वैशाख २९, २०८१ शनिबार May 11, 2024

उदार लोकतन्त्र विसर्जनतिर- अर्जुननरसिंह केसी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

आफ्नो लोकतान्त्रिक छविको मूल्यमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अब के चिनियाँ कम्युनिस्ट पार्टीकै राजनीतिक यात्राको एकदलीय बाटोमा प्रस्थान गर्न लागेकै हो ? जवाफमा सो पार्टीका नेताले ‘होइन’ भन्नुहोला, तर एकपछि अर्को व्यवहार र पहाडजत्रै वास्तविकताले इन्कारीलाई स्विकार्दैन । गत साल असोज ७ गते चिनियाँ कम्युनिस्ट पार्टीसँग सत्तारुढ नेकपाको ६ बुँदे समझदारी–पत्रमा हस्ताक्षरको प्रक्रिया आफैँमा अस्वाभाविक र अचम्मलाग्दो थियो । कार्यपालिकाको प्रमुख प्रधानमन्त्रीकै उपस्थितिमा दुई सरकारबीच हुने सम्झौताकै बान्कीमा त्यो सम्झौता गरेर नेकपाले देश र दुनियाँलाई आफ्नो लामो लोकतान्त्रिक छवि विसर्जनको प्रारम्भिक सन्देश दिएको थियो ।

सो सम्झौताका साथ चीनबाट आएका राष्ट्रपति सी जिन पिङसँग व्यक्तिगत रूपमै अत्यन्त निकट मानिएका ‘सी विचारधाराका विज्ञ’ सोङ ताओसहितका विज्ञबाट चीनबाहिर सबभन्दा पहिलोपटक नेपालमा नेकपाका नेता–कार्यकर्तालाई दिइएको सी विचारधाराको प्रशिक्षण दीर्घकालीन दृष्टिकोणका आधारमा नेकपाकै हितमा पनि देखिँदैन । त्यसलाई निरन्तरता दिँदै गत वैशाखमा दुवै मुलुकका विदेश विभागस्तरीय छलफल र यही असार ५ गते भएको तीन घन्टा लामो छलफलमा नेकपाका विभिन्न विभाग र निकाय सम्हालिरहेका एक सय पदाधिकारीको सहभागिताले नेकपाको एकदलीय चिन्तनको स्वरूपलाई आरोप होइन, पुष्टि गरेका छन् । सी विचारधारा आफूलाई १४ सारतत्वको पाँचौँ बुँदामा ‘नवयुगका लागि चिनियाँ विशेषतायुक्त समाजवादमा सी जिन पिङ विचारधारा’ भनी प्रस्टै उल्लेख गरेको छ ।

नेकपाले सी विचारधारामा हिँड्ने संकल्प लिएकै हो भने त्यस पार्टीप्रति हामीले विगतमा राख्दै आएका अवधारणामा पुनर्विचार गर्नुपर्ने अवस्था आएको छ, किनभने विगतका सबै सन्तुलन र सामञ्जस्य जोखिममा पर्ने आशंका छ ।

सी विचारधाराको प्रशिक्षण भनेको यसका १४ वटा सारतत्वबाट ओतप्रोत हुने चेष्टा हो, जुन १४ बुँदामध्ये १०औँ बुँदामा चीनको राष्ट्रिय सुरक्षालाई सशक्तीकरण गर्ने प्रतिबद्धता छ । यस विचारधाराले नै चिनियाँ सुरक्षा छाताको व्यवस्थापन गरेको छ । सोही विचारधाराको ११औँ बुँदाको रूपमा ‘चीनको कम्युनिस्ट पार्टी चीनको जनमुक्ति सेनामाथि सर्वेसर्वा नेतृत्व शक्ति हुनैपर्छ’ भन्ने उल्लेख भएबाट त्यस्तो विचारसँग संगठनात्मक र सैद्धान्तिक संलग्नताले सत्तारुढ नेकपा अब कुन बाटोको यात्रामा छ भन्ने गम्भीर प्रश्न उठेको छ । छिमेकी वा कम्युनिस्ट भाइचारा मात्र होइन, सैन्य रणनीतिको हिस्सा बन्न खोजेको त होइन भन्ने आभास दिन थालेको छ । निकटतम दुई छिमेकीबीच हाल उत्पन्न द्वन्द्व र कटुतापूर्ण स्थिति, सीमा समस्याले गर्दा दक्षिणको छिमेकीसँग हाम्रो सम्बन्धमा देखिएको असहजताको अवस्थामा हालै भएको ‘भर्चुअल’ गोष्ठीले हाम्रो असंलग्न परराष्ट्र नीतिको साख र विश्वसनीयतामा अझ गम्भीर प्रश्न मात्र होइन, कूटनीतिक रूपमा गलत सन्देश गएको प्रतिक्रिया आउन थालेका छन् ।

नेकपा बहुदलीय लोकतन्त्र, मानवअधिकार, स्वतन्त्र प्रेस, स्वतन्त्र न्यायपालिका, विधिको शासनप्रति प्रतिबद्धता देखाएपछि जनताले सत्तामा पु-याइदिएको कम्युनिस्ट पार्टी हो ।

कुनै स्वतन्त्र र सार्वभौम पार्टीले विश्वका अन्य राजनीतिक दलसँग भाइचारा सम्बन्ध राख्नु नितान्त स्वाभाविक हो । आजको भूमण्डलीकरण र विश्वव्यापीकरणको युगमा विश्वका राजनीतिक पार्टीबीच सिद्धान्त र अनुभवको आदान-प्रदान, संवाद तथा सञ्चार पनि हुनुपर्छ । हामी नेपाली कांग्रेस सोसलिस्ट इन्टरनेसनलका सदस्य हौँ । प्रजातान्त्रिक समाजवादको पहिचान बोकेका पार्टीसँग हामी सैद्धान्तिक निकटता राख्छौँ । तर, एउटा विदेशी सत्तारुढ पार्टी, जसले राष्ट्रिय सुरक्षा र राज्यको विशाल सेनामाथि सर्वोच्च नेतृत्वको हैसियत राख्छ, सो पार्टीबाट नेपालमा सत्ता चलाइरहेको कम्युनिस्ट पार्टीले प्रशिक्षण वा दीक्षा लिनु विदेशी पार्टीबाट ‘ब्रेनवास’ हुने अभ्यासको प्रारम्भ र त्यही एकदलीय कम्युनिस्ट पार्टी, जहाँबाट प्रस्थान भएको हो, त्यतै उन्मुख प्रवृत्तिको द्योतक होइन र ?

नेकपा एमाले र माओवादीबीच पार्टी एकीकरण गर्दा उठेको ‘जनताको बहुदलीय जनवाद’ कि ‘एक्काइसौँ शताब्दीको जनवाद’ भन्ने प्रश्नमा त्यत्रो विवादसहितको बहस हेर्दाहेर्दै आज, ‘सर्वपदे हस्तिन पदे निमग्न…’ (सबै पाइला हात्तीको पाइलामा दबिन्छन्) भन्ने संस्कृतको उखान चरितार्थ हुँदै छ । लामो लोकतान्त्रिक अभ्यासको अनुभव बोकेको एमालेले भर्खर लोकतान्त्रिक खुला राजनीतिमा प्रवेश गरेको माओवादीलाई पार्टी एकीकरणद्वारा लोकतान्त्रिक संस्कार तथा सुझबुझमा लैजान्छ भन्ने हाम्रो सहज अपेक्षा थियो, त्यो अपेक्षा पनि व्यर्थ लाग्दै छ ।

नेपाल र चीनका दुवै पार्टी कम्युनिस्ट सिद्धान्त, संगठन र चरित्रका हुन्, तर यी दुईबीच मौलिक अन्तर छ । चीनको कम्युनिस्ट पार्टी एकदलीय अधिनायकवादी विशेषताको हो । यसमा मानवअधिकार र बहुसिद्धान्तीय तथा बहुदलीय राजनीतिक विविधताको कहीँ सांकेतिक झल्को पनि छैन । तर, नेकपा बहुदलीय लोकतन्त्र, मानवअधिकार, स्वतन्त्र प्रेस, स्वतन्त्र न्यायपालिका, विधिको शासनप्रति प्रतिबद्धता देखाएपछि जनताले सत्तामा पु-याइदिएको कम्युनिस्ट पार्टी हो । चीनको कम्युनिस्ट पार्टीको १९औँ अधिवेशनले यसलाई चिनियाँ संविधान संशोधनद्वारा समावेश गर्यो भने चिनियाँ विश्वविद्यालयका पाठ्यक्रममा ३० भागमा वर्गीकरण गरी राखिएको छ । सो विचारधाराको १३औँ सारतत्वको बुँदाले यही विचारधाराको आधारमा विश्वभरि जनस्तरमा सम्बन्ध विस्तार गर्ने बाटो लिएको छ ।

के प्रस्टै छ भने यो चीनको रणनीतिक विचारधारा मात्र होइन, चीनको आजसम्मको शासकीय अनुभवको सार हो र चीनले अबको संसारमा हिँड्ने बाटो र अन्तर्राष्ट्रिय रूपमा देखाउने भूमिका, प्रतिस्पर्धा वा टक्कर र क्रियाशील हुने महत्वाकांक्षी योजना पनि हो । यसले त्यहाँको संविधानदेखि पाठ्यपुस्तकसम्म, चिनियाँ सेनादेखि विदेशी जनतासम्म, चीनको सुरक्षा अवधारणादेखि वैदेशिक कारोबारसम्म आफ्नो सर्वोच्चता देखाएको छ ।

‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बिआरआई) लाई गति दिने चीनको वर्तमान रणनीतिक नीति पनि यही देखिन्छ, जसलाई हामीले पनि अनुमोदन गरेका छौँ । यसमा सिंगो चीन सम्पूर्ण ध्यान धेरै टाढासम्म ठम्याएर गम्भीरतापूर्वक लागेको छ । तर, हाम्रो सत्तारुढ नेकपाले नेपालको स्थापित परराष्ट्र नीति, अंसलग्न अभियान, पञ्चशीलका सिद्धान्त, भू–राजनीतिक गम्भीर परिस्थिति, मुलुकको अवस्था, आफ्नो भूमिका तथा जिम्मेवारी, दीर्घकालीन दृष्टिकोणलाई कतै ध्यान नदिई ख्यालख्यालमै यसको पिछलग्गु भएजस्तो देखिन्छ । यसबाट भू–राजनीतिक र वर्तमान परिवेशमा देशलाई क्रमशः अन्तर्राष्ट्रिय द्वन्द्वको पासोतिर उन्मुख गराउने गम्भीर खतरा देखिन्छ ।

आजको नेकपा हिजोको कम्युनिस्ट धङधङीको मानसिकताबाट उठ्न सकेको छैन ।

सी विचारधाराको आलोचना वा नकारात्मक टिप्पणी गर्ने मेरो ध्येय पटक्कै होइन । छिमेकी चीनका राष्ट्रपति सी जिन पिङ स्वयं नेपालका शुभेच्छुक हुनुहुन्छ । सी विचारधारा मित्रराष्ट्र चीनको राष्ट्रिय आवश्यकताको उपज होला । चीन नेपालको मित्रराष्ट्र हो र हाम्रो अविच्छिन्न मित्रतामा कतै खलल पुग्ने काम हामीले गर्नु हुँदैन । सन् १९४९ मा ‘जनवादी गणतन्त्र’को नामले कम्युनिस्ट शासन स्थापना हुँदा यता ००७ सालको जनक्रान्तिको तयारी गर्दै रहेको नव एकीकृत नेपाली कांग्रेसको पहिलो घोषणापत्रमा स्पष्टसँग उल्लेख गरिएको थियो, ‘मित्रराष्ट्र चीनसँग पनि नेपालको घनिष्ट सम्बन्ध कायम रहनेछ । चीनमा भएको राजनीतिक परिवर्तनलाई नेपाली कांग्रेसले उसको आन्तरिक मामिला मानेको छ ।’

आज त्यो मुलुकले गरेको प्रगति हाम्रा लागि प्रेरणाको विषय हो । सन् १९७८ मा विश्व अर्थतन्त्रमा चीनको हिस्सा १.८ प्रतिशत थियो, आज करिब १९.५ प्रतिशत पुगेको छ । यस चामत्कारिक उपलब्धिबाट हामीले विकास, प्राविधिक ज्ञान र सीपको फाइदा लिनुपर्छ । असाधारण उपलब्धिका आधारमा चीनको राष्ट्रिय अवधारणा विश्वसमक्ष आउनु स्वाभाविक छ । तर, सत्ताको एकलौटी जिम्मेवारी पाएको नेपाल कम्युनिस्ट पार्टीको लोकतान्त्रिक अवधारणा, ध्येय र अडान के हो ? यस्ता गतिविधिले झन् दिग्भ्रमित हुने अवस्था देखा पर्दै छ ।

विगतमा अमेरिकी राजदूत माइकेल मालिनोब्स्की तत्कालीन एमालेको केन्द्रीय कार्यालयमा भेटघाटका निम्ति जाँदा भित्तामा टाँगिएका माक्र्स, लेनिन, स्तालिनका फोटा झिकेर एउटा कुनामा थुपारिएको समाचार पढिएको थियो । तर, त्यस्तो मानसिकताबाट आजको नेकपा कति अगाडि बढ्यो ? के प्रतिबिम्बित हुन्छ भने आजको नेकपा हिजोको त्यही कम्युनिस्ट धङधङीको मानसिकताबाट उठ्न सकेको छैन । त्यसैले कहिले त्यो पार्टी राज्यसत्ता दुरुपयोग गर्दै इसाईको सम्मेलनका लागि राजकीय तयारी गर्छ, ‘इसुकी छोरी’ बाट ‘होली वाइन’ सेवन गर्न पाउँदा पवित्रता धारण भएको विश्वास देखाउँछ । कहिले बेसरोकारको ‘मदुरोपन्थी अवतार’ लिएर महत्वपूर्ण मित्रराष्ट्रलाई लिखित रूपमै गाली बर्साउँछ र द्वन्द्वको चपेटामा देशलाई धकेल्न खोज्छ।

नेपाल र चीन पञ्चशीलको सिद्धान्तमा आधारित भएर रहेका प्राचीन मुलुक हुन् । तर, आज न त सी विचारधारामा पञ्चशील सिद्धान्तको आभास छ, न त नेकपाले उक्त विचारधाराको पिछलग्गु हुँदा पञ्चशीललाई सम्झेको छ । यो गम्भीर मामिला हो । सी विचारधाराको प्रशिक्षणलाई लिएर पछिल्लो पटकको ‘भर्चुअल संवाद’मा पार्टीकै शीर्ष नेतालाई पाखा लगाएको र पार्टीको विदेश विभागसमेत बेखबर रहेको भन्ने सूचनाले राजनीतिक तमासाको मञ्चनको आभास दिइरहेको छ । देशमा आन्तरिक विश्वास मर्दै छ, समग्र मुलुक निरासा र आक्रोशबाट घनीभूत हुँदै छ । राजनीतिक स्थिरता मर्दै छ, अवसरवादी राजनीति जागृत हुँदै छ । विधिको शासन संकटमा पुगेको छ ।

सी विचारधाराको प्रशिक्षणलाई लिएर पछिल्लो पटकको ‘भर्चुअल संवाद’मा पार्टीकै शीर्ष नेतालाई पाखा लगाएको र पार्टीको विदेश विभागसमेत बेखबर रहेको भन्ने सूचनाले राजनीतिक तमासाको मञ्चनको आभास दिइरहेको छ । देशमा आन्तरिक विश्वास मर्दै छ, समग्र मुलुक निरासा र आक्रोशबाट घनीभूत हुँदै छ । राजनीतिक स्थिरता मर्दै छ, अवसरवादी राजनीति जागृत हुँदै छ । विधिको शासन संकटमा पुगेको छ ।

अराजकता, भ्रष्टाचार र अन्यायको सर्वव्यापीकरण भइरहेको छ । कोरोना महामारीको रोकथाम तथा व्यवस्थापनमा सरकार पुरापुर असफल हुँदै महामारीलाई भ्रष्टाचारको साधन बनाउन अग्रगतिमा देखिएको छ । क्वारेन्टाइन केन्द्रहरू प्रकारान्तरले मृत्युकक्ष (डेथ च्याम्बर) वा हिटलरको कन्सन्ट्रेसन क्याम्प र स्तालिनका लेबर क्याम्पमा परिणत हुन थालेका छन् । क्वारेन्टाइन बसाइमै जलअल्पताको साधारण उपचार जीवनजलसमेत नपाएर दलित किशोर राजु सदाको निधन मानवताकै निधन र जनताप्रतिको क्रूर खेलबाड हो । वैध व्यवसाय धराशयी र असंरक्षित छन्, आपराधिक इलम प्रश्रित र मौलाउँदो छ । नागरिक समाज र सर्वसाधारण उत्साहहीन र निराश छन् । सरकारका गतिविधिप्रति आजको समग्र परिस्थितिको अप्रिय बिम्ब र परिदृश्य यस्तै छ ।

सत्तारुढ नेकपाले सी विचारधारामा हिँड्ने संकल्प लिएकै हो भने त्यस पार्टीप्रति हामीले विगतमा राख्दै आएका अवधारणामा पुनर्विचार गर्नुपर्ने अवस्था आएको छ । किनभने विगतका सबै सन्तुलन र सामञ्जस्य जोखिममा पर्ने आशंका छ । छिमेकीको शासकीय रणनीति भित्र्याउँदा अर्को प्रतिस्पर्धी विदेशी शक्ति उत्तेजित होला र ऊ पनि भित्रिने बाटो खोज्ला भन्ने हेक्का राख्नुपर्ने हो । छिमेकी मात्र होइन, विश्व समुदायमै यसको अर्थ र प्रभाव रहन्छ भन्ने सोच नपुगेको देखियो । नेकपाले गरेजस्ता हर्कत अन्य पार्टीले विदेशी पार्टीसँग गर्न थाले भने राष्ट्रिय सुरक्षा, धार्मिक तथा जातीय एकता र यसको संवेदनशीलता कुन अवस्थामा पुग्ला ? जिम्मेवारीपूर्वक नसोचिएका यस्ता लहडी र सिद्धान्तहीन गतिविधिले अप्रिय र मँहगो दुष्परिणाम निम्त्याउँछ भन्ने यथार्थप्रति नेकपाले सजगता अपनाउनु जरुरी देखिन्छ । –नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ट्रामाडोल र टापेन्टाडोललाई मनोद्दीपक औषधिको सूचीमा समावेश
२०८१ वैशाख २९, शनिबार
आजको मौसम : यी प्रदेशमा चट्याङ र हावाहुरीसहित वर्षा
२०८१ वैशाख २९, शनिबार
संसदको संयुक्त बैठकमा जेठ १ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने
२०८१ वैशाख २८, शुक्रबार
स्रोत नखुलेको ९८ लाखसहित काठमाडौंबाट दुई जना पक्राउ
२०८१ वैशाख २८, शुक्रबार
आठौँ सातामा ‘महाजात्रा’ : शनिवार ५१ औँ दिन मनाउँदै
२०८१ वैशाख २८, शुक्रबार
रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला
२०८१ वैशाख २८, शुक्रबार
रवि लामिछानेलाई बोल्न नदिने कांग्रेसको अडान, संसद बैठक शुरु हुन सकेन
२०८१ वैशाख २८, शुक्रबार