जेठ ५, २०८१ शनिबार May 18, 2024

भयाकुल सामूहिक मानसिकता – सीके लाल

आवधिक निर्वाचनले यथास्थितिको वैधानिकतालाई नवीकरण गर्ने मात्रै हो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

लिखित संविधान भएको जुनसुकै देशका राष्ट्रप्रमुखको आधारभूत काम मूल कानुनको पालना गर्नु–गराउनु, संरक्षण र प्रवर्द्धन गर्नु नै रहने गरेको हुन्छ ।

नेपालको संविधानले पनि राष्ट्रपतिको काम, कर्तव्य र अधिकारको व्यवस्थामा ‘संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ’ भन्ने प्रावधानलाई उच्च महत्त्वका साथ उल्लेख गरेको छ । संघीय संसद्ले पारित गरेको नागरिकता विधेयक १५ दिनभित्र प्रमाणीकरण नगरेर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले स्पष्ट संवैधानिक व्यवस्थाको उल्लंघन गरेकी थिइन् । पूर्वराष्ट्रपति भण्डारीको त्यो निर्णय अवैधानिक हुनुका साथै अनैतिक पनि थियो । प्रचलित व्यवस्था अनुसार नागरिकताका लागि योग्य व्यक्तिलाई राज्यविहीन बनाउन आफ्नो

नभएको अधिकार प्रयोग गर्ने काम राजनीति हुन सक्छ, नीतिपरक कर्म भने कतै बाट पनि होइन । पदासीन राष्ट्रपति रामचन्द्र पौडेलले आफ्ना पूर्ववर्तीको दुर्भावयुक्त निर्णयलाई सच्याएर प्रशंसनीय काम गरेका छन् । सर्वोच्च अदालतले राष्ट्रपति पौडेलको फैसलालाई सही ठहर्‍याएर राज्यविहीन बनाइएका नेपालीहरूको पीडालाई न्यूनीकरण गर्ने बाटो खोलिदिएको छ । तर, ‘नेपालको कानुन, दैवले जानून्’ आहान कायम रहेको देशमा आश्वस्त भइहाल्न भने सकिँदैन । नागरिकतालाई अधिकारको साटो सुविधाका रूपमा अर्थ्याउने प्रदायक संयन्त्रको पूर्वाग्रहले स्पष्ट वैधानिक व्यवस्थालाई पनि आदेशहरूको जञ्जालमा सहजै अल्झाइदिन सक्छ । सिक्किमीकरण, फिजीकरण, तिब्बतीकरण, इसाईकरण, इस्लामीकरण एवं पश्चिमीकरणजस्ता अनगिन्ती राजनीतिक एवं सांस्कृतिक ‘प्रदूषणहरू’ बाट देश जोगाउने ठेक्का लिएका राष्ट्रवादी राजनीतिकर्मी एवं राज्याधिकारीहरूलाई मनलागी गर्नबाट रोक्ने कुनै शक्ति नेपालमा छैन ।

सक्नेले जे गरे पनि फरक पर्दैन भने मान्यताको उदाहरणका रूपमा पशुपतिनाथको जलहरी प्रकरणलाई पनि लिन सकिन्छ । कोभिड–१९ महाव्याधि फैलिएका बेला २०० वर्ष पुरानो चाँदीको जलहरीलाई सुनले प्रतिस्थापन गर्ने लहडी निर्णय तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले गरेका थिए । अदालतले त्यस अनुपयुक्त योजनामा अन्तरिम आदेशमार्फत रोक लगाउने बेलासम्म कार्यान्वनको जिम्मा पाएको निकायले आफ्नो काम ‘फास्ट ट्र्याक’ प्रक्रियाबाट सम्पन्न गरिसकेको थियो । इतिहासमा अंकित हुन लालायित तत्कालीन राष्ट्रपति भण्डारीसँगै तत्कालीन प्रधानमन्त्री शर्मा ओलीले पनि त्यस धार्मिक संरचनाको सुनौलो पातामा आफ्ना नाम कुद्न लगाएका रहेछन् । त्यो कुरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलहरीको नापतौल तथा शुद्धता परीक्षण गर्ने क्रममा फेला पारेको हो । धर्मनिरपेक्ष गणतन्त्रका स्वघोषित मार्क्सवादी लेनिनवादी सरकारले देशमा आपत्–विपत् परेका बेला राज्यको ढुकुटी मासेर मन्दिरमा सुनको जलहरी चढाउने, जनस्तरबाट त्यस उपकरणको तौल र गुणस्तरमा प्रश्न उठाइने र पवित्र संरचना टुक्राएर शुद्धता जाँच गर्ने विडम्बनापूर्ण कामहरूको सिलसिला ‘काशी–कश्मीर, अजब नेपाल’ भनिने देशमा खासै असामान्य नमानिने रहेछ । अनुसन्धान गर्ने आयोगले भ्रष्टाचार भएको वा नभएको प्रमाणपत्र जारी गरे पनि तत्कालीन सरकारको त्यस ‘सत्कर्म’ को आवश्यकता, उपयोगिता, वैधानिकता तथा नैतिकताको परीक्षण भने गर्न सक्दैन ।

आलु–प्याजमा मूल्य अभिवृद्धि कर लगाइएकाले जनकपुरका थोक व्यापारीहरू आन्दोलित भएका छन् । महँगीको मारमा परेका उपभोक्ता बोल्दैनन् । महिनौंसम्म सवारी चालक अनुमतिपत्र वितरण बन्द रहनु नियमितजस्तै भएको छ । राहदानीको आवेदनमा क्रमांक उल्लेख गर्नेबाहेक अहिलेसम्म खासै कुनै आवश्यकता र उपयोगिता नदेखिएको राष्ट्रिय परिचयपत्रलाई हौवा बनाइएको छ । जुनसुकै आवश्यकताले गर्दा सरकारी कार्यालयमा गए पनि जानपहिचानका व्यक्ति त्यहाँ छैनन् भने बिचौलियाको सेवा नलिई कुनै काम गराउन सकिँदैन । निःशुल्क कुरा काट्नु र सशुल्क कामकुरो मिलाउनु चल्तापुर्जा नेपालीहरूको प्रमुख धन्धा हुन गएको छ । धारामा पानी आउँदैन । बिनापूर्वसूचना छिनछिनमा बत्ती जान्छ । सामुदायिक विद्यालयमा पढाइ हुँदैन । विश्वविद्यालयमा विद्यार्थीद्वारा प्राध्यापक पिटिन्छन् । अव्यवस्था र भीडभाडले गर्दा अधिकांश सरकारी अस्पतालको हालत खराब छ । मिटरब्याजी वित्तीय व्यवस्था र औषधि पसलको स्वास्थ्य सेवापछि प्रमाणपत्रका लागि शिक्षा तेस्रो सबभन्दा आकर्षक व्यापार बन्न पुगेको छ । महानगरपालिकाहरूले सडकछेउबाट व्यवसाय गरेर गुजारा गर्नेहरूको ठेला हटाएर महँगा गाडीलाई पार्किङ गर्न सहज बनाइदिएका छन् । देशका सडकहरू असुरक्षित छन्, यातायात मजदुरमा ‘सबभन्दा पहिले सुरक्षा’ भनिने संस्कार स्थापित हुन सकेको छैन, र, व्यवसायीहरू यात्रुको सुरक्षा र सुविधाप्रति संवेदनशील देखिँदैनन् । सार्वजनिक वृत्तलाई भने राजनीतिकर्मीका हर्कतले मात्र उद्वेलित गर्ने रहेछ । यस्तो हविगत हुँदाहुँदै पनि मुखर नेपालीहरू किन ‘रातो र चन्द्र सूर्य, जंगी निसान हाम्रो’ गाउँदै मक्ख परेर बस्छन् ? किन निर्वाचित प्रतिनिधिहरू भित्तामा ‘ग्रेटर नेपाल’ को नक्सा झुन्ड्याएर सहजै सामान्यजनलाई झुक्याउन सफल हुन्छन् ? राष्ट्रवादको नाराले किन सामान्यजनलाई लठ्याउँछ ? यस्तै सबै प्रश्नको सबभन्दा सहज उत्तर नेपालीहरूमा व्याप्त रहेको सामूहिक आत्ममुग्धता (कलेक्टिभ नार्सिसिज्म) भाव हुन सक्छ ।

आत्मवञ्चक मनोवृत्ति

सामूहिक आत्ममुग्धताको प्रेरक तत्त्व यथास्थितिवादीको स्वार्थ हुने गर्छ । शक्ति र सम्पत्तिको असमानता व्याप्त रहेको समाजमा वर्चस्वशाली समूह बाँकी सबैलाई अलमल्याउन देश वा अन्य कुनै समुदायको सामूहिक पहिचान महान्, श्रेष्ठ एवं विशिष्ट रहेको भ्रम फैलाउँछन् । अन्य समूहले तिनको भव्यतासँग द्वेष राखेको भय उत्पन्न गराउँछन् । र, सामूहिकताको स्थायित्वमा अतिरञ्जित विश्वास जगाउँछन् । त्यसपछि कमजोर, विपन्न र असुरक्षित व्यक्तिले पनि सामूहिक आत्ममुग्धतामा आत्मसन्तुष्टि भेट्टाउन थाल्छ । प्रत्येक उत्तरले नयाँ प्रश्न जन्माउन सक्नुपर्छ भन्ने जिज्ञासु मान्यतालाई पछ्याउने हो भने सोध्न कर लाग्छ, ‘नेपालीहरूमा यति विघ्न आत्ममुग्धता किन छ ?’ कहिल्यै कसैको उपनिवेश नरहेको दाबी र अर्काका लागि युद्ध लडेर भिक्टोरिया क्रस पाएको गौरव एकअर्कासँग पटक्कै मेल नखाने कुरा हो । अन्तर्राष्ट्रिय सिमाना नै बाह्य शक्तिसँगको युद्धमा पराजित भएपछि निर्दिष्ट गरिएको देशमा ‘पश्चिम किल्ला काँगडा पूर्वमा टिस्टा पुगेथ्यौं / कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौं’ सगौरव गाइन्छ । एकातिर देशलाई ‘सुनको टुक्रा’ पनि भन्ने र अर्कोतिर सामान्यजन यहाँ टिक्न सक्ने न्यूनतम परिस्थिति बनाउन सिन्कोसम्म नभाँच्ने जमात राष्ट्रवादी कहलिने विरोधाभासलाई अर्थ्याउन कठिन छ । राजनीतिक मनोविज्ञानका अध्येताहरूले भने समूहगत व्यवहार र मनोवृत्तिलाई समाजमा व्याप्त जनविश्वास, सांस्कृतिक मूल्यमान्यता, ऐतिहासिक पृष्ठभूमि, भौगोलिक अवस्था एवं आर्थिक स्रोतहरूसँग जोडेर व्याख्या गर्ने गर्छन् । त्यस्ता सबै अवयवको संयोजनले प्रतिनिधिमूलक ‘राष्ट्रिय मानसिकता’ तयार हुन्छ । अन्य सबै सामान्यीकरणजस्तै ‘राष्ट्रिय मानसिकता’ अवधारणा एक किसिमको व्याख्या मात्र हो, कुनै निर्देशक सिद्धान्त होइन । तर, ‘यहाँ यस्तै हो’ भने प्रतिक्रियापछाडि रहेको प्रश्न ‘किन त ?’ लाई राष्ट्रिय मनोविज्ञान विश्लेषण पद्धतिले एक हदसम्म सम्बोधन भने गर्न सक्छ ।

निःशुल्क कुरा काट्नु र सशुल्क कामकुरो मिलाउनु चल्तापुर्जा नेपालीहरूको प्रमुख धन्धा हुन गएको छ 

सन् १८९० को दशकमा इतिहासकार फ्रेडरिक ज्याक्सन टर्नरले अमेरिकीहरूको राष्ट्रिय मनोविज्ञानलाई सीमावर्ती मानसिकता (फ्रन्टियर मेन्टालिटी) भनेर व्याख्या गरेका थिए । टर्नरका अनुसार सीमावर्ती मानसिकता भनेको बेअदबी, तागत, तीक्ष्णता एवं अर्जनशीलता (अक्विजिटिभनेस) सम्मिलित रहेको चारित्रिक विशेषता हो । सबै अमेरिकी त्यस्तै छन् भन्नेचाहिँ होइन । आदिवासी अमेरिकीहरू, अफ्रिकी मूलका अमेरिकी, अन्य अश्वेत नागरिक एवं गौरवर्णीय युरोपेली अधिवासीहरू (सेटलर्स) पक्कै पनि उस्ताउस्तै छैनन् । तर, अमेरिकामा सीमावर्ती मानसिकताको प्रभावलाई मूलधारका मिडियाद्वारा बारम्बार बेआबरु ठहर्‍याइएका पूर्व एवं पदाकांक्षी राष्ट्रपति डोनाल्ड ट्रम्पको निरन्तर लोकप्रियताले देखाउँछ । बेलायतलाई व्यापारीहरूको देश भनिन्छ, यद्यपि त्यहाँ पनि लडाकु प्रवृत्ति नभइदिएको भए कहिल्यै सूर्यास्त नहुने साम्राज्य खडा हुन सक्ने थिएन । भारतीय अविकास एवं जापानी चमत्कारलाई तुलना गर्दै आध्यात्मिक चिन्तक अरविन्द घोषले ‘भारतमा बुर्जुवा र जापानमा सामुराईÙ बस यस एउटा आदर्शको भिन्नतामा उन्नाइसौं शताब्दीका दुई राष्ट्रहरूको सम्पूर्ण विरोधाभासपूर्ण इतिहास समेटिएको छ’ भन्ने चारित्रिक फरक औंल्याएका छन् । अर्थशास्त्री जगदीश एन. भगवतीका अनुसार चिनियाँहरूको दाउ नाफा खोज्ने किसिमको हुन्छ भने भारतीयहरू लगानीको भाडा खाएर रमाउने प्रकृतिका हुन्छन् । औसत नेपालीको सामूहिक आत्ममुग्धतालाई कस्तो खाले राष्ट्रिय मनोविज्ञानले उत्प्रेरित गरिरहेको हुन सक्छ ? आत्ममुग्ध समुदायका चिन्तक र बौद्धिक पनि आत्मपरीक्षण गर्न हच्किन्छन् । त्यसैले नेपाली विद्वान्हरूले आत्मपरीक्षण गरेको दृष्टान्त धेरै छैन ।

नेपाली चरित्रको महेन्द्रवादी, मार्क्सवादी एवं माओवादी व्याख्याहरूमा खासै भिन्नता भेट्टाइँदैन । त्यस्ता सबै अवधारणा दक्षिण एसियामा आफ्नो नियन्त्रण कायम राख्न ब्रिटिस इस्ट इन्डिया कम्पनीका रणनीतिकारहरूले उत्पादन गरेका युद्धप्रिय जाति (मार्सल रेस) परिकल्पनामा आधारित छन् । शीतयुद्धका वैचारिक अधिप्रचारकहरू (प्रापगैन्डिस्ट्स) ले भने युद्धप्रिय जाति व्याख्यामा शान्तिप्रियता थपेर अर्थहीन वैचारिक प्रारूप पस्केका छन् । आ–आफ्ना पक्षका शासकहरूको विरुदावली गाउने गरी इतिहास ‘संशोधन’ कर्ममा रमाउने नेपालका स्वनामधन्य चिन्तकहरू जातीय गौरवगाथाबाट बाहिर निस्किने हिम्मत गरेको पाठ्य सामग्री भेट्टाउन कठिन छ । तिनको आत्मरतिलाई मलजल गर्ने अंग्रेजी भाषाका केही प्रतिनिधिमूलक कृतिहरूको चर्चा समीचीन ठहरिन सक्छ । उल्लिखित ग्रन्थहरूको भाषा अंग्रेजी रहेको भए पनि तिनले नेपालका महत्त्वाकांक्षी बौद्धिकहरूको विमर्शलाई उल्लेख्य रूपमा प्रभावित गरेकाले त्यस्ता पुस्तकहरूको महत्त्व तिनको प्रसारण आँकडा (सर्क्वलेसन फिग्यर) भन्दा धेरै बढी हुनुपर्दछ ।

सन् १९६० दशकको अन्ततिर अमेरिकाबाट नेपाल आएका लुडविग एफ. स्टिलर अन्ततः नेपाली नागरिक भएर नेपालमै बिते । पृथ्वीनारायण शाहको दिव्योपदेशलाई आधार बनाएर त्रिभुवन विश्वविद्यालयका लागि आफ्नो विद्यावारिधिको शोधग्रन्थ लेखेका इतिहासकार स्टिलरले गोर्खाली विजेतालाई सूक्ष्म तवरले ‘सम्भवामि युगे युगे’ पाराका तारणहारका रूपमा चित्रित गर्न कुनै कसर बाँकी राखेका छैनन् । उनको शोधग्रन्थ सन् १९७३ तिर ‘द राइज अफ द हाउस अफ गोर्खा’ शीर्षकले पुस्तकाकारमा पनि प्रकाशित भयो । खुँडा, खुकुरी एवं तरबारलाई युद्धको नैतिकताले बाँध्न सकिँदैन र बन्दुक आफैंमा वैधानिकताको स्रोत हो भन्ने परम्परागत मान्यतालाई देखाएर इतिहासकार स्टिलरले गोर्खाली विजेताको जनजातिहरूको सांस्कृतिक स्वायत्तीकरण (कल्चरल अप्रोप्रिऐसन) एवं मधेशको हाकाहाकी औपनिवेशीकरण कृत्यलाई प्राज्ञिक स्वीकृति प्रदान गरेका छन् । जित्नेको जयजयकार गर्दै दीपावली गर्ने संस्कारबाट नराम्रोसँग हराइएका जनजाति एवं मधेशीहरू पनि मुक्त छैनन् । सामाजिक मनोविज्ञानका अध्येता जोन थोमस जोस्टका अनुसार सत्ताका सञ्चालकहरूबाट पीडित एवं दबाइएकाहरू पनि अक्सर यथास्थितिको प्रतिरक्षामा उत्रिन्छन् किनभने त्यसो गरेपछि निश्चितता, सुरक्षा एवं सामाजिक स्वीकृतिजस्ता तिनका मनोवैज्ञानिक आवश्यकताहरू पूरा हुन्छन् ।

प्राध्यापक लियो ई. रोज अमेरिकाको युनिर्भसिटी अफ क्यालिफोर्निया, बर्कलेका अनुसन्धानदाता थिए । उनको ‘नेपाल ः स्ट्र्याटेजी फर सर्भाइभल’ भन्ने किताब पञ्चायतकालमा प्रतिबन्धितसमेत भएको थियो । अमेरिकाको ‘सेन्ट्रल इन्टिलिजेन्स एजेन्सी’ (सीआईए) द्वारा सञ्चालित हिमालय क्षेत्र परियोजनामा पनि संलग्न रहेका प्राध्यापक रोजले अफगानिस्तानदेखि भुटानसम्मका विभिन्न क्षेत्रबारे ज्ञान उत्पादन गरेका छन् । उनका तर्कहरूको अन्तर्भाव पनि इतिहासकार स्टिलरभन्दा खासै फरक छैन । नेपालजस्तो देशका लागि अस्तित्व रक्षा प्राथमिक कार्यसूची रहेको तर्कले भयाक्रान्त मानसिकता तयार गर्न मद्दत पुर्‍याउँछ । विसम्मति राख्नेहरूको दानवीकरण एवं अनुसारकहरूको दैवीकरण सहज हुन पुग्छ । मानवशास्त्री डोरबहादुर विष्टको बहुचर्चित एवं बहुउद्धृत कृति ‘फेटलिज्म एन्ड डेभलपमेन्ट : नेपाल्स स्ट्रगल फर मोडर्नाइजेसन’ ले काठमाडौंमा व्याप्त ‘बाहुनवाद, भाग्यवाद, आफ्नो मान्छे र चाकरी’ चतुष्कोणरूपी सांस्कृतिक विचलनलाई नेपालको अविकासका लागि जिम्मेवार ठहर्‍याएको छ । मानवशास्त्री एम.एन. श्रीनिवासको संस्कृतीकरण प्रस्तावना अनुसार तथाकथित तल्लो जाति एवं जनजातिका व्यक्तिहरूले उपल्लो श्रेणीमा उक्लिन ‘उच्च जाति’ भनिनेहरूको चालचलन अंगीकार गर्छन् । आफ्नो परम्परा परित्याग गरेर जनै भिर्न थाल्छन्, सत्यनारायणको कथा आयोजन गर्न सुरु गर्छन् र यो जुनीमा बाहुन कदापि हुन नसक्ने भएकाले चन्द्रवंशी वा सूर्यवंशी कहलिएका काल्पनिक राजाहरूसँग सम्बन्ध जोड्ने गरी क्षत्रिय वर्ण ग्रहण गर्छन् । सामान्यजनसँग मिसिने डरले गर्दा सम्भ्रान्त भने त्यसभन्दा माथि उक्लिनका लागि सोचको आधुनिकीकरणको साटो जीवनशैलीको पश्चिमीकरणलाई अंगीकार गर्छन् । आ–आफ्नो चलन अनुसार जाँड वा मोहीको साटो आयातित वाइनको चुस्की लिने हैसियत हासिल भएपछि इरानको क्रान्तिभन्दा अगाडिका चिन्तक जलाल अल–ए अहमदले औंल्याएको ‘घर्वजादेगी’ अर्थात् पश्चिमासक्तता (वेस्टौक्सिफिकेसन) प्रक्रिया पूरा हुन्छ । सर्वहारा र सम्भ्रान्त गरी सम्पूर्ण समाज निरन्तर भयमा बाँचेको देशबाट दुवै थरी सकेजति छिटो भाग्न खोज्नु कुनै आश्चर्यको कुरा भएन ।

सामूहिक अवसाद

राहदानी विभागका पदासीन महानिर्देशक सुरेन्द्र यादव युवा प्रशासक हुनुका साथै संवेदनशील अवलोकनाकर्ता पनि हुन् । विज्ञान पढे पनि स्याङ्जाली र गुल्मेलीहरूको संगतले गर्दा डाक्टर–इन्जिनियर बन्ने ध्याउन्न छोडेर लोकसेवाको तयारीमा जुटेकाले प्रशासनमा उक्लिन सकेको ठट्टा गर्छन् । अस्ट्रेलिया एवं जर्मनीमा उच्चाध्ययन गरेका छन् । केही दिनअगाडि आफ्नो नियमित कामभन्दा फरक उनको एउटा टिप्पणी बडो घतलाग्दो थियो, ‘देश भित्रभित्रै खोक्रिँदै छ । अरब जानेहरू पूर्वी युरोप भएर पश्चिमा मुलुकतिर सर्दै छन् । कोरिया र जापान त्यसपछि अस्ट्रेलिया वा क्यानडा जाने घुमाउरो बाटो भएको छ । अमेरिका गएकाहरूमध्ये थोरै मात्र फर्केर आउने सम्भावना छ ।’ परिस्थिति चित्रण भयावह भए पनि त्यसो किन भइरहेको छ भन्ने प्रश्नको उत्तर अरू जान्नेसुन्नेहरूजस्तै उनीसँग पनि छैन । सकारात्मक तवरले अर्थ्याउने हो भने आवासीय गतिशीलता आफैंमा नराम्रो कुरा होइन । अफ्रिका महाद्वीपबाट दुनियाँभरि फैलिएका आदिमानव एवं मध्यएसियाका चरनक्षेत्रबाट सिन्धु, सरस्वती र गंगा नदीको मैदानमा ओर्लिएका आर्य आप्रवासीहरूले आ–आफ्नै किसिमका सभ्यता निर्माण गरेका छन् । आप्रवासीहरूको आवासीय गतिशीलताले तिनमा ‘नयाँ अनुभवका लागि खुलापन’ को मानसिकता उत्पन्न गराउँछ । समस्या त्यस बेला उतपन्न हुन्छ जब आत्मकेन्द्रित प्रवासीहरू परिकल्पित अतीतको मोहले गर्दा आधारभूमिको वर्तमानलाई आलोचना गर्नुको साटो होच्याउन थाल्छन् । त्यसपछि पलायन हुन नसकेकाहरूमा अवसादका लक्षणहरू देखिन थाल्छन् ।

सामूहिक अवसादका केही अध्येताले अपर्याप्तता, निराशा, जीवनशक्तिको कमी, उदासी, निराशा भाव एवं सुस्केरालाई शारीरिकजस्तै मानसिक संक्रामक रोगका रूपमा अर्थ्याउने गरेका छन् । कुनै समुदायमा एउटा व्यक्तिलाई त्यस्तो मनोरोगले छोयो भने तिनका नजिककाहरू हुँदै समुदायमै त्यस्तो प्रवृत्ति फैलिन्छ । विगतको तुलनामा नेपालमा गरिबी केही घटेको छ, औसत आयु बढेको छ, बाल मृत्युदर कम भएको छ, वृद्धहरूको हेरचाहमा कठिनाइ भए पनि तिनको उपचार सुविधामा विस्तार भएको छ । तर व्यक्तिगतजस्तै सामूहिक भय पनि अनुभूति (पर्सेप्सन) हो जसको यथार्थपरक आधार नै हुनुपर्छ भने छैन । झन्डै ५० लाख खर्चेर अमेरिकामा अनौपचारिक कामदार बन्न जानुभन्दा मुर्रा भैंसी पाल्नु राम्रो हो भन्ने तथ्य र तर्कले नेपालबाट ‘जसरी पनि बाहिरिन सकिएन भने खाते होइन्छ’ भन्ने निष्कर्षमा पुगेकाहरूलाई आश्वस्त पार्न सकिँदैन । भयाक्रान्त सामूहिक मानसिकताको न्यूनीकरणका लागि राज्य संरचनामा सामान्यजनको सहभागिता बढाउँदै लग्नुपर्ने हुन्छ । केही महत्त्वाकांक्षी व्यक्तिहरू त्यसपछि पनि बाहिरिई नै रहनेछन् । आवधिक निर्वाचनले यथास्थितिको वैधानिकतालाई नवीकरण गर्ने मात्रै हो । सामान्यजनमा आस जगाउन आन्दोलनको विकल्प हुँदैन । राज्य र समाजलाई स्थिरता जडासक्ति (स्टबिलिटी फेटिस) बाट मुक्त गर्न नियमित जनआन्दोलनको विकल्प छैन । हिन्दी गजलकार दुष्यन्त कुमारको आह्वान – ‘मेरे सीने में नहीं तो तेरे सीने में सही / हो कहीं भी आग, लेकिन आग जलनी चाहिए’ – भयाक्रान्त समुदायको मुक्तिको प्राथमिक सर्त हो । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे
२०८१ जेठ ५, शनिबार
एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी- २० को उपाधि
२०८१ जेठ ५, शनिबार
ताइवानको संसदमा भीषण झडप, सांसदहरुबीच हानाहान !
२०८१ जेठ ५, शनिबार
हार्दिकलाई एक खेलको प्रतिबन्ध, अर्को आइपिएलको पहिलो खेल गुमाउने
२०८१ जेठ ५, शनिबार
गाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
२०८१ जेठ ५, शनिबार
सभामुखको प्रधानमन्त्री र ओलीलाई सुझाव : अवरोधका बीच विश्वासको मत लिदा राम्रो जादैन
२०८१ जेठ ५, शनिबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले दोस्रो चरणका संघर्षका कार्यक्रम घोषणा
२०८१ जेठ ५, शनिबार