वैशाख १५, २०८१ शनिबार April 27, 2024

बलियो बन्ने कसरतमा कांग्रेस संस्थापनइतर

कांग्रेसभित्रको विभिन्न गुटलाई एक बनाएर बलियो बनेका सभापति देउवा पछिल्लो समय कमजोर बन्ने खतरा देखिँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः माओवादी केन्द्रसँगको सत्ता गठबन्धन टुटेसँगै नेपाली कांग्रेसभित्र संसदीय दलमा कुन पक्ष बलियो भन्ने बहस र चर्चा सुरु भएको छ ।

हाल संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा छन् । कांग्रेसभित्रको विभिन्न गुटलाई एक बनाएर बलियो बनेका सभापति देउवा पछिल्लो समय कमजोर बन्ने खतरा देखिँदै छ ।

संस्थापन पक्षका पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि समूह मिलाएर सभापति देउवा संसदीय दलको नेता बनेका थिए ।

बलियो बन्ने कसरतमा कांग्रेस संस्थापनइतर

सबै पक्षलाई समेटेर संसदीय दलको नेता बनेका देउवाले संस्थापनपक्षकै नेता बालकृष्ण खाँण पक्राउ परेपछि त्यसको दबाब झेल्नुपर्‍यो । खाँण आफैं पनि आफ्नो समूह बनाउन कसरत गरिरहेका बेला नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका थिए ।

पछिल्लो समय ललितपुरको गोदावरीमा फागुन ७ देखि १० गतेसम्मको महासमिति बैठकले कांग्रेस संस्थापन पक्ष समूह कमजोर रहेको संकेत देखिसकेको छ । महामन्त्री गगन थापाले ल्याएको सांगठनिक प्रतिवेदन बहुमतले पारित गर्नुले संस्थापन पक्ष कमजोर बन्दै गइरहेको बुझ्न सकिने राजनीतिक विश्लेषकको भनाइ छ ।

कांग्रेस महासमिति बैठकपछि स्पष्ट के संकेत देखिन्छ भने अबको दुई वर्षभित्र कांग्रेसमा व्यापक फेरबदल, गुटहरू गठन र विघटन अनि नेताहरूका विभिन्न धुरीहरूको ध्रुवीकरण हुने देख्न सकिन्छ ।

अहिले सभापति देउवाको नेतृत्वमा रहेको करिब दुई तिहाइको शक्ति आगामी महाधिवेशनमा पुग्दा कम्तीमा तीन गुटमा बाँडिनेछ । शेखर कोइराला र गगन थापाले नेतृत्व गरेको प्रतिपक्षी धुरी विभाजित नभई एक भएमा आउँदो महाधिवेशनसम्म संस्थापन पक्ष शिथिल बन्ने निश्चितजस्तै छ । त्यसको प्रारम्भिक संकेत महासमितिमा प्रकट भइसकेको छ ।

कांग्रेस महासमितिमा प्रकट भएको अर्को सत्य के हो भने, महामन्त्री थापा १५औं महाधिवेशनको सभापतिका उम्मेदवार हुन् र उनी हारजित दुवै सम्भावनालाई स्वीकार गर्दै अघि बढिसकेका छन् ।

यसबीचमा उनी संसदीय दलको नेता परिवर्तन गर्न सक्ने गणित बनाउन कसरत छन् । यो अंक गणितको खेलमा शेखर कोइरालाले साथ र समर्थन दिए सभापतिको रूपमा उनलाई सार्ने सम्भावना पनि छ ।

तर, महासमितिमा गगनले देखाएको दबदबाले उनले आउँदो महाधिवेशनमा सभापति नछाड्ने देखिन्छ । कुनैबेला हालका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको भनाइ टे«न्डिङमा थियो, ‘हाम्रो पार्टी नेकपा एमाले सरकारमा जान हतारिएको छैन तर ढिलाइ गर्ने पक्षमा पनि छैन ।’

नेपालको भनाइजस्तै कांग्रेसको महासमिति बैठकले सोही शैलीको दस्तावेज पारित गर्नुले पनि अब महामन्त्री गगन थापाको सभापतिको आकांक्षालाई कसैले रोक्न सक्ने देखिँदैन । गठबन्धनको विषयलाई लिएर गगन-देउवाबीच चर्काचर्की भए पनि अन्त्यमा गगनको प्रतिवेदन पारित भयो । त्यसपछिको पराकम्पले सत्तागठबन्धनको फेरबदलसम्म भयो ।

पछिल्लो समय कांग्रेसको संस्थापन पक्षलाई छाडेर इतर समूहमा जानेहरू बढिरहेको देखिन्छ । कांग्रेस महासमिति बैठकमा सो संकेत देखिएका छन् । रूख चिह्नमा मात्रै भोट हाल्नुपर्ने स्पष्ट अडानमा रहेका गगन थापाको प्रतिवेदन महासमिति बैठकबाट सर्वसम्मत पारित हुनुले पनि देउवालाई झड्का लागेको छ । अन्तिम समयसम्म चुनावमा गठबन्धन गरेर जानुपर्छ भन्ने मत राखेका देउवा महासमिति बैठकमा फेल त भए नै, माओवादीले पनि गठबन्धन तोड्दा उनलाई छुट्टै चिन्ता छ ।

उता गठबन्धन जोगाउन खोज्दा यता उनलाई आफ्नो समूहको सांसद जोगाउन गाह्रो भइरहेको छ । संसदीय दलको नेतामा निर्वाचित हुँदा देउवाले केही सांसदलाई मन्त्री बनाउँछु भनेर दिएको आश्वासनका कारण गगन थापालाई दिने भोट पनि क्रस भएको अवस्था थियो । अब त्यो सम्भावना पनि बाँकी छैन । महासमिति बैठकले पनि सभापति देउवाको शक्ति कमजोर भएको देखिएको छ । यही मौकामा संस्थापनइतर पक्ष अंक गणित पु¥याएर संसदीय दलको नेतामा आफ्नो पक्ष बलियो देखाउन कसरतमा छ ।

त्यसो त महासमितिबाट सर्वसम्मतबाट पारित भएका पाँचवटै प्रतिवेदन केन्द्रीय समितिबाट परिमार्जनसहित पारित गर्नेगरी महासमिति बैठक सकिएको थियो । गठबन्धन जोगाउन परिमार्जनसहित प्रतिवेदन पारित गर्ने भनिए पनि सत्तागठबन्धन फेरबदल भएपछि भने अब के गर्छ भन्ने हेर्न बाँकी नै छ । त्यसका लागि कांग्रेस केन्द्रीय समिति बैठक कुर्नपर्ने देखिन्छ । तर, सत्तागठबन्धन फेरबदर भएपछि सभापति देउवाले कांग्रेस केन्द्रीय समिति बैठक बोलाएका छैनन् ।

खासमा सभापति देउवा र महामन्त्री थापाबीच तीव्र ध्रुवीकरण देखिए पनि महासमिति बैठकमा धेरै पदाधिकारीबीच ध्रुवीकरण देखिएको थियो । यसले पार्टीभित्र १५औं महाधिवेशनलाई लिएर नेताहरूको तीव्र ध्रुवीकरण, गुट अदलबदल र व्यापक उथलपुथलको संकेत भने गरेको छ ।

महासमिति बैठकमा सहमहामन्त्री भीष्मराज आङदेम्बे डा. शेखर कोइरालाले महासमितिको पूर्वसन्ध्यामा गरेको भेलामा सहभागी भए । केन्द्रीय सदस्य मञ्जु खाँण पनि डा. कोइरालाको भेलामा सहभागी भएकी थिइन् । बालकृष्ण खाँण भुटानी शरणार्थी प्रकरणमा जेल गएपछि पछिल्लो समय मञ्जु सभापति देउवासँग टाढिएकी छन् । त्यस्तै प्रकाशमान सिंह, शशांक कोइराला, विमलेन्द्र निधि समूह पनि देउवासँग त्यति सन्तुष्ट देखिँदैनन् ।

यसले के देखाउँछ भने यो अवस्था रहिरहेमा आउँदो १५औं महाधिवेशनसम्म सभापति देउवा झनै कमजोर बन्ने संकेत देखिँदै छ । तर, त्योभन्दा अघि नै संस्थापनइतर समूह अंक गणित पु¥याएर संसदीय दलको नेता फेर्ने कसरतमा भित्री रूपमा लागिसकेको छ । सत्ता गठबन्धनको फेरबदलसँगै प्रधानमन्त्री हुने लाइनका लागि संसदीय दलको नेता फेर्ने कसरतमा संस्थापनइतर समूह लागिरहेको छ । कांग्रेसभित्र विभिन्न गुटमा विभाजित शक्ति एकजुट भएमा सो सम्भव पनि देखिन्छ ।

हालको अवस्थामा हेर्दा संसदीय दलभित्रको अंक गणितमा भने देउवा बलियो नै देखिन्छन् । संसदीय दलमा सभापति देउवासँग ६३ सांसद रहेका छन् । तर, अहिले यही संख्या देउवाको पक्षमा छन् कि छैनन् भन्न सकिने अवस्था छैन । संस्थापन इतर अर्थात् शेखर कोइराला समूहमा (महामन्त्री विश्वप्रकाश शर्मा र प्रदीप पौडेल सहित) २५ सांसद छन् ।

हाल कुन सांसद कुन समूहमा छन् ?

संस्थापन पक्ष
शेरबहादुर देउवा, शशांक कोइराला, पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा. प्रकाशशरण महत, एनपी साउद, रमेश लेखक, रामहरि खतिवडा, दुर्लभ थापा, उदय शमशेर राणा, मोहनबहादुर बस्नेत, वीरबहादुर बलायर, रमेश रिजाल, किशोरसिंह राठौर, पूर्णबहादुर तामाङ, खमबहादुर गर्बुजा, डिल्लीराज पन्त, शंकर भण्डारी, श्यामकुमार घिमिरे, मोहन आचार्य, सीता गुरुङ, विनोदकुमार चौधरी, दीपक खड्का, विष्णुकुमार कार्की, राजेन्द्र केसी (राजन), ऐनबहादुर शाही ठकुरी, अजयकुमार चौरसिया, दिनेशकुमार यादव, महेन्द्रकुमार राय, पुष्पबहादुर शाह, टेकबहादुर गुरुङ, ज्ञानेन्द्रबहादुर कार्की, डा. नारायण खड्का, सन्तोष चालिसे, राजु थापा, शान्ति विक, रूपा विक, आशा विक, सरस्वती बजिमय, सीताकुमारी राना, सुशीला थिङ, माया राई, मनोरमा शेरचन, मैना रावल, अम्बिका बस्नेत, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, मञ्जु खाँण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, कल्पना चौधरी, नगिना यादव, चन्दा चौधरी, संगीता मण्डल, जाबेदा खातुन जागा र अञ्जनी श्रेष्ठ

शेखर कोइराला पक्ष

डा. शेखर कोइराला, धनराज गुरुङ, विश्वप्रकाश शर्मा, गगन थापा, प्रदीप पौडेल, बद्री पाण्डे, दीपक गिरी, राजेन्द्र बजगाईं, अर्जुननरसिंह केसी, हृदयराम थानी, दिलेन्द्रप्रसाद बडू, रामनाथ अधिकारी, सञ्जयकुमार गौतम, चन्द्र भण्डारी, रामकृष्ण यादव, देवप्रसाद तिमिल्सिना, तेजुलाल चौधरी, सुरेन्द्रराज आचार्य, योगेश गौचन थकाली, डिगबहादुर लिम्बू, दिक्पालकुमार शाही, सुनिलकुमार शर्मा, सरिता प्रसाईं, प्रतिमा गौतम, लीलादेवी बोखिम, जीवन परियार, सीता मिजार, मुक्ताकुमारी यादव, विनाकुमारी थनेत, सपना राजभण्डारी र कुसुम थापा राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया