काठमाडौं । सरकारले विहीबार घोषणा गरेको आर्थिक वर्ष ७७/७८ को बजेट पछि सुनको प्रतितोला मूल्यमा २३ सय ३२ रुपैयाँले भार थपिएको छ । कर वृद्धिपछि यसअघि निर्धारण हुँदै आएको मूल्यमा अब साढे २३ सय रुपैयाँ थपेर मात्रै नयाँ मूल्य तोक्न सकिने अवस्था भएको हो ।
यसअघि प्रति १० ग्राम सुनमा ६ हजार पाँच सय रुपैयाँले लाग्दै आएको भन्सार महशुल बजेटपछि दुई हजार रुपैयाँले बढाएर ८ हजार ५ सय रुपैयाँ पुर्याइएको छ । एक तोला सुनमा ११.६६४ ग्राम सुन हुन्छ ।
यस्तै चाँदीमा प्रतिकिलो ७५ हजार रुपैयाँ लाग्ने भन्सार महशुल १० हजारले बढाएर ८५ हजार रुपैयाँ पुर्याइएको छ । साबिकको भन्सार महशुलमा सुनको प्रतितोला भन्सार महशुल ३१ प्रतिशतले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मणिकरत्न शाक्यले बताएका छन । यस्तै चाँदीको भन्सार महुशुल पनि १३ प्रतिशतले बढेको शाक्यको भनाइ छ ।
दुई महिनादेखि बन्द रहेको सुन चाँदी व्यवसाय सरकारको कदमले थप धरासायी हुनसक्ने महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । भन्सार बढाउँदा व्यवसायीभन्दा उपभोक्ताका बढी मार पर्ने विषय भएका बज्राचार्यको भनाइ छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया