बैसाख १७, २०८३ बिहिबार April 30, 2026

कोभिड-१९ र आर्थिक समृद्धिको सम्भावनाः कृष्णहरि बास्कोटा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कोभिड-१९ ले कृषि क्षेत्रमा आत्मनिर्भरताको सम्भावना उजगर गरेसँगै पशुपक्षीको विकासबाट आर्थिक समृद्धि हासिल हुने मुद्दा पनि चर्चामा आएको छ । विश्व मानव सभ्यताको विकाससँगै पशुपक्षी मानिससँग रहँदै आएका छन् । यसर्थ, यी मानव सभ्यता र विकासका सहयात्री हुन् । पशुपक्षीले मानव सभ्यताको विकाससँगै पत्रवाहकको काम, सुरक्षा प्रदान गर्ने, यातायातको साधन, कृषिका सहयोगी, मासु, दूध र अण्डाजस्ता पौष्टिक आहार प्रदान गरेर मानव जातिलाई गुन लगाएका छन् । नेपालको पनि उत्पत्तिसँग पशुपक्षी साथमै रहेकोमा खासै तर्कवितर्क गरिरहनु परोइन । तथापि पशु विकास तथा पशु स्वास्थ्य सेवाको औपचारिक आरम्भ भने १९७८ सालमा कृषि अड्डा खुलेपछि भएको मानिन्छ । यसपछि आधुनिक पशुपक्षीको विकासक्रम आरम्भ भएको हो ।

१९८२ सालमा सिहंदरबार परिसरभित्र कृषि प्रवद्र्धन फार्म खडा गरियो भने १९९४ सालमा कृषिपरिषद् गठन गरियो । यसैगरी, १९९८ सालमा काठमाडौंको त्रिपुरेश्वरमा भेटेरिनरी अस्पताल खुल्यो भने २००० सालमा चित्लाङमा भेडाफार्म स्थापना गरियो । साथै, २००४ सालमा परवानीपुरमा अनुसन्धान फार्म खडा भयो । यसरी राणकालीन जहानियाँ शासनमा पनि पशुपक्षीको विकासलाई प्राथमिकतामा राखेको पाइन्छ ।

२००७ सालमा नेपालमा प्रजातन्त्र आएपछि मुलुकको चौतर्फी विकासको कार्यारम्भ भयो । तदनुरूप २००८ सालमा कृषि विभाग स्थापना गरियो । २०१० सालमा कृषि विभागमा पशु सेक्सन खडा गरियो । जसबाट पशु विकासको महत्वका साथै यसले आर्थिक समृद्धिमा पार्ने सकारात्मक प्रभावलाई आत्मसात गरियो । यसैगरी, २०१४ सालमा १० जिल्लामा पशु अस्पताल खडा गरियो । यसै क्रममा २०२३ सालमा पशु विकास तथा पशु स्वास्थ्य विभाग स्थापना भयो । यसरी पहिलोपटक छुट्टै विभाग खडा गरियो । एकपटक छुट्टै मन्त्रालय पनि खडा भएको थियो । बेलाबखतमा राज्यमन्त्री र सहायक मन्त्री नियुक्ति गरी पशुपक्षीको विकासको जिम्मेवारी दिने गरेको पनि पाइन्छ ।

२०७२ सालमा संविधानसभाबाट संघीय प्रणालीमा आधारित नेपालको संविधान जारी भयो । मुलुकमा संघीयता लागू हुनपूर्व सबै जिल्लामा जिल्लास्तरीय पशु स्वास्थ्य कार्यालय, गाउमा सेवा केन्द्र, विभिन्न स्थानमा प्रयोगशाला र फार्म स्थापना भएका थिए । हाल संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहबाट पशुपक्षी विकाससम्बन्धीे विविध काम भइरहेको छ । हाल, एक प्रकारले संक्रमणको स्थिति सिर्जना भएको छ । तथापि, मुलुकको अर्थतन्त्र निर्माणमा महत्वपूर्ण स्थान ओगट्ने पशुपक्षीको व्यवस्थापनलाई वैज्ञानिक प्रणालीबाट सञ्चालन गर्नुपर्छ । यसमा तीनै तहका सरकारले मन, वचन र कर्मले अधिकतम योगदान गर्नुपर्छ ।

हाम्रो मूल ध्येय पशुपक्षी पालन व्यवसायलाई व्यवस्थित, आयमूलक तथा आकर्षक बनाउने नै हुनुपर्छ । यसले खाद्य तथा पोषण सुरक्षा, गरिबी न्यूनीकरण र रोजगारी सिर्जनामा प्रत्यक्ष सघाएको छ । गाईभैंसी, चौरी, बाख्रालगायतको पालनबाट हामीलाई दूध प्राप्त भइरहेको छ । हाल नेपालमा बर्सेनि २२ लाख १३ हजार २०२ मेट्रिक टन दूध उत्पादन हुने गरेको छ । यसलाई वृद्धि गरी पाउडर दूध कारखाना सञ्चालनमा ल्याउनुपर्छ । दूधबाट बन्ने घिउलगायत मिठाईका परिकारमा पनि आत्मनिर्भर हुनुपर्छ । साथै, चकलेटलगायतका कारखाना खोल्नुपर्छ । यी सबै पहलबाट हामी आत्मनिर्भरतातर्फ उन्मुख हुनेछौं ।

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा ठूलो टेवा दिने पशुपक्षीको व्यवस्थापनमा वैज्ञानिकता ल्याउनुपर्छ ।

हामीले पशुपक्षीको नियमन र व्यवस्थापन गर्न पशु स्वास्थ्य कार्यक्रम कार्यान्वयन कार्यविधि निर्माण गरी लागू गरेका छौं । जसले पशुपक्षी, पशुजन्य पदार्थ तथा पशुपक्षी उत्पादन सामग्रीको स्वस्थ्य उत्पादन, बिक्रीवितरण र उपभोगको मापदण्ड निर्धारण गरेको छ । यसको प्रभावकारी कार्यान्वयन हुनुपर्छ । हामीले विश्व व्यापार संगठन र विश्व पशु स्वास्थ्य संगठनको मापदण्डअनुसार पशुपक्षीको व्यबस्थापन र नियमन गर्नुपर्छ । पशुपक्षी पालनको कामलाई हल्का ढंगले लिनुहुँदैन । यसमा लापर्बाही गर्दा लाभभन्दा नोक्सानी बढी हुन्छ । पशुपक्षीमा बेलाबखत आइपर्ने संक्रमणको महामारीले ठूलो आर्थिक क्षति हुने गरेको छ । यसको न्यूनीकरण गर्नुपरेको छ । यसका लागि किसानलाई तालिम दिनुका साथै यस क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न स्कुल र कलेजको पाठ्यक्रममा यी विषयलाई समावेश गर्नुका साथै विश्व विद्यालयमा यस विधाको छुट्टै विभाग खडा गर्नुपर्छ ।

पशुपक्षीमा लाग्ने रोगहरूको सर्भिलेन्स, अन्वेषण, पहिचान, रोकथाम, नियन्त्रण र अनुगमन गर्ने दह्रो प्रणाली हुनुपर्छ । भेटनरी औषधि तथा जैविक पदार्थ, पशुपक्षी फार्म, ह्याचरी र पशु नश्ल सुधारको काम गुणस्तरीय हुनुपर्छ । यसमा स्वयं किसान पनि चनाखो हुनुपर्छ । कतै म्याद नाधेको औषधिको बिक्रीवितरण एवं उपयोग भइरहेको छ कि ? कतै पशुपक्षी फार्म र ह्याचरीको सञ्चालनमा तोकिएको मापदण्डको पालना भएको छैन कि ? भनी भेटनरी निरीक्षकले नियमित निरीक्षण गर्नुपर्छ । यस काममा विशेषगरी पालिकाहरू संवेदनशील हुनुपर्छ ।

पशुमा लाग्ने खोरेत रोग नियन्त्रण गर्न होस् वा भेडा बाख्रामा लाग्ने पीपीआर रोग नियन्त्रण गर्न होस्, सम्बन्धित निकाय चनाखो हुनुपर्छ । यसैगरी, सुँगुर, बंगुर र बँदेलमा लाग्ने क्लासिक स्वाइन फिभर (बंगुरको हैजा), गाईभैंसीमा लाग्ने भ्यागुते र चरचरे रोग तथा स्थानीय कुखुरामा फैलिने रानीखेत रोग नियन्त्रणका लागि पनि सम्बन्धित निकाय चुस्त र दुरुस्त हुनुपर्छ । यस्ता रोगबाट एकातिर पशुपक्षी सखााप हुन्छन् भने अर्कोतिर लगानीकर्ताले पनि ठूलो नोक्सानी व्यहोर्नुपर्ने हुन्छ । यी रोगको रोकथामका लागि खोप दिने र रोगी वस्तुको उपचार हुने सुनिश्चितता कायम गर्नुपर्छ ।

मानिसले अत्यन्त खुसीका साथ कुकुर र बिरालो पाल्ने गर्दछन् । तर, यी जनावर बहुलाएर मानिसलाई टोक्दा रेबिज हुने गर्दछ । यसर्थ, रेबिज भ्याक्सिन बैंकको व्यवस्थापन पनि गर्नुपर्छ । साथै, कुकुर बन्ध्याकरणको कार्यक्रमलाई पनि निरन्तरता दिनुपर्छ । नेपालजस्ता मुलुकमा बेवासिसे कुकुर र बिरालाले निकै असजिलो पारिरहेका छन् । यसर्थ, यस्ता विषयमा जनचेतना पनि फैलाउनुपर्छ ।

नेपाल सरकारले दुग्ध पदार्थको उत्पादन वृद्धि गर्ने प्रयास पनि गरिरहेको छ । जसअनुसार, मध्य पहाडी लोकमार्ग र हुलाकी राजमार्ग लक्षित एकीकृत दुग्ध उत्पादन प्रवद्र्धन कार्यक्रम सञ्चालनमा छ । यसैगरी, प्रजनन योग्य राँगा वा साँढे हुर्काउने स्रोत केन्द्र सञ्चालनमा छन् । भूकम्प प्रभावित १४ जिल्लामा पशुपक्षी राहत तथा पुनस्र्थापन कार्यक्रम सञ्चालन भएको छ । सरकारले गोठ सुधार कार्यक्रममा किसानलाई अनुदान दिएको छ ।

व्यावसायिक पशुपक्षी पालनले हामीले लिएको समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य चुम्न मद्दत गर्नेछ ।

नेपाल सरकारले घाँसेबालीको व्यावसायिक बीउ उत्पादन कार्यक्रम पनि सञ्चालनमा ल्याएको छ । साथै, सरकारले युवा र एकल महिला लक्षित पशुपक्षी पालन कार्यक्रम पनि सञ्चालन गरेको छ । यस अतिरिक्त, कोरली पाँडी हुर्काउने कार्यक्रम सञ्चालनमा छ । हामीसँग खर्क सुधार कार्यक्रम पनि छ । सरकारले गाईभैंसीलाई सुत्केरी आहार भत्ता अनुदान पनि दिएको छ । यस्मा पालिकाबीच स्वच्छ प्रतिस्पर्धा नै छ । तथापि, पशुपक्षी पालन व्यवसायमा न त आमकिसानको ध्यान गएको छ, न त लगानीकर्ताले अपवादमा केही गाई फार्म, अस्ट्रिच पालनको कार्यबाहेक कुनै मेघा प्रोजेक्ट नै सञ्चालनमा आउन सकेको छ ।

हामीले मुलुकलाई माछा र मासुमा पनि आत्मनिर्भर बनाउनुपर्छ । हाल नेपालमा मासुको वार्षिक उत्पादन ३ लाख ७२ हजार २२६ मेट्रिक टन छ भने माछाको वार्षिक उत्पादन ९३ हजार मेट्रिक टन छ । हामी मासुमा लगभग आत्मनिर्भरताको नजिकमा छौं भने माछामा हाम्रो वार्षिक खपतको आधा पनि उत्पादन छैन । हामी पोल्ट्रीमा आत्मनिर्भर छौं । क्रमशः माछा र मासु पनि छोटो अवधिमा आत्मनिर्भर हुने तत्कालीन कार्ययोजना लागू गर्नुपर्छ । तराईका फाँटमा ठूलाठूला माछापोखरीको निर्माण गर्नुपर्छ भने हिमाली र पहाडी क्षेत्रको चिसो पानीमा ट्राउट माछाको फार्मिंङ गर्नुपर्छ । हिमाली क्षेत्र, पहाड र तराईका निश्चित क्षेत्रलाई चरन क्षेत्र घोषणा गरी व्यापक रूपमा मासुजन्य वस्तुको फार्म सञ्चालन गर्नुपर्छ ।

नेपाल सरकारले बेलाबखतमा वर्ड फ्लुको क्षतिपूर्ति दिएको छ । यसैगरी, सबै पशुधनमा क्षतिपूर्ति दिने प्रणाली लागू गर्नुपर्छ । साथै, हामीले पशुको नश्ल सुधार गरी उत्पादकत्व वृद्धि गर्नुपर्छ । हाल नेपालमा नश्ल सुधार भएका गाइको अंश केवल १२ प्रतिशत मात्रै छ भने भैंसीको अंश २८ प्रतिशत छ । हामीले पशुपालनको विकासका लागि घास खेती प्रवद्र्धन गर्ने र वैकल्पिक पशु आहारको उत्पादनमा पनि जोड दिनुपर्छ । उदाहरणका लागि, हिउँदमा पशु आहार कम हुने गर्दछ । जसको कारण पशु कुपोषणको समस्या देखिन्छ ।

हामीले पशु कल्याण प्रवद्र्धनका केही सीमित काम गरेका छौं । यस अलावा हामीले पशु अधिकारको पनि संरक्षण गर्नुपर्छ । तिनलाई कुटपिट गर्ने वा तौल बढाउन अखाद्य वस्तु खान दिने वा पासविक ढंगले ओसारपसार गर्नेलाई कडा दण्ड गर्नुपर्छ । यस्ता हर्कत गर्ने उपर कडा कारबाही गर्नुपर्छ । हामीले भेंडाबाख्रा प्रवद्र्धन कार्यक्रमबाट पनि लाभ लिनुपर्छ । मुख्य कुरो, लाइभस्टक गुणस्तर व्यवस्थापनमा आमकिसानलाई अनिवार्य रूपमा तालिम दिनुपर्छ । हामीले मिल्किङ पार्लर स्थापना गर्नुका उपलब्ध सबै विकल्पको उपयोग गरी मिल्क होली डे हुन नदिने तथा बिक्री नभएर किसानले दूध फुक्नुपर्नेजस्ता अवस्थाबाट मुलुकलाई मुक्त राख्नुपर्छ । अर्को कुरा, पशुपक्षीको कारोबारमा पनि बिचौलियाबाट किसान लुटिएका छन् ।

पशुपक्षी पालनले हामीलाई दूध, अण्डा, मासु, कम्पोस्ट मल मात्रै दिएको छैन । यिनको छाला, रौंलगायतको पनि उच्च मूल्य प्राप्त भइरहेको छ । पशुपक्षी पालनले मानिसलाई एकलकाटे हुनबाट जोगाउँछ । घोडा र खच्चडले हामीलाई यातायातको साधनका रूपमा सघाइरहेका छन् भने राँगा र गोरुले हलो जोत्ने तथा बयलगाढा चलाउने कामका सघाएका छन् । कुकुर हाम्रो सुरक्षामा खटिएका छ भने बाख्राका पाठपाठीले हाम्रो घरआँगनमा नयाँ रौनक थपेका छन् । जसका कारण हामीले पशुपक्षीको आवश्यक सम्मान गर्नुपर्छ । गाई हाम्रो राष्ट्रिय जनावर हो । डाँफे हाम्रो राष्ट्रिय पक्षी हो । हामीले विभिन्न चाडपर्वमा पनि पशुपक्षीको पूजा गर्ने गरेका छौं । यसरी मानव सभ्यताको विकाससँगै पशुपक्षीको विकासमा पनि हामी सधैं क्रियाशील हुनुपर्छ । व्यावसायिक पशुपक्षीपालनले हामीले लिएको समृद्ध नेपाल सुखी नेपालीको लक्ष्यमा हामीलाई पु-याउन मद्दत गर्नेछ । राजधानीबाट ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुपान्तरणकारी बजेट ल्याइने अर्थमन्त्री वाग्लेको दाबी
२०८३ बैसाख १७, बिहिबार
शिक्षामन्त्री पौडेल र फिनल्यान्डका राजदूत पुहाक्काबीच भेटवार्ता
२०८३ बैसाख १७, बिहिबार
त्रिभुवन विश्वविद्यालयका तीनजना पदाधिकारीहरुले दिए राजीनामा
२०८३ बैसाख १७, बिहिबार
सजाय कटौतीले सुकीको नजरबन्द छोटिन सक्ने सङ्केत
२०८३ बैसाख १७, बिहिबार
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आपत्कालीन उद्धार अभ्यास सम्पन्न
२०८३ बैसाख १७, बिहिबार
आज पनि घट्यो नेप्से परिसूचक
२०८३ बैसाख १७, बिहिबार
राष्ट्रपति पौडेलद्वारा सहकारी सम्बन्धी पहिलो संशोधन अध्यादेश जारी
२०८३ बैसाख १७, बिहिबार