श्रावण १९, २०८३ मंगलबार August 4, 2026

कांग्रेसको सदस्यता अद्यावधिक जेठ २१ भित्र सक्न निर्देशन

प्रत्येक क्रियाशील सदस्यले आफ्नै मोबाइलमार्फत अनलाइन प्रणाली प्रयोग गरी फारम भरेर सदस्यता अद्यावधिक गर्न सक्ने व्यवस्था

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं,जेठ,१ । नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठक पार्टीका महामन्त्री एवं संयोजक प्रदीप पौडेलको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा सम्पन्न भएको छ।

बिहीबार बसेकाे बैठकले क्रियाशील सदस्यता वितरण, छुट नवीकरण तथा अद्यावधिक सम्बन्धी सम्पूर्ण कार्य २०८३ जेठ २१ गतेभित्र अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने निर्णय गरेको जनाएको छ।

समितिले नेपाली कांग्रेसको क्रियाशील सदस्यताको अभिलेखीकरणलाई डिजिटल माध्यममार्फत व्यवस्थित गर्दै पार्टीलाई सबैभन्दा बलियो सदस्य नेटवर्कयुक्त संगठन बनाउने उद्देश्यले विभिन्न डिजिटल सेवा सञ्चालनमा ल्याएको उल्लेख गरेको छ।

समितिका अनुसार प्रत्येक क्रियाशील सदस्यले आफ्नै मोबाइलमार्फत अनलाइन प्रणाली प्रयोग गरी फारम भरेर सदस्यता अद्यावधिक गर्न सक्ने व्यवस्था गरिएको छ। यसका लागि नेपाली कांग्रेसको सदस्यता पोर्टलमा ‘स्वयं सदस्यता आवेदन फारम’ उपलब्ध गराइएको का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

यस्तै अनलाइन अद्यावधिक गर्दा समस्या आएमा ९७०१२५५५५५ नम्बरमा सम्पर्क गरी एआई सहायतामार्फत सहयोग लिन सकिने व्यवस्था गरिएको छ। साथै, केन्द्रीय कार्यालयको डिजिटल सहायता केन्द्रका ९७१२०५६३५१ र ९७१२०५६३५२ नम्बरमा सम्पर्क गरेर पनि आवश्यक सहयोग प्राप्त गर्न सकिने समितिले जनाएको छ  ।

त्यस्तै, ९७०१२५५५५५ नम्बरमा सम्पर्क गर्दा सोधिने प्रश्नावलीको उत्तर दिएर फोनमार्फत नै सदस्यता अद्यावधिक फारम भर्ने सुविधा समेत मिलाइएको उल्लेख छ। विदेशस्थित नेपाली जनसम्पर्क समितिका सदस्यहरूका लागि पनि ‘स्वयं सदस्यता आवेदन फारम’ उपलब्ध गराइएको जानकारी दिइएको छ।

समितिले सदस्यता अद्यावधिक नगर्ने तथा कांग्रेस परिचयपत्र (NC ID) प्राप्त नगर्ने व्यक्तिले पार्टीको १५औँ महाधिवेशन प्रक्रियामा सहभागी हुन नपाउने विधानमा व्यवस्था रहेको स्मरण गराउँदै तोकिएको समयभित्र अद्यावधिक प्रक्रिया पूरा गर्न मातहतका सबै तहलाई निर्देशन दिएको छ। का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिएको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया