जेठ ५, २०८१ शनिबार May 18, 2024

प्रमुख दलहरूलाई अस्तित्वरक्षाको हाँक – लोकराज बराल

अब पुरानो समर्पण, सादा जीवन र जनमुखी हुनेभन्दा पनि कसरी पद र पैसा आर्जन गर्ने भन्ने धन्दामा माओवादीहरू अरू दलका नेतासरह लागेका छन् 

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दलहरूको क्षयीकरणका केही कारण छन् । पहिलो कारण हो— सिद्धान्तनिष्ठ राजनीतिको अवमूल्यन । यो सबै दलमा व्याप्त छ । नेपाली कांग्रेस देशको सबैभन्दा जेठो र लोकतन्त्रप्रति समर्पित दल भएको आम धारणामा परिवर्तन भइरहेको छ किनभने कागजी सिद्धान्त व्यवहारमा उतार्दा धेरै फरक पर्न थालेको छ ।

यस दलले २०१२ सालमा निर्धारण गरेको समाजवादका माध्यमद्वारा सर्वसाधारण जनताको जीवनस्तर उठाउन आर्थिक–सामाजिक सुधार गर्ने र उदार लोकतन्त्रप्रति समर्पित भई देश विकासमा लाग्ने नीतिबाट अब यही दल टढा भएको छ । गाँस, बास र कपासका साथै सामाजिक विभेदको अन्त्य अर्थात् आधारभूत आवश्यकताको पूर्ति गर्न सरकार र दल सबल र सक्रिय हुनुपर्नेमा राजनीतिलाई भ्रष्टीकरण गरी जसरी पनि सरकारमा पुग्ने र केही नेताको स्वार्थका लागि प्रयोग हुने यन्त्र भएको छ नेपाली कांग्रेस । हाल सालै चलिरहेका घोटाला प्रकरण, उच्च तहका पदाधिकारी र तिनका आसेपासेको संलग्नताको प्रचार र सत्यताले माथिका नेताहरू बढी रक्षात्मक भइका छन् र तिनलाई अब कम जनमुखी नेताका रूपमा हेर्न थालिएको छ ।

अनेक गठबन्धन गरी केही सिट बढाएकामा सन्तुष्टि लिने प्रवृत्तिले आइन्दा यो दलको जनसमर्थन, औचित्य र प्रभावकारिता हराउनेछ । सत्तामा पुग्नु मात्र दलको सफलता होइन, यसको गिर्दो छविप्रति सचेत भई निदान खोज्नु सफल नेताको दायित्व हो । नेपाली कांग्रेसले तीन क्रान्तिको नेतृत्व गरेको छ र प्रत्येक क्रान्तिले राजनीतिक संरचनागत परिवर्तन गर्न सफल भएको छ तर यस्ता परिवर्तनलाई सामाजिक–आर्थिक रूपान्तरण गरी राजनीतिक व्यवस्थालाई स्थायी गर्ने काममा यो दल अलमलिएको छ । यसको संघर्षशील क्षमतामा त्यसैले ह्रास आएको छ ।

तर पनि नेपाली कांग्रेसको सैद्धान्तिक धरातल अरूको भन्दा विश्वसनीय छ । यसको विकल्पका रूपमा देखिएका नेकपा (एमाले) र माओवादी केन्द्रले स्थिर सैद्धान्तिक आधार दिन सकेका छैनन् । किनभने तिनीहरू अझै बढी कम्युनिस्ट को हुने भन्ने प्रतिस्पर्धामा लागेका पाइन्छन् । पहिचानका लागि मार्क्स–लेनिनको नाम मात्र उपयोग गरी आफ्ना कमजोरी लुकाइरहेका छन् । यसमा बाबुराम भट्टराई र माधव नेपालको धारणामा केही व्यावहारिक र समयसापेक्ष विचार पाइन्छ किनभने उनीहरू जडसूत्रवादमा समाज रूपान्तरणको सम्भावना देख्तैनन् तर विचारबाहेक उनीहरूको रूपान्तरण गर्ने भूमिका कमजोर छ । आज विश्वमा बाँकी रहेका साम्यवादी

भनिने केही देश नेपालका लागि नमुना बन्न सक्तैनन् । नेपालमा त्यस्ता व्यवस्थाको सम्भावना नभएरै नेपाल कम्युनिस्ट पार्टीको जन्मदेखि आजसम्म कम्युनिस्ट पार्टीमा एकदलीयता र वर्गसंघर्षप्रति रुझान पाइँदैन ।

नेतृत्वका दृष्टिले नेपाली कांग्रेसका तीन प्रकारका नेता छन् । पहिलो पंंक्तिमा सभापति छन् जसलाई विधानले शक्तिशाली बनाएको छ तर उनी रूपान्तरकारी भूमिका खेल्ने हैसियत राख्तैनन् । उनले अनुयायीहरूको समूह बनाएर आफ्नो स्थिति केही समयका लागि बलियो बनाएका छन् । दोस्रोमा केही युवा नेता छन् जसले परिवर्तनका लागि विद्रोहको स्वर निकाल्न थालेका छन् तर निर्णायक मोडमा लाने ताकत आर्जन गरेका छैनन् । यसपल्टको केन्द्रीय समिति बैठकले यही प्रमाणित गरेको छ । तर अरू दलको दाँजोमा नेपाली कांग्रेसका केही युवा नेतामा दललाई अग्रगामी बनाउने दबाब भने बढेको छ । नेता र परिवर्तनकारीबीच एक थरी नेता–कार्यकर्ता पर्छन् जसलाई हामी तेस्रो पंक्तिमा राख्न सक्छौं । उनीहरू आफूलाई सुरक्षित स्थानमा राख्न चाहन्छन् । वास्तवमा एजेन्डा बनाउने अग्रसरता (इनिसिएटिभ) लिन र कार्यान्वयन गर्न जसले सक्छ, नेता त्यही हुन्छ । अरूका दाँजोमा लोकतान्त्रिक दल रहने आधार नेपाली कांग्रेसमा अझै छ किनभने अरू दल नेपाली कांग्रेसभन्दा विश्वासिलो, दरिलो भई लोकतन्त्रको विकासका लागि नयाँ एजेन्डासहित आएका देखिँदैनन् । सबैजसो यथास्थितिवादी नै छन् । अझै पनि कर्णाली प्रदेश, सुदूरपश्चिमका कतिपय जिल्ला र मधेशको तल्लो तहका जनताको जातीय र आर्थिक विभेदको अन्त्य गर्ने अभियान चलाउन र नीति कार्यान्वयन गर्न कुनै दल लागेको पाइँदैन । दलित उत्थानका कुरा औपचारिकतामा मात्र सीमित छन् ।

पुराना दलहरूको अस्तित्वरक्षाको प्रश्न उठ्न थाले पनि नयाँ आउने दलहरूको भविष्यसमेत यकिन छैन । नयाँ दलहरूको सिद्धान्त, संगठनको रूप, नेतृत्वको विश्वसनीयता प्रस्ट नभएकाले लोकतन्त्रको अग्रगामी विकासमा यी कति सहायक र स्थिर हुन्छन्, भविष्यले बताउला ।

दोस्रो पक्ष हो— संगठन । संगठनका दृष्टिमा नेपाली कांग्रेस कमजोर हुँदै गइरहेको छ । यसको जनाधार अति सीमित भैरहेको छ । आज भारतमा राहुल गान्धी एक उदाहरणका रूपमा उदाइरहेका छन् किनभने उनले डुब्न लागेको कांग्रेस (आई) लाई उँभो लगाउने अभियानमा पूरै लागेका छन् र भारतवासीले बिस्तारै उनको मूल्यांकन सही रूपमा गर्न थालेका छन् । यस्तै अभियान चलाउन सके र समाज परिवर्तनका नयाँ ढाँचा प्रस्तुत गर्दै जनविश्वास जगाउन सके मात्र अब नेपाली कांग्रेसको पनि भविष्य यकिन हुनेछ । जसैतसै पहिलो हुने सोचाइले अब यो दलको स्खलन अरू बढ्नेछ । गत चुनावमा यसको लोकप्रिय मत करिब ८ लाखले झरेको र अन्य नयाँ दलप्रति आकर्षण बढ्न थाल्दा सबैभन्दा बढी नोक्सान नेपाली कांग्रेसलाई नै हुँदै गएकाले यस्तो स्खलन भविष्यमा अझ बढ्नेछ । एकातिर भोटरको संख्या बढ्नु र अर्कातिर नेपाली कांग्रेसको लोकप्रियता सन् २०१७ को संसदीय चुनावको तुलनामा ३३.४ प्रतिशतबाट सन् २०२२ मा २५.७ प्रतिशतमा झर्नाले यो दलको भविष्यमाथि नै प्रश्नचिह्न लाग्न थालेको छ । नेपाली कांग्रेसको भोटको आधार नयाँ पिढीका मतदाता भएनन् । अरू कस्ता खालका मतदाताले यसलाई बचाउने ? आँधीजसरी आएका नयांँ दलहरूको अवस्था अहिले नै यकिन गर्न सकिँदैन । ती दलहरूको सिद्धान्त, संगठन, नेतृत्वको सोच, शैली र गराइले तिनको भविष्य निर्धारण हुनेछ ।

एमालेको अवस्था नेपाली कांग्रेसभन्दा अलिकति फरक छ । यसको संगठनात्मक संरचना अझै विखण्डित नभएको र वैकल्पिक वाम शक्ति मौलाउन नसकेकाले यसले केही समय आफ्नो आजको अवस्था धान्ने तर अब बढी लोकप्रिय भई एक्लै शक्ति आर्जन गर्ला भन्ने आधार भने छैन । सन् २०२२ को निर्वाचनमा नेपाली कांग्रेसको जस्तै यसको लोकप्रिय मत घटे पनि यसले प्राप्त गरेको मत कांग्रेसको भन्दा १ प्रतिशतले बढी नै छ । एमालेले केही ठाउँमा राष्ट्रिय प्रजातन्त्र पार्टीसित तालमेल गरे पनि यसले अन्य दलको गठबन्धनविपरीत एक्लै २६.९ प्रतिशत लोकप्रिय मत ल्याउनु पनि सफलता नै मान्नुपर्छ । तर यस्तै मत कायम रही दलको लोकप्रियतामा अब एकनासको स्थिरता रहने सम्भावना कम छ । एमालेका नेताको कार्यशैली र व्यक्तिकेन्द्रित सोचले गर्दा दल बलियो हुन सकेको छैन । भविष्यमा त्यस्तो विश्वासिलो र दरिलो नेतृत्वको उदय होला भन्न सकिने आधार पनि पाइँदैन । सुध्रिने लक्षण नदेखिँदा यो पनि नयाँ दलहरूको उर्लंदो छालमा नपर्ला भन्न सकिन्न । काठमाडौं र अन्य कतिपय ठाउँका पालिका र संसदीय निर्वाचनबाट यी ठूला भनिने दलहरूको अस्तित्वलाई चुनौती मिलेको छ । यस्तै अवस्था रहे नयाँ पिढीका मतदातालाई कुनै पनि पुरानो दलले आकर्षित गर्ने सम्भावना झन्झन् हराउँदै जानेछ ।

माओवादी केन्द्रको भविष्य झन् निराशाजनक छ । न यसले जनयुद्धताकाको उचाइ बचाउन सकेको छ न त नयाँ सन्दर्भमा आफूलाई नेपाली कांग्रेस र एमालेकै बराबरीमा राख्न सकेको छ । यसले पहिलो संविधानसभामा पाएको पहिलो स्थान पछिका चुनावमा हराउँदै गएको र माओवाद नारामा सीमित भएकाले संसदीय अभ्यासमा असान्दर्भिक प्रमाणित भएको छ । नेपाली जनता दलहरूलाई वादभन्दा पनि तिनका नेता–कार्यकर्ताको छवि, कार्यक्षमता, विश्वसनीयताका आधारमा समर्थन र विरोध गर्छन् । तर कुनै दलमा यी आधार हराउँदै जाँदा जनता नयाँ विकल्प खोज्छन् जसरी गत स्थानीय र राट्रिय चुनावमा उनीहरूले आफ्नो मत देखाए । नेपालका कम्युनिस्ट पार्टी फुट्ने, टुक्रिँदै अनेक समूह बन्ने परिपाटी पुष्पलाल र केशरजंग रायमाझीबीचको सैद्धान्तिक झगडा हुँदै सुरु भएको र २०१७ सालको परिवर्तनपछि अरू बढी चिरा पर्दै यो ठाउँसम्म आएको हो । रणनीतिमा अस्पष्ट फरक

धार देखिएको माओवादी जनयुद्ध हो तर यो पनि पछि संसदीय परिपाटीमा समाहित भएकाले अरू समूहजस्तै एउटा भएको छ । यसरी विखण्डित हुने परिपाटीमा व्यक्तिकेन्द्रित सोच बढी र सैद्धान्तिक आधार कम देखिन्छ । यसप्रति औंल्याउँदै हालको केन्द्रिय परिषद् बैठकले पनि गम्भीर हुनुपर्ने जनाएको छ । सबैको जीवनशैलीमा आमूल परिवर्तन भएकाले यी नेता र कार्यकर्ता पनि सुविधाभोगी भएका छन् । अब पुरानो समर्पण, सादा जीवन र जनमुखी हुनेभन्दा पनि कसरी पद र पैसा आर्जन गर्ने भन्ने धन्दामा माओवादीहरू अरू दलका नेतासरह लागेका छन् ।

दलबिनाको लोकतन्त्र एक कल्पना मात्र हो भन्ने तथ्य स्थापित भैसकेको छ । त्यसैले दलहरू सुध्रिनुबाहेक अर्को विकल्प छैन । तर पुराना दलहरूको अस्तित्वरक्षाको प्रश्न उठ्न थाले पनि नयाँ आउने दलहरूको भविष्यसमेत यकिन छैन । नयाँ दलहरूको सिद्धान्त, संगठनको रूप, नेतृत्वको विश्वसनीयता प्रस्ट नभएकाले लोकतन्त्रको अग्रगामी विकासमा यी कति सहायक र स्थिर हुन्छन्, भविष्यले बताउला । तर, यस्ता दलहरूको उदयले भने पुराना दलहरूको स्थिति केही हदसम्म खलबल्याउन सफल भएको तथ्य चुनावी परिणामले देखाइसकेको छ । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे
२०८१ जेठ ५, शनिबार
एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी- २० को उपाधि
२०८१ जेठ ५, शनिबार
ताइवानको संसदमा भीषण झडप, सांसदहरुबीच हानाहान !
२०८१ जेठ ५, शनिबार
हार्दिकलाई एक खेलको प्रतिबन्ध, अर्को आइपिएलको पहिलो खेल गुमाउने
२०८१ जेठ ५, शनिबार
गाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
२०८१ जेठ ५, शनिबार
सभामुखको प्रधानमन्त्री र ओलीलाई सुझाव : अवरोधका बीच विश्वासको मत लिदा राम्रो जादैन
२०८१ जेठ ५, शनिबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले दोस्रो चरणका संघर्षका कार्यक्रम घोषणा
२०८१ जेठ ५, शनिबार