्निकट छ । उसो भए यो मोर्चा अहिले नै किन ? हो, यहीँनेर मोर्चाको घोषित उद्देश्य र वास्तविकतामाझ गहिरो खाई देखिन्छ । वास्तवमा भन्नलाई जे भनिए पनि यो मोर्चामा सामेल संसद्वादी दल अन्य दुई ठूला दलसँग आफ्नो मोलमोलाइको शक्ति बढाउन चाहन्छन् ।

मोर्चा गठनका लागि लामो गृहकार्य गरेका डा. बाबुराम भट्टराई मोर्चामा अटेनन् । मोर्चाभित्र सामेल कुनै एक दलका नेतासँग उनको वैरभाव नै यसको कारण त होइन ? यदि हो भने मोर्चा गठनमै निषेधको राजनीति गर्नेहरूको आगामी यात्रा कति निरापद होला ? 

अब मोर्चामा आबद्ध दलको प्रतिनिधिसभाको अंकगणित ५४ को बेवास्ता गर्नै नमिल्ने ठाउँमा पुग्छ, जसले गर्दा कांग्रेस र एमाले नै मिल्ने अवस्थामा बाहेक यिनलाई पन्छाएर कुनै सरकार बन्न सक्दैन । र, फेरि अहिलेदेखि नै मोर्चाको अभ्यास गर्न सकियो र यसले सकारात्मक परिणाम दियो भने सुदूर भविष्यमा हुने आमनिर्वाचनमा यसपटकको जस्तो झड्का व्यहोर्नु पर्नेछैन भन्ने पनि आकलन होला दलहरूको । यसबाहेक पनि माओवादीलाई नेत्र विक्रमको साथले आफ्नो इमेज उकास्ने अवसर, जनता समाजवादीलाई जनमत पार्टीको धक्काबाट बच्ने सामथ्र्य र एकीकृत समाजवादीलाई किस्ता–किस्तामा आफ्ना नेता–कार्यकर्ता एमालेमा फर्किने भयबाट मुक्ति पनि कारण हुन सक्छन् ।

फरक प्रकृतिका दलको सामेली :  अब एकपटक यो समाजवादी मोर्चामा सामेल राजनीतिक दलको प्रकृतितर्फ नियालौँ । नेत्रविक्रम चन्दको पार्टीबाहेक अरू त संसदीय राजनीतिमा खाई–खेली रमाएकै दल हुन् । उनीहरूसँग बिल्कुल विजातीयजस्तो देखिने र क्रान्तिको रापतापले सुसज्जित पार्टी कसरी र किन यो मोर्चामा आबद्ध हुन आयो होला ? संसद्वादी दलका लागि त मोर्चामा थप एउटा दल आउने र त्यो पनि भड्किएर हिंसाको बाटामा हिँडेको शक्ति शान्तिपूर्ण राजनीतिमा आउने हुँदा ठिकै हुने होला । तर, प्रश्न त ‘नयाँ प्रचण्ड’ बन्न हिँडेका चन्द किन यी संसद्वादीको मोर्चामा आए भन्ने हो नि ! पंक्तिकारलाई लाग्छ, यसका केही खास कारण हुन सक्छन् ।

एउटा त आफू हिँडेको बाटोबाट पुनः हिजोको जस्तो शक्ति आर्जन गर्न सकिन्न भन्ने अनुभूति, अर्को विभाजनका कारण शक्ति क्षयको अवस्था । यीअतिरिक्त माओवादी केन्द्रमा पुस्तान्तरको अवस्था आउँदा त्यहाँ आफ्ना लागि स्थान बनाउन सकिन्छ कि भन्ने आकलन पनि हुन सक्छ । अन्यथा, वैज्ञानिक समाजवाद खोज्न हिँडेको दलका लागि यी रंगीचंगी समाजवादीसँग नारिनुपर्ने बाध्यता कसरी आइपुग्यो होला ?

खड्किएको विषय :  यो समाजवादी मोर्चामा डा. बाबुराम भट्टराईको अनुपस्थिति सबैभन्दा खड्किएको विषय हो । दुनियाँ जान्दछ कि यो समाजवादी मोर्चा उनकै मानस–सन्तान हो । यसका लागि उनले लामै गृहकार्य पनि गरेका थिए । उपेन्द्र यादवसँग छुट्टिएपछि उनले गठन गरेको दलको नाम नै नेपाल समाजवादी पार्टी राखे । त्यति मात्र होइन, यसका लागि उनले माओवादी केन्द्रसँग चुनावी तालमेल पनि गरे । तर, उनै डाक्टर साहेब यो मोर्चामा अटाएनन् । के मोर्चाभित्र सामेल कुनै एक दलका नेतासँगको उनको वैरभाव नै त यसको कारण होइन ? यदि यही नै कारण हो भने मोर्चा गठनमै निषेधको राजनीति गर्नेहरूको आगामी यात्रा कति निरापद होला ? यसको जवाफ मोर्चा निर्माणका हर्ताकर्ताले नदिई धर पाउँदैनन् ।

अन्य दलको प्रतिक्रिया :  जहाँसम्म प्रमुख प्रतिपक्षी दल एमालेको नकारात्मक प्रतिक्रियाको प्रश्न छ, त्यो बुझ्न सकिन्छ । आफूलाई मात्र समाजवादको ठेकेदार ठान्ने त्यस पार्टीका अध्यक्षको यो मोर्चा आफ्ना लागि चुनौती बन्ने आकलन होला । यसले संसद्भित्र गणितीय खेल खेलेर खेलोफड्को गर्ने बाटो थुनेको अनुभूति पनि हुन सक्छ । सबैभन्दा ठूलो विषय एकीकृत समाजवादीलाई फुटाएर वा लोभ्याएर आफ्नो संसदीय शक्ति बढाएर कांग्रेस टक्करको पार्टी बन्ने सम्भावनामाथि छेकबार लाग्ने अवस्था आएका कारण पनि त्यो दल तिलमिलाएको हुन सक्छ ।

भन्नलाई जे भनिए पनि मोर्चा बनाएर यसमा सामेल संसद्वादी दलले अन्य दुई ठूला दलसँग आफ्नो मोलमोलाइको शक्ति बढाएका छन्

अब एकपटक सत्तारुढ गठबन्धनभित्रको सबैभन्दा ठूलो दल कांग्रेसतर्फ फर्कौं । समाजवादी मोर्चा निर्माणको लामो रस्साकसी हुँदादेखि बन्दासम्म पनि त्यो दलले पक्ष वा विपक्षमा कुनै औपचारिक प्रतिक्रिया दिएको छैन । यसको सोझो अर्थ हो, उसलाई यसबाट कुनै घाटा–नाफा हुनेवाला छैन । न उसको भोटबैंकमा नकारात्मक प्रभाव पर्नेवाला छ, न त सत्ता गठबन्धन दाहिने–देब्रे हुनेवाला छ । ‘हिंग लगे न फिटकिरी,’  अतः ऊ निश्चिन्त हुनु त स्वाभाविकै हो ।

प्रतिक्रिया : अब एकपटक मोर्चा घोषणाको सभास्थलमा देखिएको कार्यकर्ताको उत्साह, सामाजिक सञ्जालमा आएका नकारात्मक टिप्पणी र आमजनतामा देखिएको अन्यमनष्क भावलाई अथ्र्याऊँ । कार्यकर्ता उत्साही हुनु त स्वाभाविक छ, किनकि यदि यो मोर्चाको प्रयोग सफल भयो भने त्यसले तिनको हैसियत त बढ्ने नै भयो र त्यसमा थप तिनको अन्य दलसँगको प्रतिस्पर्धी क्षमता पनि बढ्ने निश्चित छ । रह्यो, सामाजिक सञ्जालको कुरा । त्यो भनेको कि कसैलाई सर्काउन लागिपर्छ कि उडाउन । उनै जाँचिसकिएका नेताहरूको जमघटलाई सर्काउनभन्दा उडाउँदा वाहवाही पाइने हुँदा ती त्यता लाग्ने नै भए । जहाँसम्म आमजनताको प्रश्न छ, ती पटक–पटक राजनीतिक दलहरूसँग यसरी ठगिएका छन् कि तिनलाई राजनीतिक दलका हरेक फन्डा झुटो लाग्छ । अतः तिनले परिणाम देखे भने मात्रै पत्याउने अवस्था छ । तिनका लागि यो मोर्चा ‘ढाँटको निम्ता खाई पत्याउनु’ भनेझैँ भएको छ ।

अन्त्यमा :  र, अन्त्यमा समाजवादकै कुरा गरेर आलेख टुंग्याऊँ । बीसौं शताब्दीका प्रसिद्ध बेलायती समाज वैज्ञानिक सिइएम जोडले  भनेका थिए, ‘समाजवाद यतिवेला जसले पनि टाउकोमा भिरेका कारण आकृति गुमाएको टोपीजस्तो भएको छ ।’ उनको यो कथन हाम्रो मुलुकको परिवेशमा ठ्याक्कै मिल्छ । हाम्रो त संविधान नै समाजवादउन्मुख छ ।

समाजवादी नामै भएका र पुच्छर जोडिएका पार्टी पनि बग्रेल्ती छन् । कोही लोकतान्त्रिक समाजवादी छन् भने कोही बहुदलीय समाजवादी, त कोही वैज्ञानिक समाजवादी । हुँदाहुँदा सत्तारुढ दलविरुद्ध सिर्जित जनअसन्तोषको बुई चढेर उदय भएको दलसमेत समाजवादतर्फ लाग्न अग्रसर देखिन्छ । यी सबैबीच अस्तित्वमा आएको छ, यो समाजवादी मोर्चा ।
आजको जमाना प्रभावकारी राज्यको हो ।

मुलुकमा कुन वादको शासन छ भन्दा पनि कसले व्यापक जनसमुदायको हितमा प्रभावकारी शाासन दिन सक्छ, त्यसले अर्थ राख्छ र त्यो चल्छ पनि । समाजवादकै वैचारिक आवरणमा पनि ‘झुर शासन’ भयो भने त्यसको पछि कोही किन सती जान तयार हुन्छ ? यो कुरालाई ध्यानमा राखेर मोर्चा निर्माणमा लागेका दलहरू आआफ्नो ‘इमेज’ सुधार्दै अघि बढे भने केही होला पनि । होइन भने जुन जोगी आए पनि कानै चिरिएका त हुन् नि भन्ने भाष्य जनतामा जान बेर लाग्दैन । यसको हेक्का समाजवादी मोर्चाका निर्मातालाई हुन जरुरी छ । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे
२०८१ जेठ ५, शनिबार
एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी- २० को उपाधि
२०८१ जेठ ५, शनिबार
ताइवानको संसदमा भीषण झडप, सांसदहरुबीच हानाहान !
२०८१ जेठ ५, शनिबार
हार्दिकलाई एक खेलको प्रतिबन्ध, अर्को आइपिएलको पहिलो खेल गुमाउने
२०८१ जेठ ५, शनिबार
गाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
२०८१ जेठ ५, शनिबार
सभामुखको प्रधानमन्त्री र ओलीलाई सुझाव : अवरोधका बीच विश्वासको मत लिदा राम्रो जादैन
२०८१ जेठ ५, शनिबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले दोस्रो चरणका संघर्षका कार्यक्रम घोषणा
२०८१ जेठ ५, शनिबार