वैशाख २९, २०८१ शनिबार May 11, 2024

स्वार्थमा चुकेको विश्व नेतृत्व- डा. चन्द्र भण्डारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भनिन्छ, संकटले नेतृत्वको परीक्षण गर्छ । जुन नेता र नेतृत्व विपत्का घडीमा जनभावना सम्बोधन गर्न सक्षम हुन्छन्, ती इतिहासमा अमर हुन्छन् । जो यस कसीमा खरो उत्रिँदैनन्, ती नामेट हुन्छन् । कोरोना–संकट पनि यस्तै ऐतिहासिक घटनाक्रम बन्ने निश्चितप्रायः छ ।

मानव समाजको विकासक्रममा प्रजातान्त्रिक प्रक्रियाबाट आएका नेता र वैज्ञानिकप्रति ठूलो विश्वास रहँदै आएको थियो । आफ्नो विकास र अनुसन्धानमा उनीहरूलाई गर्व थियो । आणविक भट्टी र मिसाइलहरू रक्षाकवच मात्र होइन, शक्तिको ताज बनेका थिए । आज आएर त्यो सानमान र दौलतलाई निर्जीव भाइरसले अपहरण गरेको छ, जसका कारण कोरोनापछिको मानव समाज र उसले विकास गरेका मान्यता र शिक्षा प्रणालीमा ठूलो परिवर्तन आउने अनुमान गरिँदै छ । अहिलेसम्म मानव सुरक्षाका लागि गरिएका विकासमा विश्वास टुटे पनि वैज्ञानिकहरूले भनेका कुरा जनताले मानिरहेका छन् – लकडाउनमा बस, हिँड्दा वा बजार जाँदा दूरी कायम गर, तातो पानी पिऊ… ।

आजसम्म विकास भएका सामाजिक मूल्यमान्यता र परिभाषामा ठूलो परिवर्तन हुने अवस्था छ । समाजको आधुनिकीकरण र विकासका लागि प्रजातन्त्रको जति महत्त्व छ, संकटको समयमा शासकहरूले सही तरिकाले अधिकारको प्रयोग नगर्नाले ठूलो विनाश निम्तिने जोखिम पनि त्यति नै छ । कोरोना-संकट सुरु भएयता प्रजातान्त्रिक विधि, प्रक्रिया र व्यावहारिक पक्षबारे तमाम प्रश्न उठिरहेका छन् । सरकारहरूको व्यवस्थापनको अभाव, संक्रमण नियन्त्रणका प्रयास, जनचाहना र जनआवश्यकताको पहिचान गर्न नसक्दा नेतृत्वको क्षमतामाथि प्रश्नहरू उठेका छन् । सानो डोरीमा बाँधिएका नेताहरूका कारण देशहरूले विखण्डनको बाटो अँगाल्नेछन् ।

विश्वको नेतृत्व गर्ने मानवतावादी  राजनेता देखा पर्नै सकेनन् । कोरोनाको रजाइँमा विश्वका नेताहरू भूमिकाविहीन देखिए ।

राज्यसंयन्त्र पाल्नका लागि विदेशी सहयोगमा निर्भर नेपालजस्ता देशका संरचनामा आमूल परिवर्तन हुनेछ । समाजमा रहेका संरचनाको उद्देश्य स्पष्ट हुनुपर्नेछ । यिनले जनताका अनेक प्रश्नको उत्तर दिनुपर्नेछ । विगतको मानवीय इतिहास र सभ्यतामा देखिएका पैतृक मान्यता र सोचमा आमूल परिवर्तन ल्याउनुपर्नेछ । वर्तमान र भविष्यका चुनौतीको सामना गर्न नयाँ जनशक्तिको आवश्यकता पर्नेछ, जसका लागि शिक्षामा नयाँ पाठ्यक्रमको आवश्यकता पर्नेछ । अध्ययनविधि र अनुसन्धानमूलक शिक्षाले प्राथमिकता पाउनेछ । लैंगिक रूपले पनि विश्वको राजनीतिक नेतृत्वमा आमूल परिवर्तनको सम्भावना बढ्दो छ । यहाँ नेतृत्व भनेर राजनीतिक रूपमा मात्र हेरिएको छैन । पुँजीवादको चरम चुलीमा पुगेर भौतिक विकासको शय्याको हनिमुनमा एकपक्षीय रूपमा रमाएको विश्वले अदृश्य भाइरसको डरका कारण विकसित उद्योगधन्दा बन्द गरी बेरोजगारी र अभावको सामना गरिरहेको छ । छ महिना वा वर्षदिनपछि औषधिको व्यापारका लागि आजैदेखि व्यापारीहरूले लकडाउनको आतंक मच्चाइरहेका छन् ।

विगतमा हामी जति तर्कहरू गरिरहेका थियौं, ती सामान्य अवस्थाबारे मात्र थिए भनी कोरोनाले पुष्टि गरिदिएको छ । असामान्य परिस्थितिमा कसको भूमिका कस्तो हुन्छ र कसरी निणर्य गर्नुपर्छ भन्ने अर्को महत्त्वपूर्ण पक्ष त छँदै छ । अहिले कोरोनाले निम्त्याएको संकटले मानव जीवनको हरेक पाटालाई प्रत्यक्ष-अप्रत्यक्ष रूपमा असर गर्ने प्रस्ट छ । यस अवस्थामा सामान्य परम्परागत निर्णयले हुँदो रहेनछ, नेताहरूले राजनीतिक निर्णय गर्नुपर्दो रहेछ, फरक सोच र प्रत्युत्पन्नमति देखाउनुपर्दो रहेछ । विश्व नै मेरो हातमा छ भनी घमन्ड गर्ने नेताहरू पनि समयमा सही निर्णय गर्नबाट चुक्नाले मानवीय क्षति मात्र भएको छैन, उनीहरूप्रतिको आम विश्वाससमेत गुमेको छ । अहिले विश्वलाई समयअनुसार चलाउने र नेतृत्व गर्ने नेताको अभाव देखिएको छ । साथै महाशक्तिको दाबी गर्ने नेताहरूको सानमानलाई कोरोनाले खोसिदिएको छ । भोलिको युगले नयाँ नेतृत्व र नयाँ चेतनालाई आत्मसात् गर्नेछ । समाजको विश्वास जित्न पृथक् मार्ग र विचारको आवश्यकता छ । लैंगिक रूपमा नेतृत्व परिवर्तन हुनेछ । शक्ति र सम्पन्नताको नयाँ परिभाषा गर्नेछ । परम्परित मुकुटहरू फेरिनेछन् ।

विश्वनेताहरूको भूमिका

आणविक भट्टी र मिसाइलले सुरक्षा गरेको देशलाई कोरोना भाइरसले झस्कायो । कोरोना जहाज चढेर पश्चिमतिर लाग्यो अनि इटाली, स्पेन, बेलायत र अमेरिका लगायतमा अनियन्त्रित गतिमा बढ्यो । तत्तत् देशका प्रमुखले सही समयमा सही निर्णय गर्न नसकेका कारण तिनको सानमानको ताजमा प्रश्नचिह्न खडा भयो । विश्वमा एकछत्र राज गरेका अमेरिका र बेलायत लगायत अस्तव्यस्त बने । वर्तमानमा शक्तिशाली देशका नेताहरू समस्या समाधानका लागि आपसमा सहयोगी बन्न सकेनन् । विश्वको नेतृत्व गर्ने मानवतावादी राजनेता देखा पर्नै सकेनन् । कोरोनाको रजाइँमा विश्वका नेताहरू भूमिकाविहीन देखिए ।

पुँजीवादको चरम चुलीमा पुगेर भौतिक विकासको शय्याको हनिमुनमा एकपक्षीय रूपमा रमाएको विश्वले अदृश्य भाइरसको डरका कारण विकसित उद्योगधन्दा बन्द गरी बेरोजगारी र अभावको सामना गरिरहेको छ । छ महिना वा वर्षदिनपछि औषधिको व्यापारका लागि आजैदेखि व्यापारीहरूले लकडाउनको आतंक मच्चाइरहेका छन् ।

महिला नेतृत्वहरूको भूमिकाचाहिँ प्रशंसनीय रह्यो । महिला राष्ट्रप्रमुख रहेका जर्मनी, ताइवान, न्युजिल्यान्ड, आइसल्यान्ड, फिनल्यान्ड, नर्वे र डेनमार्क कोरोनामाथि विजय प्राप्त गर्न तुलनात्मक रूपमा सफल देखिए । धैर्य, सहनशीलता, सहानुभूति, संवेदनशीलताका साथ समयअनुसार परिस्थितिलाई बुझेर निर्णय गर्ने क्षमता महिलाहरूमा देखियो । यस दृष्टान्तले कोरोना युगपछि विश्वनेतृत्वमा महिलाहरूको सम्भावना बढाएको छ ।

विश्वनेताहरू कहाँ चुके?

सर्वप्रथम त शक्तिशाली नेताहरूले चीनमा देखिएको कोरोना संक्रमण आफ्नो देशमा प्रवेश गर्न सक्छ भन्ने अनुमानै गरेनन् । न कोरोनाको गम्भीरता बुझ्न सके, न जनतालाई जोगाउन लकडाउन गर्न सके ।

दोस्रो, यो मानवीय समस्याको समाधान सबै एकै ठाउँमा उभिएर गर्नुपर्छ भन्ने सोचको विकास हुन सकेन । पर्खाल, अमुक धर्म वा नाकाबन्दीका नाममा राष्ट्रवादीको बिल्ला भिरेका तथाकथित नेताहरूले ‘नेसनलिस्ट आइसोलेसन’ को धारणा विकास गरे । तेस्रो, सबै देश एकजुट भएर औषधिको खोजी गर्नुपर्थ्यो । अनि छिटो औषधि बनाउन सकिन्थ्यो र आवश्यकतानुसार वितरणको व्यवस्था गर्न सकिन्थ्यो । तर, दैलामा काल आइरहेको देख्दादेख्दै पनि विश्वका शक्तिशाली नेताहरूले यसलाई प्रतिस्पर्धाका रूपमा लिए । सामूहिक भावना प्रदर्शन गर्न सकेनन् ।चौथो, कसैले कसैलाई आरोपित गर्ने नभई सबै मिलेर मानव जातिको संरक्षणमा लाग्ने अवसर थियो यो । पाँचौं, विभिन्न कारणले भएको स्थायी वा अस्थायी मानवीय स्थानान्तरणलाई वा आन्तरिक र बाह्य बसाइँसराइलाई सम्बोधन गर्नबाट नेताहरू चुके ।

सबैभन्दा महत्त्वपूर्ण मानवीय पुँजी हो र यसका रक्षा गर्नुपर्छ भन्ने भावनामा कमी देखियो । मानवता, मानवीय संवेदना र मानवाधिकारको धज्जी नै उड्यो । नेतृत्वको वागडोर लिएका विश्वका धेरैजसो नेताको कार्यकुशलता र संकट समाधान गर्ने खुबी कति रहेछ भन्ने देखियो । नेताहरूको बोली, भाषा र हाउभाउमा कमजोरी देखियो । कसैले जनतालाई साथ लिएजस्तो देखिए पनि रणनीति थिएन, कोही त रोबोटसरि संवेदनहीन भई बोलिरहेका थिए । कसैले थर्काउने शैली अपनाएका थिए । यसो हेर्दा ती मानिस नभई कुनै मेसिन हुन् कि जस्तो भान हुन्थ्यो । कम्प्युटर वा रोबोटमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ त राखियो, तर मानवता प्राथमिकतामा पर्न सकेन ।

विश्व कसरी विवेकहीन भयो?

पुँजीवाद, भूमण्डलीकरण, खुला बजार तथा सूचना र सञ्चार प्रविधिमा आएको बाढीले एकातर्फ धेरै नयाँ ढोका खोल्यो भने, अर्कातर्फ प्रजातान्त्रिक मन्दीलाई पनि निम्त्यायो । ट्रम्प जहिले पनि ‘हामी अप्ठ्यारोमा छौं’ भनिरहन्छन् र दोषजति जहिल्यै अरू (चीन, मेक्सिको, मुसलमान आदि) माथि थोपर्ने गर्छन् । उनले आफ्नै आँगनका मानिसहरूबीच विद्यमान विभेदधरि देख्न सकेनन् ।

हामीले आफ्ना गल्तीको दुष्परिणाम त भोग्छौं नै, तर अहिले शक्तिशाली देशहरूले गरेका भूलको सजाय पनि भोग्नुपरिरहेको छ । यसको टड्कारो उदाहरण कोरोना नै हो । सीमित मानिसको सुखसयलका लागि सम्पूर्ण विश्वको अस्तित्व नै दाउमा छ । यस्तो अवस्थामा सामान्य नागरिकको प्रजातान्त्रिक अधिकारको के कुरा भो र ! ओजोन तहको प्रतिकूल प्रभाव सीमित शक्तिशाली मानिसलाई भन्दा बढी असंख्य मजदुरमा पर्छ, जबकि सीएफसी (क्लोरोफ्लुरोकार्बन) उत्सर्जनमा शक्तिशालीहरूको बढी हात हुन्छ ।यससँगै विश्वका प्रत्येक मानिसको स्वतन्त्रता खोसिएको छ । ऊ जहिल्यै आफ्नो जागिर खोसिने हो कि भन्ने त्रासमा हुने गर्छ ।

चीनमा सस्तो श्रम पाइरहेका बेला कुन देशले आफ्ना नागरिकलाई बढी तलबमा त्यही काम गराउला ? राजनीतिले सबै क्षेत्रमा प्रभाव त पार्छ, तर राजनीतिलाई पुँजीवादले किनिसकेको समयमा आर्थिक हैसियत नै सर्वोच्च हुन्छ । त्यसको प्रभावमा स्वतन्त्रता र प्रजातन्त्र खुम्चिनु स्वाभाविक नै हुन्छ । प्रजातान्त्रिक मुलुकहरूमा सरकार गठन, सत्ता सञ्चालन, पदाधिकारी चयन, चुनाव, पार्टी सञ्चालन, टिकट वितरण, निर्वाचन, प्रधानमन्त्री चयन, मन्त्रिमण्डल गठन, पोर्टफोलियो वितरणजस्ता सबै विषयबारे भन्दाखेरि जनताद्वारा जनताका लागि त भनिन्छ, तर अहिले सबै बजारमा राखिएका किनबेचका वस्तु भएका छन् । यही कारण विश्व नाफामूलक व्यापारिक केन्द्र बन्न पुग्यो अनि मानवता कमजोर भयो ।

चुनौतीको समाधान

भूमण्डलीकरण र सूचनाप्रविधिको यस युगमा उपर्युक्त समस्याको समाधान हाम्रै पूर्वीय दर्शनले दिएको छ । ‘वसुधैव कुटुम्बकम्’ । सम्पूर्ण विश्वनेता ‘नेसनलिस्ट आइसोलेसन’, ‘ब्लेम गेम’ र शक्तिमोह त्यागी एकजुट भई कोरोना–संकटबाट मुक्तिको उपाय खोज्नुको विकल्प छैन ।

विश्वका वैज्ञानिकहरूले दिएको एकताको दृष्टान्त राजनीतिज्ञहरूले अवलम्बन गर्न जरुरी छ । यो समस्याबाट पार पाइसकेका देशहरूले पीडित देशहरूलाई सहयोग गरी यसबाट मुक्त गराउने दायित्वबोध गर्नुपर्छ । मानवीय स्वास्थ्य संकटबाट उम्किन स्वास्थ्य सामग्रीको उत्पादन र वितरणमा खास सतर्कता अपनाउनुपर्छ । स्वास्थ्यकर्मी परिचालनको दायित्व पनि छ। मानवतालाई नाफाको व्यापार बनाएर स्वार्थमा मौलाएको विश्वनेतृत्वलाई नयाँ दर्शनका साथ बिदा गर्नु पनि सम्भावित चुनौतीको समाधान हो । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया