बैसाख २१, २०८३ सोमबार May 4, 2026

सहमतिको विकल्प छैन, पार्टी एक ढिक्का हुन्छ : टोप बहादुर रायमाझी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद नयाँ मोडमा पुगेको हो अब ? सहमतिका साथ अघि बढ्न नेताहरू तयार हुनुभएको हो ?

बिल्कुल सही कुरा हो । सहमतिको विकल्प छैन । हामी सहमतिबाहेक अर्को कुरा गर्न सक्दैनौं । सहमतिबाट नै हाम्रो पार्टी एकताबद्ध भएर अगाडि जान्छ भनेर मैले सुरुदेखि नै भनिरहेको छु ।

हिजोको सचिवालयको बैठकमा एकाएक कसरी सहमतिको प्रस्ताव आयो त ?

पहिलो कुरा छलफल र बहस गर्दै गयौं । तर्क, वितर्क गर्दै गयौँ । त्यहीअनुसार सहमति गरेर एकताबद्ध भएर जाने भन्ने प्रस्ताव आयो । त्यहीअनुसार पार्टी अघि बढिरहेको छ ।

मंसिरमा महाधिवेशन गर्ने भनी प्रधानमन्त्रीको प्रस्ताव प्रचण्डले समर्थन गर्नुभयो । सम्भव छ मंसिरमा महाधिवेशन ?

असम्भव भन्ने केही हुँदैन । पार्टी एकतादेखि नै पार्टीमा दुई अध्यक्ष रहने, छलफल गर्नुपर्यो भने एकतालाई केन्द्रविन्दुमा राखेर अगाडि बढ्ने, पार्टीमा जे-जे निर्णय गर्छौं–त्यो सहमतिबाटै गर्छौ भन्ने हाम्रो समझदारी थियो । हामी महाधिवेशनमा जानुभन्दा अगाडि कुनै पनि चीज असहमतिबाट गर्न सक्दैनौँ । महाधिवेशन पनि सहमतिबाटै गर्नुपर्छ । महाधिवेशनमा हामीले केही निर्णय गर्न सक्छौँ । अहिले हामीले जे कमिटी बनाइरहेका छौँ, त्यो सहमतिबाट बनाइरहेका छौँ । महाधिवेशनको प्रस्ताव आउँदा हामीले अन्यथा मान्न मिल्दैन ।

महाधिवेशनको लागि सबै नेता तयार हुनुपर्यो । माधवकुमार नेपालको असन्तुष्टि छ । जान सकिँदैन, गर्न सकिँदैन भनेर झलनाथ खनालले भन्नुभएको छ । यस अवस्थामा कसरी महाधिवेशन हुन्छ ?

कसले के भन्यो भनेर आफ्ना तर्कहरू हुन्छन्, तर अब महाधिवेशनको विकल्प छैन । किनभने हामीले महाधिवेशनबाट नै धेरै चीजबारे निर्णय गर्न सक्छौँ । लोकतान्त्रिक विधिबाट पनि अगाडि बढ्न सक्छौं । त्यसैले अहिले बहुमतीय र प्रक्रियाअनुसार हामी जान नसकेपछि हामीले महाधिवेशनलाई नै केन्द्रविन्दु बनाएर अगाडि जानुपर्छ । हामी एकताबद्ध रूपमा अगाडि बढ्नु नै सही हो भन्ने मलाई लाग्दछ ।

तपाईले नै सहमतिको विकल्प छैन भनेर भनिरहनुभएको छ, तर महाधिवेशन सम्पन्न गर्न त्यति सजिलो छ र ?

महाधिवेशनलाई केन्द्रविन्दुमा राखेर हामी अगाडि बढ्ने हो । महाधिवेशन गर्नु भनेकै ती प्रक्रिया पूरा गर्नु हो । पार्टी एकता गर्ने, पार्टीमा तल्ला कमिटी बनाउने, तल्ला कमिटिमा सदस्यहरू चुन्ने महाधिवेशनको प्रक्रिया भनेको यही हो ।

दुई अध्यक्षमात्रै मिलेर अघि बढ्न खोजे म देशव्यापी रूपमा अभियान चलाउँछु भनेर बरिष्ठ नेता माधवकुमार नेपालले चेतावनी दिनुभएको छ नि ?

माधवकुमार नेपाललगायत अन्य नेताले पार्टी एकताको लागि देशव्यापी रूपमा देशदौडाहा गर्ने कुरा राम्रो हुन्छ । महाधिवेशनको लक्ष्य राखिसकेपछि सबै नेताहरूले देशदौडाहा गर्ने हो । देशव्यापी रूपमा संगठन निर्माण र पार्टीलाई परिचालन गर्ने कुरा हो । महाधिवेशनको तयारी गर्ने कुरा हो । महाधिवेशनलाई सघाउ पुर्याउने कुरा हो ।

एकातिर कोरोनाको महामारी छ, अर्कोतिर चाडपर्वको लहर छ । तर, पनि तपाईको पार्टीको महाधिवेशन मंसिरमा नै गर्ने प्रस्ताव कति सान्दर्भिक छ ?

त्यो त प्रस्ताव आएको न कुरा हो । पार्टी अगाडि बढाउने राजनीतिक प्रस्ताव आओस् भन्ने कुरा भइरहेको छ । प्रस्तावमा छलफल गर्दाखेरि मंसिरमा नभए चैतमा गर्ने कि कतिबेला गर्ने हो भन्ने कुरा हुनेछ ।

प्रधानमन्त्रीले ‘एक व्यक्ति, एक पद’को कुरा गर्नुहुन्छ भने मलाई महाधिवेशनबाटै हटाउनु भनेर प्रस्ट रूपमा भन्नुभएको छ । तपाईले पहिले नै भन्नुभएको थियो-ओलीजीको दुवै पद यथावत् रहन्छ, प्रधानमन्त्री र पार्टी अध्यक्ष पनि । त्यसरी नै सहमति हुन लागेको हो ?

जुनै पद भए पनि फरक पर्दैन । पार्टी एकता हुनुपर्यो । पार्टी एकता गर्दा अध्यक्ष दुईजना रहने प्रणालीको हामीले विकास गर्यौ । महाधिवेशनसम्म हामी सहमतिबाटै जाने भनिसकेपछि बीचमा हामीले तलमाथि गर्न धेरै गार्हो हुन्थ्यो । सहमतिबाटै गर्ने भनेर हामीले निर्णय र समझदारी गरेका थियौँ । के.पी. ओलीले दुईवटै पद पनि छोड्न सक्नुहुन्छ तर सहमति हुनुपर्यो । ‘एक व्यक्ति, एक पद’ पनि हुनसक्छ तर सहमति हुनुपर्यो ।

तपाई मन्त्री बन्ने सम्भावना पनि छ । सबै प्रदेशका सरकारको पुनर्गठन हुनसक्छ । मुख्यमन्त्री पनि हट्न सक्छ भनेका छन् । के हुन्छ अब ?

म अथवा अर्को व्यक्ति मन्त्री बन्ने भन्ने कुरा गौण हो । हामीले व्यक्ति के हुने भन्ने कुरा महत्त्वको विषय छैन । यो पार्टीलाई एकताबद्ध रूपमा कसरी अगाडि लैजाने भन्ने कुरा महत्वपूर्ण हो । हामी यो पिढीका नेताहरू ज्यादै भाग्यमानी छौं । हाम्रै पिढीमा जनक्रान्ति र जनआन्दोलन गरेर २४० वर्षको निरकुंश व्यवस्थालाई हामीले फाल्यौँ । संघीय गणतन्त्र ल्यायौं । संविधान बनायौं । झण्डै दुई तिहाइ बहुमतको सरकार बनायौँ । त्यो सरकारलाई परिणाममुखी बनाउनुपर्ने छ । पार्टीलाई गतिशील र शक्तिशाली बनाउनुपर्ने छ । पार्टीभित्र अन्तर्विरोध गरेर पार्टी फुटाउने कुरा गर्याै भने हामीले गरेका आन्दोलन र गणतन्त्र खतरामा पर्ने सम्भावना हुन्छ । हामीले लक्ष्य पूरा गर्न सकेनौँ भने हामी खलनायक पनि हुन सक्छौँ । त्यसकारण यस कुरामा नेताहरूले पनि समझदारीका साथ अघि बढ्नुपर्छ ।

त्यसो भए आजको स्थायी कमिटी बैठकमा सहमति हुन्छ त नेताहरूबीच ?

सहमतिको त विकल्प नै छैन । सहमतिबिना हामी अगाडि बढ्न सक्दैनौँ । सहमतिबाट नै जाने भनेर हामीले निर्णय गरेका छौँ । रिपोटर्स क्लबबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थानीय चुनावका लागि रास्वपाले सार्वजनिक गर्यो विस्तृत छनोट रूपरेखा (पूर्णपाठ)
२०८३ बैसाख २१, सोमबार
शिक्षा क्षेत्रको समग्र सुधारका लागि तीनै तहका सरकारबीच सहकार्य आवश्यकः शिक्षामन्त्री पोखरेल
२०८३ बैसाख २१, सोमबार
व्यवसायी गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश
२०८३ बैसाख २१, सोमबार
इन्धनको दुरुपयोग भएको छैन : स्वास्थ्य मन्त्रालय
२०८३ बैसाख २१, सोमबार
सशस्त्र प्रहरीलाई विश्वासिलो सुरक्षा संस्थाका रूपमा विकास गरिनेछ : महानरीक्षक पौडेल
२०८३ बैसाख २१, सोमबार
राष्ट्रियसभाका अध्यक्ष दाहालसमक्ष ज्ञापनपत्र प्रस्तुत
२०८३ बैसाख २१, सोमबार
भारतीय विधान सभा चुनाव : पश्चिम बङ्गालमा भाजपा, असममा एनडीए विजयी
२०८३ बैसाख २१, सोमबार